उकालो लागेको बजारमा तीव्र उतारचढाव, वाणिज्य बैंक र जीवन बीमाले बजार सूचक उकास्यो

बिजमाण्डू
२०७८ माघ ३ गते १५:१३ | Jan 17, 2022

काठमाडौं। सोमबार सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ। खुल्ने बित्तिकै बढेको बजार २९५१ अंकसम्म पुगेको थियो। लगत्तै पहिरो गएर सूचक २९०८ अंकमा आएको थियो।

Tata
GBIME
Nepal Life

त्यसपछि बजार पुनः बढेर २९५६ अंकसम्म पुगेको थियो। त्यसपछि फेरि घटेर २९१७ अंकमा आएको बजार साढे १२ बजेपछि भने उक्लिरह्यो।

बजार अन्तत: २०.६४ अंक बढेर बन्द भएको छ। बजार सूचकले २९४७.३८ अंकको उचाइ कायम गरेको छ। आइतबार निरन्तर बजार बढेको थियो। ६९ अंकको उचाइ लिएको बजारमा सोमबार भने स्थिरता देखिएन।

बजारको हल्लाले दिनभरी बजार प्रभावित भइरह्यो। लकडाउन हुन्छ/हुँदैन भन्नेमा अलमलिएको बजारमा तरलताले पनि थपघट गराइरह्यो।

बजारमा तीव्र उतारचढाव देखिँदा कारोबार रकममा गिरावट आएको छ। कुल ७ अर्ब ९० करोड रुपैयाँको किनबेच भएको छ। आइतबार ९ अर्ब ६७ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

बजारमा मध्य-भोटेकोशीले निरन्तर छलाङ मारिरहेको छ। सूचीकृत भएदेखि १० प्रतिशतले मूल्य बढेको भोटेकोशीको मूल्य ४५८ रुपैयाँ पुगेको छ। यसपछि ८ प्रतिशतमाथिले सनराइज ब्लुचिप, सिंगटी हाइड्रो र सीइडीपी हाइड्रोको सेयर मूल्य बढेको छ। दिनभरीमा ९७ कम्पनीको सेयर मूल्य घटेको छ।

आइतबार १० प्रतिशतले मूल्य बढेको स्ट्यान्डर्ड चार्टर्डको मूल्य २.९१ प्रतिशतले घटेको छ। दिनभरीमा ८१ कम्पनीको सेयर मूल्य घटेको छ।

बजारमा सर्वाधिक अरुणभ्यालीको ४४ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ। अपी हाइड्रोको ४१ करोड, अपर तामाकोशीको २४ करोडको कारोबार भएको छ। आइतबार पनि यी कम्पनीको उच्चतम कारोबार भएको थियो। सोमबार एनटीसीको २३ करोड ९८ लाख र शिवम् सिमेन्टको २१ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

वाणिज्य बैंकका साथै जीवन बीमा समूहले बजारलाई हरियो बनाएको छ। वाणिज्य बैंक साढे १९ अंकले बढेको छ। जीवन बीमा ८० अंकले बढेको छ। विकास बैंक, फाइनान्स कम्पनी. लघुवित्त, लगानी समूह रातो भएका छन्।