देशकै ठूलो कुखुरा दाना उत्पादक ‘किसान दाना उद्योग’ को कारोबार २ अर्ब नजिक, दैनिक ३ लाख अण्डा संकलन

उन्नत सापकोटा/बिजमाण्डू
२०७८ पुष ११ गते २०:५५ | Dec 26, 2021
देशकै ठूलो कुखुरा दाना उत्पादक ‘किसान दाना उद्योग’ को कारोबार २ अर्ब नजिक, दैनिक ३ लाख अण्डा संकलन


काठमाडौं। कुखुराको दाना उत्पादन गर्ने देशकै ठूलो किसान दाना उद्योग प्रालिले सन् २०२१ मा एक अर्ब ९७ करोड ५० लाख रुपैयाँको कारोबार गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

सन् २०२० मा उद्योगले एक अर्ब ५० करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो। त्यसैगरी, उद्योगले २०१९ मा एक अर्ब ३२ करोड ५० लाख रुपैयाँ र २०१८ मा एक अर्ब २७ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो। 

दैनिक ४० देखि ४५ टन दाना उत्पादन गरिरहेको किसान दाना उद्योगका प्रबन्ध निर्देशक विनोद पोखरेलले जानकारी दिए। 

‘हामीहरुको आफ्नै पोल्ट्री फार्म छ। त्यहाँ अहिले ३ लाख कुखुरा छ। यो नेपालकै सबैभन्दा ठूलो फार्म हो। दाना यहाँ धेरै खपत हुन्छ। अर्को भनेको साना किसानहरु जसले ५ हजार, १० हजार कुखुरा पाल्नु हुन्छ वहाँहरुलाई चितवन जिल्लाभरी नै डेलिभरी हुन्छ,’ पोखरेलले भने। 
उद्योगले विगत दुई वर्षमा कोरोना महामारीका बाबजुद औसत २२ प्रतिशतले आम्दानी वृद्धि गरेको रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ। 

किसान दाना उद्योगका संचालकहरुको लगानी पोल्ट्री क्षेत्रका धेरै बिधाहरुमा छ। अण्डा फार्म, लेयर्स चिकेनको ह्याचरी, पोल्ट्री औषधि आपूर्ति, अण्डा राख्ने ट्रे उत्पादनमा लगानी छ। 

अन्तरसम्बन्धित क्षेत्र भएकाले किसान दाना उद्योगको उत्पादनको माग बढ्दै गएकाले अपरेसनल सिनर्जी सिर्जना भइरहेको इक्रा नेपालले जनाएको छ। सन् २०१२ मा स्थापना भएको किसान दाना उद्योगले पोल्ट्री (लेयर्स चिकेन) लाई आवश्यक दाना उत्पादन गर्दै आएको छ। साथै, उद्योगले अण्डा पनि बिक्री गर्दै आएको छ। 

अरु फिड मिल (दाना उद्योग) बाट दाना खरिद गर्दा गुणस्तरीय नपाएर हैरानी खेपेपछि आफुसँगै अन्य किसानहरुको लगानीमा उद्योग खोलेको पोखरेलले जानकारी दिए। 

‘दानाहरु धेरै नराम्रो भयो। जसका कारण किसानहरुले ठूलो नोक्सानी व्यहोर्नु पर्‍यो। अनि मैले कन्सेप्ट तयार गरें। सबै किसानहरु मिलेर आफ्नो क्षमताअनुसार लगानी गरेर आफ्ना कुखुराका लागि दाना किन नबनाउने भन्ने भयो। २०६८ सालमा दाना उद्योग संचालनमा ल्यायौं,’ पोखरेलले भने। सुरुवातमा दैनिक ८ टन मात्रै दाना उत्पादन हुन्थ्यो।

यस्तै, उद्योगले मकै, भटमास, बोन मिल, राइस ब्रानलगायतका कच्चा पदार्थ प्रयोग गरी दाना उत्पादन गर्ने गरेको छ भने आफ्नो सहायक कम्पनी दाउन्ने एग्रो फार्म प्रालिबाट ठूलो संख्यामा अण्डा किनेर बिक्री गर्ने गरेको छ। नेपालका नाम कहलिएका डाक्टरहरु (न्यूट्रिसयनिस्ट) किसान दाना उद्योगमा कार्यरत रहेकाले गुणस्तरमा कुनै कसर बाँकी नछोडेको पोखरेलले दाबी गरे। 

‘हामीले उत्पादन गर्ने दानामा धेरै औषधि प्रयोग हुँदैन। जसका कारण हाम्रा कुखुराहरु बलियो र स्वस्थ छन्। काँचो दाना (मेस दाना) नै हामीले ४० देखि ४५ टन उत्पादन गरिरहेका छौं। अण्डा पार्ने कुखुराहरुका लागि मेस दाना एकदमै राम्रो मानिन्छ,’ पोखरेलले भने। 

सन् २०२१ मा कच्चा पदार्थमा भएको मूल्यवृद्धिका कारण नै उपभोक्ता मूल्य पनि बढ्न गएको कम्पनीले जनाएको छ। कच्चा पदार्थको मूल्यमा भइरहने उतारचढावका कारण सन् २०१९ मा उद्योगको संचालन नाफा मार्जिन ६ प्रतिशत रहेकोमा २०२० मा ८ प्रतिशतले बढेको थियो। २०२१ मा भने पुन: ६ प्रतिशतले घट्ने इक्रा नेपालले जनाएको छ। 

दाना दिएका पोल्ट्री फार्ममा उत्पादन हुने अण्डा उद्योगले नै संकलन गरी देशभरी बिक्री गर्ने प्रबन्ध निर्देशक पोखरेलले जानकारी दिए। आफ्नै पोल्ट्री फार्म र अन्य किसानहरुको समेत गरेर दैनिक ३ लाख वटा अण्डा उत्पादन गरिरहेको उनले बताए। यो संख्या बढ्दै गएको छ। 
पोल्ट्री क्षेत्रलाई आवश्यक सबै उद्योग आफुहरुसँग रहेको उनले बताए। यी उद्योगहरुमा दुईसय भन्दा बढी लगानीकर्ता छन्।  

किसान दाना उद्योगमा दाउन्ने एग्रो फार्मको २७ प्रतिशत सेयर हिस्सा छ। उद्योगले ७० करोड रुपैयाँ ऋणका लागि इक्रा नेपालबाट रेटिङ गराएको छ।