३ दिनपछि सूचक हरियो तर बजार भने सुस्त, ६ महिनायताकै दोस्रो न्यून किनबेच, कारोबार २.७४ अर्ब मात्र

बिजमाण्डू
२०७८ मंसिर १५ गते १५:३५ | Dec 1, 2021
३ दिनपछि सूचक हरियो तर बजार भने सुस्त, ६ महिनायताकै दोस्रो न्यून किनबेच, कारोबार २.७४ अर्ब मात्र

काठमाडौं। तीन कारोबार दिनपछि बुधबार सेयर बजार हरियो बनेको छ। अन्तिम तीन मिनेटमा करिब तीन अंकले बढेसँगै समग्रमा आज बजार सूचक नेप्सेमा ५.२८ अंकको सामान्य सुधार आएको छ।

Tata
GBIME
Nepal Life

तर बजार हरियो बनेर बन्द भए पनि लगानीकर्तामा सक्रियता र उत्साह भने नदेखिएको कारोबार विवरणले देखाएको छ। 

कुल २२१ वटा स्क्रिपको आज किनबेच हुँदा जम्मा ३७ हजार ८५ वटा मात्रै कारोबार भएको छ। यो कारोबार संख्या साढे दुई महिनायताकै कम हो। यसअघि योभन्दा कम कारोबार गत अक्टोबर १७ मा २० हजार तीन सय ६१ वटा भएको थियो। उक्त दिन भएको करिब डेढ अर्बको सेयर किनबेचपछि आजको दैनिक कारोबार पछिल्लो ६ महिनामा सबैभन्दा कम हो।

नेपाल स्टक एक्चेन्जको पछिल्लो ६ महिनायताको तथ्यांकले यो कारोबार संख्या त्यसयताकै दोस्रो सबैभन्दा न्यून भएको देखाएको छ। गत अगस्ट १५ मा एक लाख ८८ हजार दुई सय २८ पटक सेयर किनबेच भएको थियो।

बजारको गति यसरी सुस्त हुनुले लगानीकर्तामा यतिबेला सेयरबजारप्रति उत्साह नरहेको बुझिन्छ। मुख्यगरी बैंकिङ प्रणालीमा तरलताको चरम संकट र राष्ट्र बैंकको सेयर धितो कर्जामा कडाइको चेपुवामा सेयर बजार परेको यतिखेर देखिएको छ। 

मौद्रिक नीतिको समीक्षाबाट सेयर धितो कर्जामा ४ करोड र १२ करोडको सीमामा पुनरावलोकन हुने लगानीकर्ताको अपेक्षा पूरा नभएपछि सेयर बजारको लय बताउने मुख्य सूचक कारोबार संख्या र कारोबार रकम दुवैले सेयर बजार झनझन् सुस्त बनेको हो।

कुल ४६ लाख ५३ लाख ५५ कित्ता सेयर किनबेच हुँदा ९१ कम्पनीको सेयर मूल्य बढेको छ भने १० वटाको स्थिर रहेको छ। यद्यपि, ८७ कम्पनीको सेयर मूल्य भने घटेको छ। न्यादी हाइड्रोपावरको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट ब्रेकर लागेको छ। सामलिङ पावर र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा पनि सर्किट ब्रेकर लागेको छ। सबैभन्दा धेरै मूल्य आइसीएफसीको ५.६२ प्रतिशतले घटेको छ।