अस्थायी संरचना प्रयोग गरेर मेलम्चीको खानेपानी ल्याउने योजना, डेढ अर्ब खर्चिँदै

बिजमाण्डू
२०७८ कात्तिक ९ गते २०:४९ | Oct 26, 2021

काठमाडौं। सरकारले डेढ अर्ब रुपैयाँ खर्चेर मेलम्चीको पानी अस्थायी रुपमा ल्याउने तयारी थालेको छ। असार १ गते आएको बाढीले आयोजनाको हेडवर्क्स सहितका संरचना क्षतविक्षत बनाएको थियो।

Tata
GBIME
Nepal Life

ती संरचना पुन:निर्माण सकेर पानी ल्याउन समय लाग्ने भएपछि तत्काल अस्थायी रुपमा पानी ल्याउने योजना बनाइएको मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक बासुदेव पौड्यालले बताए। उनका अनुसार अस्थायी पथान्तरणको योजना बनाएर मन्त्रालयमा पेश भइसकेको छ।

आयोजनाले तयार पारेको योजना अनुसार चैतसम्म राजधानी ल्याएर पानी नै वितरण हुनेछ। यसका लागि नेपाली सेना र सडक विभागको सहयोग लिइनेछ। आयोजनामा रहेको ड्राइभर्सन र अम्वाथानको अडिट टनेल सफा गरेर कफर ड्याम (अस्थायी बाँध) मार्फत पानी ल्याउन लागिएको हो। यस अघि पनि आयोजनाले हेडवर्क्स तयार नहुँदा कफर ड्याम मार्फत पानी ल्याएको थियो।

मेलम्ची बजारदेखि हेडवर्क्ससम्मको मुख्य प्रवेशमार्ग र ३ वटा बेलिब्रिज निर्माण गर्ने योजना बनाएको छ। जसमा सडक र पुलको काम सेना र सडक विभाग मार्फत गराउने योजना छ। आयोजनका अनुसार यसकाा लागि करिव ३० करोड रुपैयाँ लाग्ने अनुमान छ। 'पछि स्थायी रुपमा नै सडक र पुल बनाउनै पर्छ। हामीले अहिले आयोजनासम्म पुग्ने अस्थायी सडक बनाउन लागेका हौ,' पौड्यालले बिजमाण्डूसँग भने,' काम सुरु गर्न एक्सेस सडक अत्यावश्यक छ।'

डाइभर्सन टनेल, अडिट टनेल र हेडवर्क्स भित्रको भग्नावशेष संरचना सफा गर्ने, अस्थायी ड्याम बनाउने लगायतका कामहरु सिनो हाइड्रो मार्फत गराउन लागिएको छ। सिनो हाइड्रो आयोजनाको काम गरिरहेको मुख्य निर्माण कम्पनी हो।

आयोजनाले नयाँ ठेक्का निकालेर प्रक्रिया सुरु गर्दा ६ महिना मुल्याङकनमै लाग्ने भन्दै भेरिएसन मार्फत काम गराउने योजना बनाएको छ। 'हामीले अर्को कम्पनीलाई छनोट गरौला। उसले अरुले बनाएको संरचनालाइ माया गर्ने भएन। अर्को कुरा क्षति नै नपुगेपनि सिनो हाइड्रोले क्षति पुर्‍यायो भनेर क्लेम गर्न सक्छ,' आयोजना प्रमुख पौड्यालले भने,' त्यहि भएर हामीले भेरिएसन गरेर उसैलाइ दिने प्रस्ताव गरेका हौ।' आयोजनामा डिजाइन परिवर्तन र  थप काम गर्दा भेरिएसन दिन सकिने व्यवस्था छ।

हेडवर्क्सको माटो सफा गर्न  मात्रै ९० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। हेडवर्क्स जमिनको सतहबाट १० मिटर तल र पाँच मिटर पुरै बाढीले पुरेको छ।

हेडवर्क्स भित्र २२ वटा इलेक्ट्रोमेकानिकल गेटहरु रहेका छन्। सिधै स्काभेटर प्रयोग माटो हटाउन मिल्दैन। जसले भित्रका संरचनाहरुमा असर पुर्‍याउन सक्ने पौड्यालको भनाइ छ। त्यस्तै हेडवर्क्सबाट दुई किमी तलतिरको नदी समेत सफा गर्नुपर्नेछ। त्यहाँबाट निस्केको माटो र ढुङगा व्यवस्थापनका लागि समेत चुनौती छ।

ड्राइभर्सन,अडिट टनेल सफा गर्ने. साइट क्याम्पको व्यवस्थापन लगायका कामका लागि ३० करोड लाग्ने अनुमान छ। दसैं अघि नै कार्ययोजना तयार भएको थियो। प्रधानमन्त्री कार्यालयमा भएको छलफलले खानेपानी सचिव प्रमिलादेवी बज्राचार्यको संयोजकत्वमा समिति बनाएको थियो। उक्त समितिले अस्थायी पथान्तरणको योजनालाई अन्तिम रुप दिएको हो। आगामी साता उक्त प्रस्ताव मन्त्रीपरिषद पठाउने योजना रहेको मन्त्रालयका सहसचिव सुनिल दासले बताए। प्रधानमन्त्री कार्यालयले दिएको सुझाव अनुसार कार्ययोजना परिमार्जन गरेर पेश गर्न लागिएको छ। 

पुर्ननिर्माण सकेर स्थायी रुपमा पानी ल्याउने केहि बर्ष नै लाग्न सक्ने अनुमान गरिएको छ। 'त्यहाँ पुरिएको भाग खोतलेर नहेरेसम्म के कति क्षति भन्ने यकिन गर्न सकिदैन,' उनले भने,' थोरै क्षति भए छिटो हुन्छ। बढी भए समय लाग्छ।'

मन्त्रीपरिषदले  तत्कालै स्वीकृति दिएपनि अहिले नै निर्माण कम्पनीलाई खटाउन सक्ने अवस्था नभएको उनको भनाइ छ। उनका अनुसार तिहारपछि मात्रै निर्माण कम्पनी मुभ हुनेछ। काम काम सुरु गरेको दुई देखि साढे दुई महिनामा अस्थायी पथान्तरण गर्न  सकिने उनको दाबी छ।
 

एडीबी प्राविधिक सहितको टोली आउँदै 

आयोजनामा बाढीले क्षति पुर्‍याएपछि त्यसको प्राविधिक अध्ययनका लागि एसियाली विकास बैक (एडीबी) ले विज्ञ सहितको टोली पठाउने भएको छ। 

हाइड्रोलोजिष्ट ,जियोलोजिष्ट सहितको विज्ञ टोली आउन लागेको पौड्यालले बताए। 'सटलिष्टिङ भएर छनोट भइरहेको जानकारी पाएका छौ। सम्भवत केही दिनमै उहाँहरु आउनुहुन्छ,' उनले भने,' डिसेम्बरसम्ममा उहाँहरुले प्रारम्भिक रिपोर्ट नै दिने जानकारी गराउनु भएको छ।'

एडीबीले आफ्नै लागतमा अध्ययन गर्न लागेको हो। भेम्राथानमा पहिरो जाने अत्यन्त जोखिम भएकाले एडीबीले अध्ययन गरिदिन लागेको हो। जसले अल्पकालीन र दीर्घकालीन समस्या समाधानको सुझाव दिने पौड्यालको भनाइ छ।
के हिउँदमा मात्रै संचालन गर्न लागिएको हो मेलम्ची ?
तत्कालका लागि अस्थायी संरचनाबाट पानी पथान्तरण गरेर ल्याउन लागिएको छ। अस्थायी पथान्तरण हिउदमा मात्र सम्भव हुन्छ। बर्खामा पानीको बहाब बढेपछि अस्थायी हेडवर्क्समा नै बगाउन सक्छ।

माथिबाट पहिरो आइरहने जोखिम भएकाले तत्कालका लागि हिउँदमा मात्रै पानी ल्याउन लागिएको छ। 'केहि भन्न सकिने अवस्था नै छैन्। जुनसुकै बेला भेम्रथानबाट बाढी आउन सक्छ। बर्खामा जे पनि हुन सक्छ,' पौड्यालले भने,' एडीबीले रिपोर्ट पनि दिन्छ। दीर्घकालीन उपाय भएन भने के गर्ने त?' 

काठमाडौंमा सुक्खायाममा पानी माग बढी हुने भएकाले हिउँदमा नै बढी पानी चाहिने बताए। बर्खामा ट्रिटमेन्ट गरेर बागमतीको पानी नै प्रणाली हाल्न सकिने पौड्यालको भनाइ छ।