अलपत्र परेको ६ वर्षपछि पुनर्निर्माण हुँदै धापासीको पार्क भ्यू होराइजन, अनुमानित खर्च १.५ अर्ब

उन्नत सापकोटा/बिजमाण्डू
२०७८ भदौ २१ गते ०७:०८ | Sep 6, 2021
अलपत्र परेको ६ वर्षपछि पुनर्निर्माण हुँदै धापासीको पार्क भ्यू होराइजन, अनुमानित खर्च १.५ अर्ब

काठमाडौं। २०७२ को भूकम्पले क्षतिग्रस्त भएको धापासीको पार्क भ्यू होराइजनको पुनर्निर्माण अघि बढ्ने भएको छ। भारतको बहुराष्ट्रिय कम्पनी आरजे कर्पको सहायक कम्पनी वरुण डेभलपर्स प्रालिले निर्माण गरेको पार्क भ्यू होराइजन भूकम्पले क्षति पुर्‍याएको ६ वर्ष पछि बल्ल पुनर्निर्माणको प्रक्रियामा अघि बढेको छ।

Tata
GBIME
Nepal Life

आइतबार सार्वजनिक सूचना जारी गर्दै वरुणले सिभिल र रेट्रोफिटिङसँगै मेकानिकल, इलेक्ट्रिकल र प्लम्बिङ कार्यका लागि ठेक्का आह्वान गरेको छ।

कम्पनीले पुनर्निर्माणको अनुमाति लागत करिब एक अर्ब ५० करोड रुपैयाँ उल्लेख गरेको छ। क्षतिग्रस्त अपार्टमेन्ट पुनर्निर्माण गर्न एक अर्ब ८० करोड रुपैयाँभन्दा बढी लागत लाग्ने अनुमान यसअघि गरिएको भएपनि वरुणले साढे १ अर्बमै पुनर्निर्माण सक्ने अनुमान गरेको छ। कम्पनीले आगामी मंसिर १५ देखि नै अलपत्र बनेको पार्क भ्यू होराइजनको पुनर्निर्माण सुरु गर्ने योजना बनाएको छ।

वरुणले इच्छुक ठेकेदार कम्पनीले रेट्रोफिटिङ र अन्य सिभिलका साथै इलेक्ट्रिकल र प्लम्बिङ/हिटिङ एण्ड कुलिङसम्बन्धी कार्य छुट्टाछुट्टै वा एकमुण्ठ गर्न सक्ने जनाएको छ। पुनर्निर्माणसम्बन्धी कुनै कार्यका लागि संयुक्त साझेदारीमा पनि काम गर्न सक्ने सुविधा वरुण डेभलपर्सले दिएको छ।

पुनर्निर्माणको काम इच्छुक ठेकेदारलाई कम्पनीले असोज चार गतेसम्म वरुण डेभलपर्सलाई निर्माणसम्बन्धी प्रस्ताव पेश गर्न कम्पनीका महाप्रबन्धक (नामविना) ले जारी गरेको सूचनामा उल्लेख छ। स्रोतका अनुसार पुनर्निर्माण गर्दा लाग्ने लागतको ६० प्रतिशत वरुण डेभलपर्स र बाँकी ४० प्रतिशत एकाइधनीले खर्चिने यसअघिकै सहमति कार्यान्वयन हुनेछ। 

२०७५ माघमा भएको सहमतिअनुसार पुनर्निर्माणका लागि बिक्री भइसकेका अपार्टमेन्टको कुल लागतको ६० प्रतिशत डेभलपरले र बाँकी ४० प्रतिशत एकाइधनीले व्योहोर्ने उल्लेख छ। सहमति गरेको साढे दुई वर्षभन्दा बढी भइसकेकाले त्यसबेला तय भएको पुनर्निर्माणका विभिन्न शीर्षकको खर्च स्वभाविक रूपमा बढ्ने देखिन्छ।

'पुनर्निर्माणको प्रक्रिया अघि बढिसकेको छ। निर्माण नसकिएसम्म पुनर्निर्माण गर्न कति खर्च लाग्छ त्यो भन्न सकिँदैन। युनिट खरिद गरेका एकाइधनीहरुले ४० प्रतिशत हाल्दा प्रतिवर्गफीट १८ सयदेखि दुई हजार रुपैयाँ र डेभलपरले ६० प्रतिशत हाल्दा दुई हजार सात सयदेखि तीन हजार रुपैयाँ हाराहारी पर्छ। यो आजको दिनको अनुमानित लागत हो भोली निर्माण गर्दै जाँदा लागत तलमाथि हुनसक्छ,' स्रोतले भन्यो।

२०७५ माघ १४ मै पीडित खरिदकर्ता र डेभलपरबीच एमओयूमा हस्ताक्षर भएको थियो। पीडित बनेका एकाइधनीहरुले न्यायका निम्ति अपार्टमेन्टधनी दानबहादुर बुढाथोकीको नेतृत्वमा पार्क भ्यू होराइजन विकास समिति गठन गरेका थिए।

सोही समितिमार्फत् एकाइधनीहरुले डेभलपर र तिनका प्रतिनिधिसँग बारम्बार छलफल गर्दै पुनर्निर्माणको दिशा तर्फ अपार्टमेन्ट अघि बढेको छ। काम सुरु भएको करिब तीन वर्षमा (३३-३५ महिनामा) पुनर्निर्माणको काम सक्ने तयारी वरुण डेभलपर्सको छ। 

'अपार्टमेन्टको सबै वाल भत्काउनु पर्‍यो। पाँच/पाँच वटा बिल्डिङ छन्। बरु नयाँ भवन बनाउन छिटो र सजिलो हुन्छ पुनर्निर्माण गर्न समय र मेहेनत बढि चाहिन्छ। स्ट्रक्चर मात्रै पुरानो हुने हो अरु सबै नयाँ गर्नुपर्छ। वाल र फ्लोर भत्काएपछि त्यहाँ रहेका सबै सामग्री काम नलाग्ने हुन्छ,' स्रोतले भन्यो। 

सहरी विकास तथा भवन निर्माण विभागले उक्त अवधिमा मियामोतोले गरेको अध्ययनको आधारमा पुनर्निर्माण प्रक्रिया अघि बढाउने स्वीकृति दिएपछि वरुण डेभलपर्सले ठेक्का आह्वान गरेको हो। 

२०७२ मै मियामोतोको अध्ययनलाई आधार बनाएर विभागले पुनर्निर्माणको काम गर्न अनुमति दिएपनि काम अघि बढ्न सकेन। समयमै काम सुरु नगरेको भन्दै विभागले वरुण डेभलपर्सलाई जरिवाना तिराएपछि मात्रै पुनर्निर्माण अघि बढाउन अनुमति दिएको स्रोतले जानकारी दियो। जरिवाना बुझाएपछि विभागले वरुणलाई पुनर्निर्माण अघि बढाउन स्वीकृति दिएको छ।   

भूकम्पले पुर्‍याएको क्षतिको मूल्यांकन गर्न वरुणले जापानको मियामोतो इन्टरनेशनललाई जिम्मा दिएको थियो। सन् २०१५ जुन २१ मा र्‍यापिड भिज्वल ड्यामेज एसेसमेन्टसम्बन्धी गोप्य रिपोर्ट मियामोतोले तयार गरेर वरुणलाई बुझाएको थियो।

मियामोतो इन्टरनेशनलबाट खटिएको इन्जिनीयरहरुको टोलीले २०१५ जुन ८ र ९ गते भिज्वल ड्यामेज एसेसमेन्टको लागि सर्वे गरेको थियो। सर्वेको क्रममा अपार्टमेन्टको चारवटै टावरको इन्जिनीयरहरुले स्ट्रक्चरल र नन-स्ट्रक्चरल (इनफिल वाल) मा भूकम्पले पुर्‍याएको क्षति बारे अध्ययन गरेको थियो। 

प्रतिवेदनले अपार्टमेन्टको सगरमाथा, कञ्चनजंगा, मकालु र अन्नपूर्ण टावरको नन-स्ट्रक्चरल एलिमेन्टस्मा धेरै क्षति पुगेको देखायो। हिमचुली टावरमा भने कम क्षति पुगेको उल्लेख प्रतिवेदनमा छ। त्यस्तै, अपार्टमेन्टको कंक्रिट बिमहरुमा स्ट्रक्चरल क्र्याक देखिए पनि गम्भिर स्ट्रक्चरल फेलियर भने नभेटिएको अध्ययनको नि थियो। 

पार्क भ्यू होराइजमा कुल दुई सय १२ एकाइ रहेका छन्। भूकम्पअघि ८० एकाइ बिक्री हुन बाँकी रहेका थिए। पार्क भ्यू होराइजनले २०६८ सालमै भवन निर्माण सम्पन्न प्रमाणपत्र लिएको थियो।

वरुण डेभलपर्सले बिक्री एवम् नामसारी नभएका एकाइ र कमन स्पेसलगायतका सम्पत्तिको एक अर्ब ६ करोड रुपैयाँ बराबरको बीमा गराएको थियो। अपार्टमेन्टमा भूकम्पले पुर्‍याएको क्षतिबापत् कम्पनीले ३१ करोड रुपैयाँ दाबी भुक्तानी सगरमाथा इन्स्युरेन्सबाट लिइसकेको छ।