कुमारी बैंकले गतवर्ष प्रमुख कार्यकारीलाई दियो २ करोड ३८ लाख तलब भत्ता, बढेन एक वर्ष तलब

बिजमाण्डू
२०७८ कात्तिक ४ गते १६:४९ | Oct 21, 2021
कुमारी बैंकले गतवर्ष प्रमुख कार्यकारीलाई दियो २ करोड ३८ लाख तलब भत्ता, बढेन एक वर्ष तलब


काठमाडौं। कुमारी बैंकले आफ्ना प्रमुख कार्यकारी अधिकृतलाई गतवर्ष २ करोड ३८ लाख ३१ हजार रुपैयाँ तलबसुविधा दिएको छ। बैंकले तलब बापत एक करोड २० लाख ३७ हजार रुपैयाँ र भत्ताबापत ४७ लाख ७० हजार रुपैयाँ भुक्तानी गरेको छ।

Tata
GBIME
Nepal Life

गत आर्थिक वर्ष बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्र भण्डारी थिए। उनी गत साउनबाट अवकाश भएका हुन्। भण्डारीले बैंकबाट दसैं भत्ताबापत १४ लाख ६६ हजार र बिदाबापत १० लाख रुपैयाँ लिएका थिए। 

अघिल्लो वर्ष पनि उनले २ करोड ३८ लाख ३१ हजार रुपैयाँ तलब, भत्ता बुझेका थिए। तीन वर्षअघि भने उनको तलब सुविधा २ करोड १४ लाख रुपैयाँ थियो। पछिल्लो वर्ष भने उनको तलब सुविधा बढेन।

बैंकले उपलब्ध गराएको वार्षिक प्रतिवेदन अनुसार, उच्च तहका व्यवस्थापकले गतवर्ष १० करोड ४४ लाख रुपैयाँ तलबसुविधा बुझेका छन्। बैंकको कुल व्यवस्थापन खर्च भने दुई अर्ब २ करोड ३९ लाख रुपैयाँ पुगेको छ। अन्य सञ्चालन खर्च एक अर्ब १६ करोड ७४ लाख रुपैयाँ छ। 

बैंकको व्यवस्थापकीय नेतृत्व कामु प्रमुख कार्यकारीका हैसियतमा अनुजमणि तिमिल्सिनाले हेरिरहेका छन्। 

बैंकले कात्तिक १६ गते वार्षिक साधारणसभा गर्दैछ। सभामा गतवर्षको नाफाबाट चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र २.६७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव लगिँदैछ। बैंकले गत वर्ष नाफा ७० प्रतिशतले बढाएर एक अर्ब ९७ करोड रुपैयाँ गरेको थियो।