आजैका दिन नेपाल भित्रिएको रेलको कथा : छोपेको त्रिपाल फाट्यो, खियाले ढाक्दैछ तर छैन चल्ने सुरसार

बिजमाण्डू
२०७८ असोज २ गते ११:३० | Sep 18, 2021
आजैका दिन नेपाल भित्रिएको रेलको कथा : छोपेको त्रिपाल फाट्यो, खियाले ढाक्दैछ तर छैन चल्ने सुरसार

जनकपुरधाम। रेल विभागले कुर्था–जनकपुरधाम तथा भारतको जयनगरसम्म संचालनका लागि किनेको रेल सेट नेपाल भित्र्याइएको एक वर्ष पूरा भएको छ। विभागले रेल नेपाल ल्याएको एक वर्ष बिते पनि यो संचालनमा कहिले आउँछ भन्ने अझै टुंगो लाग्न सकेको छैन।

Tata
GBIME
Nepal Life

६ वर्ष लामो प्रतीक्षापछि कुर्था-जनकपुरधाम-जयनगरसम्म रेल गुडाउनका लागि दुई सेट रेलको बोगी तथा ४ सेट इन्जिन जनकपुरधाम ल्याइएको थियो।

गत वर्ष आजैको दिन अर्थात् २०७७ असोज २ गते भारतको जयनगर आइपुगेको नेपाली रेल दिउँसो करिब २ बजे जनकपुरधामस्थित प्लेटफर्ममा पुगेको थियो। त्यसअघि रेल बोगीको दुवै सेट तथा ४ वटा इन्जिन बिहारको हाजीपुर स्टेशनमा राखिएको थियो।

एक अर्बको लागतमा किनिएको दुवै सेट रेलको ट्रायल गरिए पनि संचालनमा आउने भने कुनै छाँटकाँट नै देखिँदैन।

रेल सेट जनकपुरधाम ल्याइँदा उत्साहित हजारौंको भीड रेल्वे स्टेशनमा जम्मा भएको थियो। कोरोना संक्रमणको त्रासकै बीच ल्याइएका नेपाली झण्डाको रंगमा रंगिएको रेल हेर्नका लागि उल्लेख्य संख्यामा मानिसहरुको भीड जम्मा भएको थियो।

दुवै रेलको सेटलाई अत्याधुनिक रूपमा डिजाइन गरिएको छ। भारतमा चल्ने इन्टर सिटी एक्सप्रेस जस्तै डिजाइन गरिएको हो यसको। रेलमा १३०० सिट क्षमता छ।

लगभग एक अर्बको लागतमा किनिएको ती रेल सेटहरु ट्रायलपछि धनुषाको इनर्वा स्टेशनमा त्रिपालले ढाकेर राखियो। पालले ढाकेर राखिएको रेलको पाल च्यातिँदै गयो तर सञ्चालनका लागि पहल गतिलोसँग भएन। गत वर्ष आजकै दिन दिन डेढ महिनाभित्रै रेल संचालनमा आउने दाबी गरिएको थियो। भारतसँग खरिद गरेर ल्याइएका ती रेलहरु खुला आकाशमुनि नै राखिएकाले खिया लाग्न थालेको छ। यसका साथै रेल नगुड्दा ठाउँ ठाउँमा रेल्वे लिकका क्लिपहरु समेत चोरी भइरहेका छन्।

रेल गुडाउनमा के छ समस्या?

जनकपुरदेखि भारतको जयनगरसम्मको रेल्वे ट्रयाक पूर्ण रूपमा तयार छ। रेल सेट पनि एक वर्षदेखि थन्किएर बसेको छ। रेल संचालन गर्न के समस्या छ? यो ठूलो प्रश्न हो।

नवनियुक्त प्रबन्ध सञ्चालक निरञ्जन झाले अहिले तत्काल नै रेल गुड्ने अवस्था नरहेको बताए। दुई सेट रेल खरिद भएर आइसके पनि कानुनी तथा प्राविधिक जटिलताका कारण तत्काल रेल सञ्चालन हुने अवस्था नरहेको झाको भनाइ छ।

‘रेल सम्बन्धी कानुन प्रतिनिधिसभाबाट पारित भइसकेको छैन। प्राविधिक विषयहरूमा पनि समस्या छ। सञ्चालनका लागि अझै दुई–तीन महिना कुर्नैपर्ने हुन्छ,’ उनले भने।

रेल्वे ट्रयाक, स्टेशन, भवन, कर्मचारी आवास निर्माण गरेको भारतको इस्कन कम्पनीले अझै नेपाल सरकारलाई हस्तान्तरण गरेको छैन। भारतीय निर्माण कम्पनीले भौतिक संरचनाहरू नेपाललाई हस्तान्तरण नगरेकाले पनि रेल गुडाउन समस्या भइरहेको बताइन्छ।

भाडा निर्धारण, यात्रु बीमा, दुर्घटना लगायतका विषयमा समेत निर्णय भएको छैन। रेल सञ्चालन हुनेबित्तिकै कानुनको आवश्यकता हुन्छ। जुन अहिले संसदबाट पास भइनसकेको प्रबन्ध सञ्चालक झाको भनाइ छ। संसदमा विचाराधीन विधेयक पारित भए रेल सञ्चालनका लागि सहज हुने उनले बताए।

रेल सञ्चालनको प्राविधिक सहयोगका लागि नेपाल सरकार अनिच्छुक देखिएको भन्दै भारतको कोंकण रेल्वे कम्पनीले केही साता अगाडि मात्रै सम्झौता रद्द गर्नेसम्मको चेतावनी समेत दिइसकेको छ।

सम्झौता अनुसार नेपाल सरकारले रकम भुक्तानी नगरेको भन्दै कोंकणले सम्झौता रद्द गर्ने भन्दै रेल्वे कम्पनीलाई पत्र पठाएको थियो। झाले कोंकण कम्पनीलाई सम्झौता अनुरूप रकम भुक्तानीको प्रक्रिया अगाडि बढाइएको र चाँडै नै पूरा हुने जानकारी दिए। यद्यपि, कसरी भुक्तानी गर्ने भन्ने बारेमा छलफल भइरहेको उनले बताए।

रेलको आशमा बसेका सर्वसाधारण निराश

नेपालको रेलको ब्रोडगेज इन्जिन आइरहेको समाचार सुनेलगत्तै सर्वसाधारणमा उत्साह देखिएको थियो। त्यसले रेल भित्रिँदा हजारौंको संख्यामा सर्वसाधारण जम्मा भएका थिए। सोही भीडमा ८० वर्षीय रामाकान्त झा पनि सहभागी थिए। उनले नेपालमा रेल फेरि संचालनमा आउने भएपछि उत्साह जागेको बताएका थिए। तर एक वर्षपछि पनि रेल गुड्न नसकेपछि झा निराश छन्।

‘आफ्नो जिन्दगीमा कोइलाबाट चल्ने ट्रेन देखेँ, स्टिम इन्जिनवाला ट्रेन पनि देखेँ। आधुनिक ट्रेन आफ्नै जन्मभूमिमा गुडेको देख्ने धोको थियो। तर त्यो धोको कहिले पूरा हुन्छ?,’ झाको प्रश्न।

स्थानीय प्रतापकुमार भगतले वैदेशिक रोजगारमा गएको छोरो घर फर्के जस्तो महसुस गरेका थिए रेल भित्रिएको दिन। तर, अब रेल गुड्ने आशा फेरि निराशामा परिणत हुन थालेको उनले बताए। उनले रेल्वे संचालनमा आएपछि रोजगारी सिर्जना हुने अपेक्षा राखेका थिए। तर, एक वर्षसम्म पनि रेल नगुडेपछि उनले पनि आशा मार्न थालेका छन्।