६ महिनापछि खुल्यो लाइसेन्सको अनलाइन आवेदन, फारम भरेर ट्रायलको पालो ६ महिनापछि

बिजमाण्डू
२०७८ कात्तिक ९ गते १४:१९ | Oct 26, 2021
६ महिनापछि खुल्यो लाइसेन्सको अनलाइन आवेदन, फारम भरेर ट्रायलको पालो ६ महिनापछि

काठमाडौं। सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन खुलेको छ। बन्द भएको ६ महिनापछि यातायात व्यवस्था विभागले सोमबार ५ बजेदेखि अनलाइन आवेदन खुल्ला गरेको हो।

Tata
GBIME
Nepal Life

'दिउँसो १२ बजे नै खुलाउने तयारी गरेका थियौं। हाम्रो सिस्टमको तालाचाबी मद्राससँग छ। उनीहरुलाई अनुरोध गर्दा समय लाग्यो,' यातायात व्यवस्था विभागका निर्देशक डा. लोकनाथ भुषालले भने,'देशैभरिबाट अनलाइन आवेदन दिन सकिन्छ।' स्मार्ट लाइसेन्स छपाइको ठेक्का पाएको मद्रास कम्पनीसँग सिस्टम सर्भरको तालमेल गर्नु परेकाले ढिला भएको उनले सुनाए।

कोरोना भाइरस संक्रमण फैलन रोक्न गत वैशाख १६ बाट निषेधाज्ञा जारी गरेका कारण अनलाइन आवेदन र ट्रायल परीक्षा दुवै रोकिएको थियो। दसैं अघि नै ट्रायल सञ्चालनमा आए पनि अनलाइन आवेदन भने खुलाइएको थिएन। ठूलो संख्यामा ब्याकलग रहेको भन्दै विभागले अनलाइन आवेदन खोल्न मानेको थिएन।

विभागले अनलाइन आवेदन अनलिमिटेड बनायो तर सीमित ट्रायल सेन्टरहरु रहेका कारण धेरैले दिन पाएका थिएनन्। आवेदन दिएर बसेका करिब ७ लाख ट्रायल परीक्षा कुरेर बसेका छन्। अनलाइन आवेदन अनलिमिटेड भए पनि सीमित ट्रायल सेन्टरहरु रहेका कारण कोटा तोकेर मात्रै परीक्षा लिइने भुषालले बताए।

उनका अनुसार देशभरिका २१ वटा कार्यालयहरुबाट दैनिक ५ हजार जनाले ट्रायल परीक्षा दिन पाउनेछन्। कार्यालय अनुसार कोटा तोकिएको छ। जस्तै यातायात कार्यालय एकान्तकुनाले मोटरसाइकल १३०, स्कुटर ६०, चारपांग्रे १३०, हेभी लगायत विभिन्न गरी ४ सय जनाले ट्रायल दिन पाउँछन्। जसका कारण अहिले अनलाइन आवेदन दिए ट्रायल दिए कम्तीमा ५ देखि ६ महिना कुर्नुपर्छ।