कर्मचारी घट्दा वाणिज्यको अनुगमन टोली आठबाट घटेर तीन मात्रै, एक सातामा ३६ फर्मलाई जरिवाना

बिजमाण्डू
२०७८ कात्तिक ९ गते १३:३३ | Oct 26, 2021
कर्मचारी घट्दा वाणिज्यको अनुगमन टोली आठबाट घटेर तीन मात्रै, एक सातामा ३६ फर्मलाई जरिवाना


काठमाडौं। चाडपर्वलक्षित बजारमा उपभोग्य मिति गुज्रेका सामानदेखि अस्वाभाविक मूल्य लिनेसम्मका पसलेको बदमासी पाइएका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका टोलीले गरिरहेको अनुगमनमा यस्तो पाइएको हो।

Tata
GBIME
Nepal Life

विभागका हाल दैनिक तीनवटा टोलीले चाडपर्व लक्षित बजार अनुगमन गरिरहेका छन्। एक सातामा विभागले ७९ वटा व्यवसायिक फर्ममा अनुगमन गर्दा ३६ वटा कार्वाहीमा परेका छन्। उनीहरुलाई एक लाख ४५ हजार रुपैयाँ जरिवाना गरिएको छ। 

दसैंअघि संयुक्त टोलीले चाडपर्व लक्षित बजार अनुगमन गर्दै आएको थियो। यतिबेला भने विभागले मात्र उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरमा बजार अनुगमन गर्दै आएको विभागका प्रशासन प्रमुख हरि पंगेनीले बताए। 'पहिले आठवटा टोली थियो। अहिले कर्मचारी संख्या थोरै भएकाले तीनवटा मात्रै टोली छ,' उनले भने।  

दसैं सकिएयता तीनवटा मात्रै टोली परिचालित भए पनि अनुगमनको काम प्रभावकारीरूपमा भइरहेको उनले बताए। 'यतिबेला हाम्रो टोलीले लत्ताकपडा, किराना विद्युतिय पसल, डेरी, ग्रोसरी, कोल्ड स्टोर, कस्मेटिक लगायतका व्यवसायिक फर्म अनुगमन गरिरहेको छ,' उनले भने।

महानिर्देशकको सरुवा भएपछि विभाग हाल नेतृत्वविहीन छ। सरकारले अर्को नेतृत्व व्यवस्थापन गर्न ढिलाइ गरिरहेको भए पनि बजार अनुगमनको कामलाई नियमित राखिएको पंगेनीले बताए। चाडपर्वको समयमा कारोबार बढ्ने भएकाले उपभोक्तासँग बढी असुल्ने देखिएको छ। जसले गर्दा विभागले सूचना र गुनासोको आधारमा अनुगमन गरिरहेको जनाएको छ।