सिन्धुपाल्चोकमा तयार भयो हाइ इन्ड हेलि रिसोर्ट, क्यासिनोमा तान्न आकर्षक प्याकेज

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७८ मंसिर १३ गते १६:१४ | Nov 29, 2021
सिन्धुपाल्चोकमा तयार भयो हाइ इन्ड हेलि रिसोर्ट, क्यासिनोमा तान्न आकर्षक प्याकेज

काठमाडौं। क्यासिनो पस्नेहरुले नेपाल आउँदा सहरी भीडभाडभन्दा केही पर जान्छु, एक-दुई रात आनन्दले बस्छु भन्ने हो भने अब त्यो सुविधा दिन सिन्धुपाल्चोकको भोटेकोशी, नयाँपुलमा रिसोर्ट तयार भएको छ।

Tata
GBIME
Nepal Life

हेलिकोप्टर वा गाडीमा सहज आउजाउसँगै खानबस्न र साहसिक खेल गतिविधिको मजा लिन चाहनेलाई पनि सेवा दिन 'भोटेकोशी हेलि रिसोर्ट एन्ड स्पा' तयार भएको हो। क्यासिनोसहितको यो हाइ इण्ड रिसोर्ट अहिले पहिलो चरणको निर्माण पुरा भएर सञ्चालनको तयारीमा छ।

आगामी डिसेम्बरको अन्तिम साताभित्रै व्यवसायिकरूपमा सञ्चालनमा ल्याउने योजना छ। ९० रोपनीभन्दा बढी क्षेत्रफलमा रहेको यो रिसोर्ट ८४ कोठा क्षमताको हो। रिसोर्टले आउँदो जनवरी पहिलो साताबाट २४ वटा कोठा सञ्चालनमा ल्याउने भएको छ। भोटेकोशीमा बन्जीका लागि चर्चित द लास्ट रिसोर्टको पारिपट्टि पर्छ हेलि रिसोर्ट।

रिसोर्टले हेलिकोप्टर कम्पनीहरूसँगको सहकार्यमा अफरका प्याकेज तयार गरेको छ। डिजाइनअनुसार निर्माण पुरा गर्दा यो रिसोर्टमा एक अर्बभन्दा बढी लागत अनुमान गरिएको छ। 'तीन वर्ष अगाडि निर्माण थालिएको हो, पहिलो चरणको काम करिब करिब पुरा भएको छ,' सञ्चालक उमेश गुप्ताले भने 'अहिलेसम्म लागत ५५ करोड पुगिसकेको छ। निर्माणको काम जारी नै छ।'

आन्तरिक र बाह्य दुवै पर्यटकलाई सुपथ मूल्यमा हाइ इण्ड सेवा दिने उद्देश्यले यो रिसोर्ट सञ्चालनमा ल्याइएको उनले बताए। 'यो ट्रान्जिट प्रोपर्टी हो। यहाँ स्वदेशी, चाइनिज, इन्डियनसँगै पाँच देशका टुरिस्ट गाडी लिएर आउन सक्छन्। रिसोर्टको हेलि प्याकेजमार्फत विभिन्न एकै दिनमा आएर बैठक गरेर आउजाउ गर्न सक्नेछन्,' उनले भने।

रिसोर्टले हेलि प्याकेजअन्तर्गत प्रतिव्यक्ति २५ हजार रुपैयाँमै एक रात दुई दिनको बसाई, खानपिन र आउजाउको सेवा दिने उनले बताए। रिसोर्टमा पाहुनाले तातोपानी (नेचुरल हट स्प्रीङ वाटर) युक्त स्विमीङ पुलको सेवा लिन सक्ने छन्।

'हाम्रो रिसोर्ट चिनियाँ नाका नजिक छ। यताको रुटमा आउने पर्यटकको सेवालाई ध्यानमा राखेर रिसोर्ट डिजाइन गरिएको हो,' उनले भने, 'घुमघाम रुचाउनेले यताको टुरिस्ट प्याकेज अरुतिरको भन्दा फरक खालको पाउँछन्।' रिसोर्ट सञ्चालन आएसँगै पर्यटकले कैलाश मानसरोवर यात्रा, एभरेष्ट साइटिङ, कालिञ्चोक दर्शन, पाँचपोखरी, र्‍याफ्टिङ, बन्जी लगायत गन्तव्य र पर्यटकीय गतिविधिमा सामेल हुन सक्ने उनले बताए। 

'अहिले हामीले २४ वटा कोठा संचालनमा ल्याउने योजना बनाएका छौं। अबको एक वर्षमा कोठा क्षमता ८४ वटा पुर्‍याउँछौं। सन् २०२२ सम्ममा क्यासिनो पनि सञ्चालनमा ल्याउने व्यवसायिक योजना छ,' उनले भने। रिसोर्टका कोठाहरु फराकिला छन्। सुइट, डिलक्स, सुपर डिलक्स गरी तीन किसिमका कोठा छन्। हरेक कोठा रहेका बालकोनीबाट भोटेकोसी र झरना सजिलै हेर्न सकिन्छ। रिसोर्टको डिजाइन प्रबन्ध निर्देशक छिरिङ शेर्पाको अवधारणामा गरिएको हो।

भिल्लाज र क्यासिनोसहितको हुने व्यवसायिक योजना रहेको यो रिसोर्ट पहिलो चरणको निर्माण सम्पन्न भएसँगै सञ्चालनमा आउन लागेको हो। रिसोर्टमा छिरिङ शेर्पा, चिनु रानाभाट, विवेक तुलाचन, उमेश गुप्ता लगायतको लगानी छ।

रिसोर्टका अनुसार अनुसार हेलिकोप्टर र गाडीमार्फत एक रात दुई दिनको प्याकेजका लागि प्रतिव्यक्ति करबाहेक २५ हजार र आठ हजार रुपैयाँ निर्धारण गरिएको छ।

रिसोर्टमा स्विमीङ पुल, चारवटा बैंक्विट, कन्फ्रेन्स, सेमिनार लगायतका हल छन्। उनका अनुसार रिसोर्टमा न्यूनतम तीन सयदेखि १५ सय जनाको क्षमता छ। रिसोर्टले पाहुनाका लागि निःशुल्क र्‍याफ्टिङको व्यवस्था गरेको छ।