संचार सचिव अर्याल आएपछि बदलिएको नेपाल टेलिकम, भर्चुअल रुपमा गर्छन् निर्देशकहरुको मूल्यांकन

उन्नत सापकोटा/बिजमाण्डू
२०७८ मंसिर १७ गते ०५:१४ | Dec 3, 2021


काठमाडौं। २०७८ साउनमा नेपाल टेलिकमको वार्षिक आम्दानी ३.७ प्रतिशतले बढे पनि वार्षिक नाफा २३ प्रतिशतले घट्यो। टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ र अन्तर-आबद्धता शुल्कमा गिरावट आएको भन्दै आम्दानीमा असर परेको जिकिर गर्‍यो।

Tata
GBIME
Nepal Life

आर्थिक वर्ष २०७६/७७ असार मसान्तसम्म टेलिकमको कुल सेवावापतको आम्दानी ३४ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ रहेकोमा आव २०७७/७८ को सोही अवधिमा कुल सेवा वापतको आम्दानी १ अर्ब २८ करोड ३७ लाख रुपैयाँले बढेर (३.७० प्रतिशत) ३५ अर्ब ९० करोड ३७ लाख रुपैयाँ पुग्यो।

कोरोना महामारीका कारण रोमिङ र अन्तर-आबद्धता शुल्कमा आएको गिरावट टेलिकमको नाफा नबढ्नुको कारण बन्यो। अंकमा कम्पनीको नाफा घटे पनि पछिल्लो समय टेलिकमको संस्थागत एवम् दीर्घकालीन आर्थिक सुधारका पाटो भने केही सुधारोन्मुख देखिन्छ। 

टेलिकम नेतृत्वलाई फोरजीमा १८ अर्ब बढी लगानी गरेपनि उचित प्रतिफल हासिल नगरेको, फेज आउट हुन लागेका प्रविधिमा लगानी खन्याएको, फाइबर इन्टरनेट (एफटीटीएच) मा निजी सेवा प्रदायकसँग प्रतिस्पर्धा गर्न नसकेको भन्दै टेलिकम माथि प्रश्न उठ्दै आएको छ। 

तर, पछिल्लो समय टेलिकमले फोरजी ग्राहक संख्यामा निजी क्षेत्रको एनसेललाई उछिनेको छ। नियामक नेपाल दूरसंचार प्राधिकरणका अनुसार असोजसम्म टेलिकमको फोरजी ग्राहक संख्या ६६ लाख ३४ हजार ६५ पुगेको छ। सोही समयमा एनसेलको फोरजी ग्राहक संख्या ६० लाख ५९ हजार ४८० पुगेको प्राधिकरणले जनाएको छ। 

फोरजी ग्राहक संख्यामा मुख्य प्रतिस्पर्धीलाई पछि पार्न टेलिकम सफल बनेको छ। यस्तै, २०७६ असोजमा टेलिकमसँग फाइबर इन्टरनेट प्रयोगकर्ता १० हजार ३३५ रहेकोमा ठिक दुई वर्षमा त्यसलाई एक लाख ४५ हजार ६५५ पुर्‍याएको प्राधिकरणले जनाएको छ। टेलिकमले इन्टरनेट सेवामा निजी क्षेत्रको दबदबा तोड्न आक्रामक रणनीतिसहित अघि बढिरहेको जनाएको छ। 

पछिल्लो समयमा टेलिकमको प्रदर्शन सुधारिनुमा दुईवटा फ्याक्टर काम गरेको देखिन्छ। संचार मन्त्रालयका सचिव (टेलिकमको बोर्ड अध्यक्ष) र सर्वसाधारण सेयरधनीका तर्फबाट बोर्ड सदस्य बनेका अम्बिकाप्रसाद पौडेल।   

गत साउन २५ को मन्त्रिपरिषद् बैठकले बैकुण्ठ अर्याललाई प्रधानमन्त्री कार्यालयबाट संचार मन्त्रालयको सचिवमा सरुवा गर्‍यो। संचार सचिव स्वत: नेपाल टेलिकमको बोर्ड अध्यक्ष हुने प्रावधान छ। करिब चार महिनाको कार्यकालमा सचिव अर्यालले टेलिकम भित्रका विभिन्न समस्या समाधानमा सक्रिय भूमिका खेलेको टेलिकम स्रोतले जनाएको छ।

यसअघि अर्थ मन्त्रालयमा सहसचिव रहँदा नै अर्याल टेलिकमको बोर्ड सदस्य भइसकेकाले उनीलाई त्यहाँका अधिकांश समस्याका बारेमा जानकार छन्।अर्याल अर्थबाट बोर्ड सदस्य रहँदा नै टेलिकमको संस्थागत पुनर्संरचना भएको थियो। टेलिकममा रहेका धेरै कर्मचारी कटौती गर्दै संस्थालाई चुस्त बनाउन अर्यालको समेत भूमिका थियो। 

चर्चामा रहँदै आएको टेलिकममा विदेशी रणनीतिक साझेदार भित्र्याउने विषयमा पनि अर्याल बेखबर छैनन्। अर्थ मन्त्रालयको स्वीकृति र परामर्शबिना सरकारी लगानी भएका संस्थामा साझेदार भित्र्याउन असम्भव भएकाले उनी अर्थमै रहँदा यो विषयले स्थान पाएको थियो। 

अहिले पनि टेलिकममा विदेशी साझेदार भित्र्याउने विषय अर्थमा विचाराधीन छ। जसलाई अघि बढाउन चाहे अर्यालले अर्थसँग ट्याकल गर्न सक्ने क्षमता राख्छन्। 

यस्तै, साउन पहिलो सातादेखि डेढ महिनासम्म टेलिकमका कर्मचारीहरु विभिन्न माग राखेर आन्दोलित थिए। वृत्तिविकासमा असर पुग्नेगरी टेलिकम व्यवस्थापनले कर्मचारी विनियमावली पास गरेको भन्दै कर्मचारी आन्दोलित भएका थिए। 

टेलिकम व्यवस्थापन र आन्दोलनरत कर्मचारीहरुबीच भदौ दोस्रो साता २९ बुँदे सहमति भएको थियो। संचार सचिव सरुवा हुँदा टेलिकमका कर्मचारी आन्दोलनमै थिए।  

केही समयदेखि टेलिकममा विवादित बनेको कर्मचारी विनियमावलीलाई पनि अर्यालकै बलमा टुङ्ग्याइएको टेलिकम स्रोतले जनाएको छ। 

टेलिकमको प्रादेशिक निर्देशनालयका निर्देशकहरुसँग अर्यालले आफैं भर्चुअल माध्यमबाट मासिक रुपमा मूल्यांकन कार्य गर्दै आएका छन्। जसका कारण प्रादेशिक निर्देशनालयहरुले मातहतको दूरसंचार कार्यालयहरुलाई पनि नतिजामुखी काम गर्न निर्देशन दिइरहेका छन्। 

'सचिवज्यू निकै सक्रिय रुपमा टेलिकमको संस्थागत सुधारमा केन्द्रित हुनुभएको छ। टेलिकमको नेतृत्वसँग मात्रै नभएर प्रादेशिक संयन्त्रलाई पनि चुस्त बनाउँदै लगेका छन्। जसका कारण ग्राहकको संख्या वृद्धिदेखि सेवा गुणस्तरमा तल्लो कर्मचारी पनि परिचालित छन्,' स्रोतले भन्यो।

त्यसैगरी, सर्वसाधरण सेयरधनीका तर्फबाट अम्बिकाप्रसाद पौडेल पनि टेलिकम समस्या सुधार्न केन्द्रित छन्। ठूला सेयर लगानीकर्ता पौडेललाई कम्पनी सुधार्न सके मात्रै प्रतिफल पाउनेमा जानकार छन्। त्यसैले उनी टेलिकमका प्रवन्ध निर्देशकदेखि सचिवसम्मलाई भेटेर सुधारका लागि घचघचाइरहेका छन्।