विदेशी साझेदारसहित २ अर्ब लगानीमा पुनः सञ्चालन हुँदै बासुलिङ चिनी मिल, तिहारपछि काम सुरु

बिजमाण्डू
२०७८ कात्तिक ७ गते १३:१८ | Oct 24, 2021
विदेशी साझेदारसहित २ अर्ब लगानीमा पुनः सञ्चालन हुँदै बासुलिङ चिनी मिल, तिहारपछि काम सुरु


काठमाडौं। लामो समयदेखि बन्द भएर खण्डहर बनेको सुदूरपश्चिमकै सबैभन्दा ठूलो उद्योग बासुलिङ्ग सुगरमिल पुनः संचालनमा आउने भएको छ। दुई दशकदेखि बन्द रहेको यो चिनी मिल पुनर्निर्माण गरेर नयाँ प्रविधिका साथ फेरि संचालनमा ल्याउने तयारी भएको सुगर मिलका संचालक अरुण चन्दले बिजमाण्डूलाई बताए।

Tata
GBIME
Nepal Life

चन्द पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका जेठा छोरा हुन्। उनका अनुसार, विदेशी साझेदार समेत भित्र्याएर चिनी मिल पुनः संचालनमा ल्याउन लागिएको हो। यसमा अब कुल दुई अर्ब हाराहारी नयाँ लगानी हुने समेत उनको भनाइ छ। 

झन्डै २० वर्षदेखि बन्द रहेको यस चिनी मिलको बैंक कर्जा लगायतको पुरानो दायित्व सवा एक अर्ब हाराहारी छ। त्यो सहित गरेर कुल दुई अर्ब रुपैयाँ लगानी पुग्ने चन्दले बताए। 

'पुरानो ऋण तिर्नेसहित एक अर्ब २५ करोड रुपैयाँ लगानी सुरुमा आवश्यक पर्नेछ। त्यसबाहेक नयाँ प्रविधिका मेसिनरी भित्र्याउन र चालु पुँजी (वर्किङ क्यापिटल) सहित ७५ करोड रुपैयाँ थप चाहिने लागत अनुमान गरिएको छ,' उनले भने, 'यसैले अब यो प्रोजेक्टमा सबै गरेर करिब दुई अर्ब रुपैयाँ लगानी पुग्नेछ।' 

यो लगानीमा कम्तिमा ५० देखि ६० करोड रुपैयाँ स्वपुँजी लगानी हुने पनि चन्दको भनाइ छ। 

यसअघि पनि यो चिनी मिल सञ्चालनका लागि पटक-पटक पहल भए पनि विविध कारणले यसको काम सुरु हुन सकेको थिएन। अब भने मिल व्यवस्थापनले पुनर्निर्माण काम तिहारपछि सुरु गरेर यथासक्य चाँडो संचालनमा ल्याउने जनाएको छ।

विदेशी साझेदार भित्र्याउने
मिल पुनः संचालनमा ल्याउँदा यसमा विदेशी साझेदार भित्र्याउन समेत लागिएको चन्दको भनाइ छ। 

यसअघि पनि यसमा विदेशी साझेदार ल्याउने प्रसंग नउठेको होइन। भारत लगायत विभिन्न देशका आधा दर्जन बिजनेस ग्रुपहरुसँग बासुलिङ्गमा साझेदारीका लागि कुरा भएको थियो। तथापि उनीहरुले पुरानो ऋण व्यवस्थापन तथा नीतिगत प्रक्रियाका विषयमा सकारात्मक जवाफ नपाएपछि लगानीका लागि हच्किएका थिए।

यतिबेला भने विदेशी साझेदारहरुसँग एक चरणको पुनर्निर्माणको काम गरेपछि  लगानी र प्रविधि समेत ल्याउने प्रतिबद्धतासहित सम्झौता गर्न लागिएकाले प्रगति पहिलेको भन्दा फरक र सुनिश्चित रहेको दाबी गरिएको छ। 'प्रस्तावित विदेशी साझेदारसँगको सम्झौता अन्तिम चरणमा रहेको छ। त्यसैको हिस्सास्वरुप अब तिहारपछि पुनर्निर्माणको काम सुरु गर्ने तयारीमा छौं,' चन्दले बिजमाण्डूलाई बताए।

‘तपाईंहरु उद्योगको ऋण व्यवस्थापन, रुग्ण उद्योगले पाउने सहुलियतका कुराहरुलाई एक स्टेप अगाडी बढाउनुस् भन्नुभएको छ विदेशी साझेदारले,' चन्द भन्छन्, 'उहाँहरुले यसो भन्नुको कारण यसअघि विदेशी साझेदारीका सम्बन्धमा यहाँका सम्बन्धित निकायहरुबाट उनीहरुले सकारात्मक र सहयोगी जवाफ नपाएकाले नै हो।' 

नीतिगतका साथै व्यक्तिगत र संस्थागत व्यवधानका कारण पनि बासुलिङमा विदेशी साझेदार भित्र्याउने प्रयास यसअघि असफल भएको उनको आरोप छ।

अहिले भने सबै निकायबाट सहयोग पाएको पनि उनले बताए। ‘सरकारबाट पनि सहयोग भएको छ। कोभिडका कारण केही ढिलो भएको हो। सबै कुरा सकारात्मक भए तिहारपछि हामी फिल्डमा आएर कामै सुरु गर्ने तयारीमा छौं,’ उनले भने।

उद्योगमा लगानी गर्न बहराइन, बंगलादेश र भारतका व्यावसायीहरु इच्छुक रहेको बताइएको छ। यद्यपि, नेपालको अर्थसामाजिक परिवेशसँग परिचित र मिल्दोजुल्दो भएकाले भारतीय नै यसमा आउने सम्भावना बढी रहेको चन्दले बताए।

‘उहाँहरुको एउटै मात्र भनाई के छ भने हामी पुरानो झमेलामा पर्दैनौं। अगाडि एक चरणको काम गरेपछि मात्रै आउँछौं भनिरहनु भएको छ,’ उनले भने, ‘पुरानो तिरोतारो टुङ्ग्याएर पहिलो फेजको काम शुरु हुनासाथ उहाँहरु आउनुहुन्छ। उहाँहरुले लगानी र प्रविधि ल्याएर आउने सहमती भएको छ।’

१० मेगावाट विद्युत पनि उत्पादन गर्ने
उद्योग पुनः संचालनका सम्बन्धमा सरोकारवालाहरुबाट राखेको अपेक्षा पनि धेरै ठूलो नरहेको उनी बताउँछन्। भन्छन्, 'बैंकहरुले दिने/लिने ब्याजमा छुट दिइरहेकै छन्। हामीलाई रुग्ण उद्योगले पाउने सहुलियत दिए मात्र पनि पुग्छ। किनकि यसमा केही नीतिगत समस्या थियो, यो पनि समाधान हुने चरणमा छ। नेपाल राष्ट्र बैंकको पनि सहयोग रहेको छ। हामीले तिर्नुपर्ने बैंकहरुको पनि सहयोग छ। ऋण दिने बैंकहरुको पनि सहयोग छ।'

अर्थमन्त्रीसमेत रुग्ण उद्योग चल्नुपर्छ भन्ने मान्यता राख्ने भएकाले अर्थ मन्त्रालयबाट पनि यस विषयमा सहयोग रहेको उनको भनाइ छ। उनी भन्छन्, 'प्रक्रियागत र केही नीतिगत समस्या थिए। यसलाई अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले सम्बोधन गर्नुपर्ने थियो। यसमा पनि निकास निस्किने अन्तिम अवस्थामा छ। एक चरण अगाडि बढेर बैंकहरुसँग सकारात्मक कुरा भइरहेको छ।'

यसअघि उद्योगलाई आवश्यक पर्ने पाँच मेगावाट विद्युत उद्योगले मोलासिस उत्पादनका दौरान निस्किने खोस्टा प्रयोगबाट थर्मल प्लान्टमार्फत आफैं उत्पादन गरिरहेको थियो। अब भने उद्योगले त्यसमा पाँच मेगावाट थप गरी कुल १० मेगावाट विद्युत उत्पादन गर्ने योजना रहेको चन्दले बताए। यो उत्पादनमध्ये केही विद्युत प्राधिकरणलाई समेत बिक्री गर्ने मिलको योजना छ।

नेपालको सबैभन्दा आधुनिक प्रविधिको हुने
उद्योगलाई फेज १ र फेज २ गरी दुई चरणमा काम गरेर सञ्चालनमा ल्याउने तयारी भएको बुझिएको छ। तर दुवै चरणका काम सँगसँगैजसो अघि बढ्ने बताइएको छ।

जसमध्ये पहिलो चरणमा मिलका पुराना दायित्‍वहरु चुक्ता गर्ने योजना छ। पुरानो ऋण र अन्य दायित्व गरेर ६५ करोड रुपैयाँ तिर्न बाँकी छ। यससहित पहिलो चरणमा कुल सवा एक अर्ब रुपैयाँ लगानी चाहिने बताइएको छ। 

दोस्रो चरणमा उद्योगका लागि चाहिने नयाँ प्रविधिसहितका मेसिनरी तथा उपकरणहरु भित्र्याइने छ। साथै, उद्योग संचालनका लागि आवश्यक वर्किङ क्यापिटलको व्यवस्थापनलाई पनि यही चरणमा राखिएको छ। यो दुवैका लागि कुल ७५ करोड रुपैयाँ लगानी आवश्यक पर्ने चन्दको भनाइ छ।

मिलसँग करिब ५५ बिगाहा जग्गा छ। त्यो बाहेक जग्गा, थप भवन र नयाँ मेशिनरी लगायतका स्थिर सम्पत्तिको मूल्यांकन बढ्ने भएकाले थप ऋण पाउने चन्दको विश्वास छ। यदि धितो नपुग भए अन्य ठाउँको जग्गाजमीन पनि धितो राख्ने उनको योजना छ।

नेपालको चिनी उद्योगको इतिहासमा अहिलेसम्मकै अत्याधुनिक प्रविधि ल्याएर काम गर्न लागेको चन्दले बताए। 'बैंकहरुसँग ऋण सम्झौता हुनेबित्तिकै हामी प्रोजेक्टको काम अगाडि बढाउँछौं,' चन्दले भने।

५० लाख क्विन्टल उखु क्रसिङ, १६ हजार किसानलाई लाभ, हजारौं रोजगारी
नेपालका ठुला चिनी उद्योगमध्येको बासुलिङ्ग सुगर मिलले वार्षिक ५० लाख क्विन्टल उखु पेल्ने क्षमता राख्छ। तर उसले यसअघि सञ्चालनमा रहँदा अधिकतम १८ लाख क्विन्टलसम्म मात्रै उखु पेलेको थियो। 

पूर्ण क्षमतामा मिल सञ्चालन गर्न सके यसले १६ हजार किसानको उखु खेतीको फसल पेल्न सक्ने मिलका चिफ मेनेजर डबल शाहले बताए।
'१६ हजार किसानको उखु काट्न हजारौं मान्छे चाहिने भएकाले किसानसँगै उनीहरुले पनि रोजगारी पाउँनेछन्। मिलभित्र र बाहिर गरी दशौं हजारले रोजगारी पाउनेछन्,' शाहको दाबी छ।

यद्यपि, फिल्डमा काम सुरु नभएसम्म किसानलाई उखु खेती थाल्न नभन्ने संचालकको भनाइ छ। यसका बाबजुद तिहारपछि नै फिल्डमा गएर काम सुरु गरेर किसानलाई उखु खेती गर्न लगाउने चन्दको योजना छ। 

‘तिहारलगतै फिल्डमा नगइ हुँदैन,’ चन्दले भने, ‘पहिलो फेजमा भएका पुरानै संरचना मर्मत गर्छौं। मर्मत सुरु गरेपछि किसानहरुलाई उन्नत जातको बिउबिजन उपलब्ध गराएर नयाँ प्रविधिबाट उखु खेती गर्न प्रोत्साहन गर्नेछौ। विगतमा जस्तै पुनः उद्योग र किसान एउटै परिवारको रुपमा रही एक अर्काको सल्लाह सुझाव लिएरै काम अगाडि बढाउनेछौं।'

कुनैबेला कैलालीका स्थानीयको अर्थसामाजिक लाइफलाइन जस्तै बनेको यो चिनी मिल वर्षौंपछि पुनः संचालनमा आउने खबरले मात्र पनि स्थानीय बासिन्दाहरु उत्साहित भएका छन्। 

स्थानीयबासी हर्कमान जोशी मिल चल्दा यहाँको चहलपहल नै छुट्टै रहेको स्मरण गर्छन्। ‘दैनिक हजारौं मानिस मिलमा आउजाउ गर्दा यहाँ जुलुस लाग्थ्यो, ४/५ किलोमिटरसम्म गाडीको लाम लाग्थ्यो,’ उनले भने, 'व्यवस्थापनका तर्फबाट पनि केही गल्ती भए, माओवादीले पनि अमानवीय काम गरे। तर अब मिल चल्ने कुराले हामी निकै आशावादी र उत्साहित भएका छौं।’

यसरी बन्द भएको थियो बासुलिङ
बर्दिया, कैलाली र कंचनपुरसम्मको उखु ल्याएर मिल चलाइरहेका बेला २०५७ सालमा देशमा संकटकाल लाग्यो। संकटकालका बेला सेनाले तराईका धेरै ठाउँमा ब्यारेक स्थापना गरेर कसिलो चेकजाँच सुरु गरेको थियो। त्यसपछि टाढाबाट उखुल्याउन असम्भव हुँदै गयो। उखु रोपेका खेतहरुमा धेरै भिडन्त भयो भनेर उद्योग नजिक र बाटोको छेउछाउ लगाएका उखु खेती पनि प्रशासनले नस्ट गर्न लगाए। त्यसले बासुलिङ चिनी मिलमा कच्चा पदार्थ (उखु) आपूर्ति नै असम्भवजस्तै हुन थालेपछि २०६१ सालबाट यो उद्योग नै बन्द भयो।

चिनी मिल बन्द भएपछि उखु खेतीमा जिविकोपार्जन निर्भर भएका किसानहरु झन् समस्यामा परे। माओवादी युद्धकालमा उखु खेती प्रशासनले नष्ट गरिदिएपछि उनीहरु अन्तरिक रुपमा विस्थापित भए। त्यसपछि किसानले उखु खेती समेत लगाउन छोडे।

चन्द भन्छन्, 'माओवादी द्वन्दका बेला सबै ठाउँमा एकैनासको प्रभाव थिएन। मध्य र सुदूरपश्चिम क्षेत्र धेरै प्रभावित थिए। सरकार नै असफल भएको बेला जतिसुकै राम्रो व्यवस्थापन भएपनि उद्योग संचालनमा सफल भइरहने अवस्था नै रहेन। त्यतिबेला किसानहरुको खेत-खेतसम्म जान नसक्नु हाम्रो कमजोरी रह्यो।'

उनी स्मरण गर्छन्, ‘जताततै कर्फुयु हुन्थ्यो, महेन्द्रराजमार्ग रातभर बन्द हुन्थ्यो। हामीले २४ घण्टा उद्योग चलाउनु पर्थ्यो। किसानहरु गाउँमै बस्न पाएनन्। त्यै भएर उखु खेती पनि बढाउन सकेनौं। उद्योगलाई चाहिने मुख्य कच्चापदार्थ नै नभएपछि जतिसुकै राम्रो व्यवस्थापन भए पनि मिल चलाउन सकिने सम्भावना रहेन।’

चन्दले व्यवस्थापनले सूचना दिएर यसलाई बन्द नगरेको पनि जिकिर गरे।  आफू नै तत्कालिन माओवादीले अपहरण गरेर उद्योग व्यवस्थापनलाई तितरबितर बनाइदिएकाले आपतकालीन रुपमा बन्द गर्नुपरेको उनले बताए। उनले भने, 'पछि अपहरणमुक्त भएपछि पनि मलाई युएनले त्यहाँ बस्नै दिएन। एक्कासी बन्द भएका कारण उद्योगको लिनुपर्ने हिसाब पनि बाँकी रह्यो, र दिनुपर्ने पनि।’

आफूलाई त्‍यतिबेला किसानहरुले नै बचाएको पनि चन्दले स्मरण गरे। '१० हजारभन्दा धरै किसानले संयुक्त विज्ञप्ति निकालेर मेरो प्राणको रक्षा र सकुशल रिहाईको माग गरेकै कारण म अपहरणमुक्त भएको थिएँ।' केही वर्षअघि नौ महिना गाउँमा बसेर किसानहरुको घरघरमा पुगेर उनीहरुसँग अन्तर्क्रिया गरेर सल्लाह सुझाव लिएको पनि उनले बताए।

‘उहाँहरुले त्यतिबेला हाम्रो हिसाब किताब आफ्नो ठाउँमा छँदैछ, हिसाब छ भनेर तपाईं हाम्रो घरमा आउनु भयो, त्यो नै ठूलो कुरा हो,’ चन्द भन्छन्, ‘हिसाब पछि गर्दै गरौंला तर यो मिल तपाईंले जसरी पनि चलाउनुपर्यो। हामीले १००/५० हालेर संचालन गर्न सहयोग हुन्छ भने त्यो दिन पनि तयार छौं भन्नु भएको थियो।’

किसानहरुको त्यस प्रकारको सद्भावले नै आफूलाई मिल पुनः संचालनमा ल्याउन हौसला र ऊर्जा मिलेकाले त्यसैको जगमा अहिले उद्योग संचालन गर्न सक्ने अवस्थामा पुगेको उनले सुनाए।

‘किसानहरुको आर्थिक, सामाजिक र क्षेत्रीय विकासका लागि यो उद्योग चल्नु निकै महत्वपूर्ण छ। यसअघि जेजति कारणले ढिला भए पनि भयो, अब भने तिहारपछि काम सतप्रतिशत सुरु गर्छौं,’ चन्दले भने।