क्यान महानिर्देशकमा नियुक्त क्षेत्रीले गरे पदभार ग्रहण, तीन महिनाको कार्यसूची तयार

बिजमाण्डू
२०७८ कात्तिक ९ गते १५:२३ | Oct 26, 2021
क्यान महानिर्देशकमा नियुक्त क्षेत्रीले गरे पदभार ग्रहण, तीन महिनाको कार्यसूची तयार

काठमाडौं। रिक्त रहेको एक महिनापछि नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकको कार्यभार राजकुमार क्षेत्रीले सम्हालेका छन्। निमित्तको जिम्मेवारीमा रहेका उनलाई सोमबारको मन्त्रिपरिषद् बैठकले नेतृत्वमा नियुक्त गरेको हो।

Tata
GBIME
Nepal Life

सरकारको निर्णय लगत्तै उनले मंगलबारदेखि कार्यभार सम्हालेका छन्। प्राधिकरणमा उनको जागिर अवधि भने तीन महिना मात्र बाँकी छ। कार्यावधि छोटो भए पनि दूरगामी महत्वका योजनामा ध्यान रहेको उनले बताएका छन्। 

महानिर्देशक क्षेत्रीले राष्ट्रिय गौरव आयोजना अन्तर्गतका विमानस्थल संचालन प्रक्रिया टुंग्याउने उद्देश्य रहेको बताए। 'समय तीन महीना बाँकी छ। यो अवधिमा विशेष गरी निर्माणाधीन विमानस्थल र अहिले भएकै विमानस्थलको स्तरोन्नतिलाई मुख्य प्राथमिकतामा राखेको छु,' उनले भने।

'गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको संचालन प्रक्रिया टुंग्याउने र पोखरा विमानस्थलमा ढल निकास, डाँडा कटान लगायतको समस्या आफ्नो कार्यकालमै समाधान गर्ने योजना बनाएको छु,' उनले भने। योसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक व्यवस्थापन, आन्तरिक विमानस्थलको क्षमता विस्तार गर्ने योजना रहेको उनले बताए। 

एक महिनायता रिक्त महानिर्देशक पदमा क्षेत्रीले नै निमित्तको जिम्मेवारी सम्हाल्दै आएका थिए। यस अघि उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक र प्राधिकरणको प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए।

महानिर्देशक पदका रिक्त हुनु अघि क्षेत्रीसँगै प्राधिकरणअन्तर्गतको राष्ट्रिय गौरव आयोजनाका निर्देशक प्रदीप अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी, उपमहानिर्देशक भोला गुरागाईं लगायतका चारजना प्रतिस्पर्धामा थिए। अनुभवका आधारमा वरिष्ठ भएका हिसाबले सरकारले आफूलाई नेतृत्वका लागि छनोट गरेको क्षेत्रीले बताए।

प्राधिकरणका अनुसार १२ औं तहका क्षेत्रीको कार्यकाल अवधि तीन महीना बाँकी छ। एक महिनाअघि राजन पोखरेलले स्वैच्छिक अवकाश लिएपछि महानिर्देशक पद रिक्त थियो।