डेढ अर्बमा पार्क भ्यू बनाउन १७ कम्पनी इच्छुक, जापानदेखि अमेरिकासम्मका कम्पनीको प्रस्‍ताव

उन्नत सापकोटा/बिजमाण्डू
२०७८ असोज ९ गते ०९:२७ | Sep 25, 2021
डेढ अर्बमा पार्क भ्यू बनाउन १७ कम्पनी इच्छुक, जापानदेखि अमेरिकासम्मका कम्पनीको प्रस्‍ताव


काठमाडौं। धापासीमा ६ वर्षदेखि अलपत्र अवस्थामा रहेको पार्क भ्यू होराइजन अपार्टमेन्ट पुनर्निर्माणका स्वदेशी तथा विदेशी गरी जम्मा १७ वटा कम्पनीले पुनर्निर्माणका लागि प्रस्ताव पेश गरेका छन्। 

Tata
GBIME
Nepal Life

२०७२ को भूकम्पले क्षतिग्रस्त बनेपछि प्रयोगविहीन बनेको यो अपार्टमेन्ट बनाउन इच्छा देखाउनेमा पाँचवटा कम्पनी विदेशी र बाँकी १२ वटा स्वदेशी कम्पनी रहेको स्रोतले बिजमाण्डूलाई बताएको छ।

'प्रस्ताव पेश गर्ने कम्पनीहरुले वरुण डेभलपर्स र एकाइधनीका प्रतिनिधिलाई राखेर प्रस्तुति दिइरहेका छन्। प्रस्तुति दिएका कम्पनीहरुलाई थप प्रस्ताव माग्ने काम भइरहेको छ। डेभलपर र इकाइधनीहरुको टोलीले आवश्यक सबै प्राविधिक पक्षको मूल्यांकन गर्ने र कम्पनी छनोट गरी स्वीकृतिका लागि भवन निर्माण विभागमा प्रस्ताव पठाउने छ,' स्रोतले भन्यो।

जापान, भारत, चीन, अमेरिकाका कम्पनीका साथै नेपालका 'क' वर्गका निर्माण कम्पनीहरुले यो अपार्टमेन्टको पुनर्निमार्णमा चासो देखाउँदै प्रस्ताव हालेको बताइएको छ। 

२०७२ को भूकम्पले पार्क भ्यू होराइजनमा गम्भीर क्षति पुगेको प्राविधिक अध्ययनबाट देखिएपछि यो मर्मत मात्र नभएर सम्पूर्ण रुपमा रेट्रोफिटिङसहित पुनर्निर्माण गर्नुपर्ने अवस्थामा पुगको हो। पुनर्निर्माणका लागि भदौ २० गते वरुण डेभलपर्सले सार्वजनिक सूचना जारी गर्दै सिभिल र रेट्रोफिटिङसँगै मेकानिकल, इलेक्ट्रिकल र प्लम्बिङ कार्यका लागि ठेक्का आह्वान गरेको थियो।

असोज ४ गतेसम्म प्रस्ताव पेश गर्न वरुणले समयसीमा दिएकोमा १७ वटा कम्पनी पुनर्निर्माणका लागि इच्छुक देखिएका हुन्।

वरुणले पुनर्निर्माणको अनुमानित लागत करिब एक अर्ब ५० करोड रुपैयाँ पर्ने भन्दै प्रस्ताव आह्वान गरेको थियो। क्षतिग्रस्त अपार्टमेन्ट पुनर्निर्माण गर्न एक अर्ब ८० करोड रुपैयाँभन्दा बढी लागत लाग्ने अनुमान यसअघि गरिएको भए पनि वरुणले डेढ अर्बमै पुनर्निर्माण सक्ने अनुमान गरेको हो। अलपत्र बनेको पार्क भ्यू होराइजनको पुनर्निर्माण कम्पनीले आगामी मंसिर १५ देखि नै सुरु गर्ने योजना छ।

वरुणले इच्छुक ठेकेदार कम्पनीले रेट्रोफिटिङ र अन्य सिभिलका साथै इलेक्ट्रिकल र प्लम्बिङ/हिटिङ एण्ड कुलिङसम्बन्धी कार्य छुट्टाछुट्टै वा एकमुष्ट गर्न सक्ने जनाएको छ। 

पुनर्निर्माण गर्दा लाग्ने लागतको ६० प्रतिशत वरुण डेभलपर्स र बाँकी ४० प्रतिशत एकाइधनीले खर्चिने यसअघिकै सहमति कार्यान्वयन हुनेछ। २०७५ माघमा भएको सहमतिअनुसार पुनर्निर्माणका लागि बिक्री भइसकेका अपार्टमेन्टको कुल लागतको ६० प्रतिशत डेभलपरले र बाँकी ४० प्रतिशत एकाइधनीले व्योहोर्ने उल्लेख छ। 

सहमति गरेको साढे दुई वर्षभन्दा बढी भइसकेकाले त्यसबेला तय भएको पुनर्निर्माणका विभिन्न शीर्षकको खर्च स्वभाविक रूपमा बढ्ने देखिन्छ। सोही समितिमार्फत् एकाइधनीहरुले डेभलपर र तिनका प्रतिनिधिसँग बारम्बार छलफल गर्दै पुनर्निर्माणको दिशा तर्फ अपार्टमेन्ट अघि बढेको छ। काम सुरु भएको करिब तीन वर्षमा (३३-३५ महिनामा) पुनर्निर्माणको काम सक्ने तयारी वरुण डेभलपर्सको छ।

स्रोतका अनुसार इकाइधनीले हाल्नुपर्ने आफ्नो भागको रकमका लागि बैंकमा ऋणका लागि आवेदन दिने क्रम पनि बढेको छ।  

वरुण डेभलपर्सले बिक्री एवम् नामसारी नभएका एकाइ र कमन स्पेस लगायतका सम्पत्तिको एक अर्ब ६ करोड रुपैयाँ बराबरको बीमा गराएको थियो। अपार्टमेन्टमा भूकम्पले पुर्‍याएको क्षतिबापत् कम्पनीले ३१ करोड रुपैयाँ दाबी भुक्तानी सगरमाथा इन्स्योरेन्सबाट लिइसकेको छ।

पार्क भ्यू होराइजनमा अहिले पनि अपार्टमेन्ट खरिद गरेका १३२ जनाको लगानी यसमा फसेको छ। उनीहरुको आधा दशक हाराहारीको लगातार दबाबपछि बल्ल यसको डेभलपरले पुनर्निर्माण गर्ने प्रक्रिया अघि बढाएको हो।  यसमा कुल दुई सय १२ एकाइ रहेकोमा भूकम्पअघि ८० एकाइ बिक्री हुन बाँकी रहेका थिए। २०६८ सालमै भवन निर्माण सम्पन्न प्रमाणपत्र लिएको पार्क भ्यू होराइजन २०७२ वैशाखको भूकम्पपछि भने भुत बंग्ला सरह अलपत्र अवस्थामा रहेको छ।

भूकम्पले पुर्‍याएको क्षतिको मूल्यांकन गर्न वरुणले जापानको मियामोतो इन्टरनेशनललाई जिम्मा दिएको थियो। सन् २०१५ जुन २१ मा र्‍यापिड भिज्वल ड्यामेज एसेसमेन्टसम्बन्धी गोप्य रिपोर्ट मियामोतोले तयार गरेर वरुणलाई बुझाएको थियो।

मियामोतो इन्टरनेशनलबाट खटिएको इन्जिनियरहरुको टोलीले २०१५ जुन ८ र ९ गते भिज्वल ड्यामेज एसेसमेन्टको लागि सर्वे गरेको थियो। सर्वेको क्रममा अपार्टमेन्टको चारवटै टावरको इन्जिनीयरहरुले स्ट्रक्चरल र नन-स्ट्रक्चरल (इनफिल वाल) मा भूकम्पले पुर्‍याएको क्षति बारे अध्ययन गरेको थियो। 

प्रतिवेदनले अपार्टमेन्टको सगरमाथा, कञ्चनजंगा, मकालु र अन्नपूर्ण टावरको नन-स्ट्रक्चरल एलिमेन्टस्मा धेरै क्षति पुगेको देखायो। हिमचुली टावरमा भने कम क्षति पुगेको उल्लेख प्रतिवेदनमा छ। त्यस्तै, अपार्टमेन्टको कंक्रिट बिमहरुमा स्ट्रक्चरल क्र्याक देखिए पनि गम्भिर स्ट्रक्चरल फेलियर भने नभेटिएको अध्ययनको नि थियो। 

वरुण डेभलपर्सले बिक्री एवम् नामसारी नभएका एकाइ र कमन स्पेसलगायतका सम्पत्तिको एक अर्ब ६ करोड रुपैयाँ बराबरको बीमा गराएको थियो। अपार्टमेन्टमा भूकम्पले पुर्‍याएको क्षतिबापत् कम्पनीले ३१ करोड रुपैयाँ दाबी भुक्तानी सगरमाथा इन्स्योरेन्सबाट लिइसकेको छ।

यो पनि पढ्नुहोस्: अलपत्र परेको ६ वर्षपछि पुनर्निर्माण हुँदै धापासीको पार्क भ्यू होराइजन, अनुमानित खर्च १.५ अर्ब