शेराटन होटलमा लाग्दै छ सिसा मात्र एक अर्ब रुपैयाँको, नेपालमै पहिलोपल्ट ‘युनिटाइज फसाड’ प्रयोग

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७८ मंसिर १ गते १८:५१ | Nov 17, 2021
शेराटन होटलमा लाग्दै छ सिसा मात्र एक अर्ब रुपैयाँको, नेपालमै पहिलोपल्ट ‘युनिटाइज फसाड’ प्रयोग

काठमाडौं। राजधानीको लैनचौरमा निर्माणाधीन पाँचतारे होटल शेराटनमा 'युनिटाइज फसाड' प्रयोग गर्न लागिएको छ। विशेष गरी विकसित मुलुकका बहुतले भवनहरुको अगाडिको भागमा लगाइने युनिटाइज फसाड नेपालमा भने शेराटन होटलमा नै पहिलोपटक अपनाउन लागिएको हो।

Tata
GBIME
Nepal Life

यस्तो फसाड (भवनको मोहडा वा अगाडिको भाग) मा लाग्ने सिसाका लागि मात्र एक अर्ब रुपैयाँ खर्च भएको शेराटन होटल स्रोतले जानकारी दिएको छ। नेपालमा कुनै पनि भवन संरचनाको सिसामा यति ठूलो रकम खर्च हुन लागेको पनि पहिलोपटक नै हो। 

अष्ट्रेलियामा बसोबास गर्दै आएका गैरआवासीय नेपाली शेष घलेले भित्र्याएको अन्तर्राष्ट्रिय होटल चेन शेराटनको यस भवनमा कुल लागतको झन्डै साढे ८ प्रतिशत यही 'युनिटाइज फसाड' को सिसामा नै खर्च हुँदै छ। नेपालका अहिलेसम्मकै अत्याधुनिक होटल हुने दाबी गरिएको शेराटनको कुल लागत १२ अर्ब अनुमान गरिएको छ।

शेराटन होटलमा राखिने सिसा चीनको सेनजेनबाट आयात गरिएको बताइएको छ। होटलमा सिसा जडानको काम अहिले २० प्रतिशत सकिएको छ। 

यस किसिमको सिसा विश्वका 'हाइ एण्ड' तारे होटलहरुमा जडान हुँदै आएको छ। 'सिंगापुरका अधिकांश ठूला होटलहरुमा यही खालको सिसा प्रयोग भएको छ। शेराटनमा यो सिसाको लागत मात्र अर्ब रुपैयाँ हो,' स्रोतले भन्यो।

के हो युनिटाइज फसाड
युनिटाइज फसाड चाहेजस्तो डिजाइनमा साइटभन्दा बाहिरै प्रि-फेब्रिकेसन गरेर तयार गरिएको भवनको अगाडिको भागमा लाग्ने ग्लास फ्रेमहरु हो। यो कम जनशक्तिबाटै भवनमा जडान गर्न सकिने भएकाले चाँडो काम सकिने र लागतमैत्री समेत मानिन्छ। यसका बाबजुद शेराटनमा अर्ब रुपैयाँ हाराहारी यो फसाडका लागि खर्च हुँदैछ। फसाडमा प्रयोग गर्न लागिएको विशेष प्रकारको सीसाका कारण नै यसमा ठूलो रकम खर्च हुन लागेको शेराटन स्रोतको भनाइ छ। 

भूकम्पजस्ता प्रकोपबाट हुने भवनको मुभमेन्टलाई सहन सक्ने क्षमता अन्यभन्दा यस्तो फसाडमा बढी हुने भएकाले पनि विकसित मुलुकका विशेषगरी हाइराइज भवनमा युनिटाइज फसाडको प्रयोगलाई आर्किटेक्टहरुले कन्टेम्पोररी बिल्डिङ डिजाइनमा प्राथमिकता दिने गरेको बताइन्छ।

सञ्चालनमा आउन अझै डेढ वर्ष
१३ रोपनी जमिनमा १७ तलाको अत्याधुनिक भवनसहितको हुने अन्तर्राष्ट्रिय होटल चेन शेराटन नेपालमा संचालनमा आउन अझै डेढ वर्ष अर्थात् सन् २०२३ को मध्यसम्म लाग्ने होटल स्रोतले जानकारी दिएको छ।

चार वर्षभित्र सञ्चालनमा ल्याइसक्ने लक्ष्यका साथ यसको निर्माण सन् २०१४ बाट सुरु भएको थियो। तर भूकम्प, नाकाबन्दी हुँदै कोभिडसम्मको असरका कारण यसको निर्माण अवधि थप चार वर्षभन्दा धेरैले पछाडि धकेलिएको छ भने लागत पनि पूर्वानुमानित भन्दा चार अर्ब रुपैयाँ थपिएको छ। सुरुमा होटल निर्माणमा ८ अर्ब रुपैयाँ लगानी हुने बताइएको थियो।   

अहिले होटलको संरचनागत निर्माणको काम लगभग सकिएको छ। फर्निसिङ, प्लम्बिङ, सिसा जडान लगायतका कामहरु भइरहेका छन्। होटलमा प्रयोग हुने सिसाका साथै अन्य इन्टेरियरका अधिकांश सामग्रीहरु पनि विदेशबाट नै ल्याइने बताइएको छ।

अष्ट्रेलिया निवासी गैरआवासीय नेपाली शेष घलेको अष्ट्रेलियन कम्पनी एमआईटी ग्रुप होल्डिङ्सको लगानी रहेको यो होटलको डिजाइन सिंगापुरको कम्पनीले गरेको हो। निर्माण भने नेपालकै कम्पनी टुण्डी कन्स्ट्रक्सनले गरिरहेको छ। एमआईटी ग्रुप होल्डिङ्सका प्रमुख प्रवर्द्धक अष्ट्रेलियाली अर्बपति घले नै हुन्।

यो होटल सञ्चालनमा आएपछि पाँच सय जनाले रोजगारी पाउने बताइएको छ। बेसमेन्ट बाहेक नै होटल भवन १७ तलाको हुनेछ जसमा कुल दुई सय २५ वटा कोठा रहने छन्। बेसमेन्ट तीन तलाको हुनेछ। योसहित होटलको भवन समग्रमा २० तलाको बन्नेछ। 

होटलमा दुई हजार जना अट्ने क्षमताको ब्याङ्केट हल, दुई सभा हल, तीनवटा बैठक हल, एउटा बोर्ड हल, इन्फिनिटिभ स्विमीङ पुल, चारवटा रेष्टुरेन्ट, फिटनेस क्लब, स्पा लगायत अन्तर्राष्ट्रिय स्तरको सुविधा रहने बताइएको छ। पाँचतारे स्तरको यस होटलमा क्यासिनो भने नहुने जनाएको छ।