मारुती सुजुकी गाडी बेच्ने सिजी होल्डिङले एसेम्बली प्लान्ट राख्दै, सिजी अटोमोटिभ्स दर्ता

बिजमाण्डू
२०७८ साउन १४ गते १४:१५ | Jul 29, 2021
मारुती सुजुकी गाडी बेच्ने सिजी होल्डिङले एसेम्बली प्लान्ट राख्दै, सिजी अटोमोटिभ्स दर्ता


काठमाडौं। मारुती सुजुकी गाडी बिक्री गरिरहेको सिजी होल्डिङले नेपालमा एसेम्ब्ली प्लान्ट राख्ने भएको छ। यो समूहले दुई पांग्रे, तीन पांग्रे र चार पांग्रे सवारी साधन एसेम्बल गर्ने भन्दै सिजी अटोमोटिभ्स इन्डस्ट्रिज प्रालि उद्योग विभागमा दर्ता गरेको छ।

Tata
GBIME
Nepal Life

गत साउन १० गते दर्ता भएको उद्योग बारा जिल्लामा स्थापना गरिने उल्लेख छ। बारा जिल्लाको परवानीपुर गाउँपालिका- ४ मा उद्योग रहनेछ।

कम्पनीले उद्योगमा १ अर्ब ३१ करोड ६९ लाख लगानी गरेर प्लान्ट राख्ने उल्लेख छ। यो प्लान्टबाट वार्षिक १० हजार थान २ पांग्रे सवारी, ३ हजार थान तीन पांग्रे सवारी र १० हजार थान चार पांग्रे सवारी साधन उत्पादन गर्ने लक्ष्य राखेको छ।

यो उद्योगमा १ सय १३ जना दक्ष, अर्ध-दक्ष र अदक्ष व्यक्तिले रोजगारी प्राप्त गर्नेछन्। यस्तै उद्योगमा २ हजार केभीए क्षमताको विद्युत लाइन आवश्यक पर्ने उल्लेख छ। सिजी होल्डिङका कार्यकारी निर्देशक करण चौधरीले उद्योग स्थापनाका लागि प्रारम्भिक प्रक्रिया अघि बढेको बताए।

'हामीले मुलुकभित्रै सवारी साधन एसेम्बल गर्नका लागि प्लान्ट राख्न प्रारम्भिक प्रक्रिया अगाडि बढाएका हौं,' उनले बिजमाण्डूसँग भने, 'प्लान्ट राख्नु अघि सरकारसँग छलफल गर्छौं। एसेम्बल्ड प्लान्ट राख्दा सहुलियत दिने प्रतिबद्धता जनाए द्रुत गतिमा काम अघि बढ्छ।' उनका अनुसार एसेम्बल्ड प्लान्ट राख्नका लागि नीतिगत स्थिरता र राजस्वमा केही सहुलियत चाहिन्छ।

समूह अन्तर्गत रहेको सिजी मोटोकर्पले विगत ३० वर्षदेखि मारुती सुजुकी गाडी बिक्री गर्दै आएको छ। प्यासेन्जर भेहिकलमा मारुती सुजुकी धेरै बिक्री हुने ब्राण्डमा पर्छ।

मारुतीको अल्टो-८००, अल्टो के-१०, वागन आर, सेलेरियो, स्वीफ्ट, डिजायर, एस क्रस, ब्रेजा, बलेनो, ओम्नी सिरिज र इको छन्। समूहसँग दुई पांग्रे र तीन पांग्रे सवारी साधन भने बिक्री गर्दैन। दुई पांग्रे र तीन पांग्रे टीभीएस ब्राण्ड पाँच वर्ष अघि शंकर समूहको हातमा पुगेको थियो।

एसेम्ब्ली प्लान्ट आउँला?
नेपालमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे  सवारी साधन एसेम्बल भएर उत्पादन भइसकेका छन्। पछिल्लो समयमा बजाज र टीभीएसका बाइक नेपालमै एसेम्बल भएर बिक्री भइरहेका छन्।

यी दुवै कम्पनीका बाइकमा कुनै समस्या छैन। तर चार पांग्रेमा भने हुलास मोटर्स असफल बन्यो। हुलासले मुस्ताङ ब्राण्डका गाडी उत्पादन गरेपनि प्रतिस्पर्धा गर्न नसकेर बन्द भयो।

एसेम्बली प्लान्ट स्थापना गर्दा लागत ठूलो चाहिने र उद्योगीले नीतिगत स्थिरता खोज्ने भएकाले चार पांग्रे सवारी साधनको एसेम्बली प्लान्ट नलागेको हो।

उद्योग स्थापनाका लागि आवश्यक जग्गादेखि भन्सार दरमा समेत सहुलियत दिए मात्रै लगानीकर्ता आउन तयार हुन्छन्। आयातित गाडी र स्वदेशमै उत्पादन हुने गाडीको भन्सार अन्तर केही फरक भए मात्रै प्रतिस्पर्धा गर्न सक्छन्। अहिले सरकारले अन्त:शुल्कमा दिएको सहुलियतले एसेम्बल गर्दा कुनै राहत मिल्दैन।

राजस्व, जग्गा लगायतका विषयमा सरकारले बोल्ड डिसिजन गर्न सके दर्ता भएका उद्योगले प्लान्ट लगाउन तयार हुन्छन्। त्यही भएर डेढ वर्ष अघि दर्ता भएको लक्ष्मी मोटर कर्पोरेशनले कुनै प्रक्रिया अगाडि बढाएको छैन।

हुण्डाई गाडीको अधिकृत बिक्रेता रहेको लक्ष्मी समूहको यो कम्पनी ५ अर्ब १० करोड रुपैयाँ लगानीमा स्वदेशमै गाडी एसेम्बल गर्ने भन्दै उद्योग विभागमा दर्ता भएको थियो।

१० वर्षअघि नेपालमै प्लान्ट स्थापना गर्ने योजना बनाए पनि राजनीतिक वातावरण र नीतिगत स्थिरता नभएको भन्दै टाटा मोर्टस् पछि हटेको थियो। नेपालमा प्लान्ट स्थापना गर्न आवश्यक जग्गा, बिजुली र सरकारी सहयोगको अभाव भएको निष्कर्ष निकाल्दै कम्पनी पछाडि हटेको थियो।

सुरुमा विदेशबाट गाडीका पार्टपुर्जा आयात गरी नेपालमै एसेम्बल गर्ने र विस्तारै गाडी निर्माण कारखाना खोल्ने योजना बनाएको टाटा मोटर्सले त्यो लगानी इन्डोनेसिया स्थानान्तरण गरेको थियो।