रहेनन् नारायणी सफारीका पिता तथा हानका पूर्व अध्यक्ष गौतमदास, बाँचुन्जेल पर्यटनकै चिन्ता

बिजमाण्डू
२०७८ कात्तिक ८ गते १२:०५ | Oct 25, 2021

काठमाडौं। होटल संघ नेपालका पूर्व अध्यक्ष गौतम दास श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। तीन महिनादेखि कलेजो क्यान्सरबाट संक्रमित उनको सोमबार बिहान  निधन भएको हो।

Tata
GBIME
Nepal Life

सन् १९६० ताका फ्रान्सबाट होटल म्यानेजमेन्टमा डिप्लोमा गर्ने उनी पहिलो नेपाली हुन्। एस होटल म्यानेजमेन्टका अध्यक्ष एवं होटल संघ नेपालका पूर्व अध्यक्ष योगेन्द्र शाक्यका अनुसार फ्रान्सबाट त्यसबेला श्रेष्ठ र अशोक शर्मा दुई जनाले  होटल म्यानेजमेन्टमा डिप्लोमा गरेर फर्किइ नेपालको पर्यटन क्षेत्रमा व्यावसायिक रूपमा काम थालेका थिए।  

श्रेष्ठको जन्म असनको ह्याकनतालामा भएको थियो।

सन् १९६० को दशकमा न्यूरोडस्थित हिमालय होटल संचालनमा ल्याएसँगै उनको होटल उद्योगमा प्रवेश भएको थियो। त्यतिखेर झोँछे, ठमेल, दरबारमार्ग क्षेत्रभर हिमालय होटल मात्र थियो। त्यतिखेर लाजिम्पाटस्थित होटल स्नो भ्यु  मात्र संचालनमा थियो।

श्रेष्ठले कुमार दीपकबहादुर सिंहसँगको साझेदारीमा दरबारमार्गमा होटल शेर्पा संचालनमा ल्याएका थिए। हाल शेर्पा होटल शेर्पा मलमा परिणत भइसकेको छ।

त्यो बाहेक कुलेखानी जलविद्युत आयोजना ल्याउनका लागि पनि उनको महत्वपूर्ण भूमिका रहेको योगेन्द्र शाक्यले जानकारी दिए। 

पाँच वर्ष अघि नै प्रोस्ट्रेट क्यान्सरबाट संक्रमित श्रेष्ठलाई तीन महिना अघि कलेजो क्यान्सर देखिएको थियो।

श्रेष्ठले करिब दुई साता अघिमात्र शाक्यसँगको भेटमा  पनि मुलुकको पर्यटन उद्योगको विषयमा चिन्ता व्यक्त गरेको उनले बताए। 

श्रेष्ठलाई मिलनसार व्यक्तित्वका रुपमा शाक्य सम्झन्छन्। 

सन् १९६० को दशकमा नयाँ परिवेशमा रहेको होटल उद्योगलाई अघि बढाउन श्रेष्ठको अतुलनीय योगदान रहेको होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले बताए। समग्र पर्यटनसँगै होटल क्षेत्रमा उनको उल्लेखनीय लगाव रहेको उनले जानकारी दिए।

'शेर्पा होटल संचालनमा ल्याउनुभएको थियो। तर कारणवश बन्द हुन गयो।  नयाँ नयाँ काम अघि बढाउने उहाँको रुचि थियो। शेर्पा होटलकै साझेदार कुमार दीपकबहादुर सिंह र उहाँकै सहकार्यमा मर्सिडिज बेन्जको आधिकारिक विक्रेता कम्पनी 'दीपक एण्ड गौतम कम्पनी' स्थापना गरिएको थियो,' उनले भने।

शेर्पा होटल बन्द भएपछि श्रेष्ठले चितवनमा नारायणी सफारी संचालनमा ल्याएका थिए। पर्यटन क्षेत्रमा लामो समयदेखि लागेका श्रेष्ठका छोराहरु सञ्जिव र राजिव दास श्रेष्ठले हाल उक्त होटल संचालन गर्दै आएका छन्।