साताको अन्तिम कारोबार दिन सेयर बजारमा ३३ अंकको सुधार, ५.७७ अर्बको कारोबार

बिजमाण्डू
२०७८ माघ ६ गते १५:२६ | Jan 20, 2022
साताको अन्तिम कारोबार दिन सेयर बजारमा ३३ अंकको सुधार, ५.७७ अर्बको कारोबार

काठमाडौं। पछिल्लो दुई कारोबार दिन करिब ५० अंकले घटेको सेयर बजार साताको अन्तिम कारोबार दिन भने पुन: लयमा फर्किएको छ। दिनभर निकै उतारचढाव आएको बजार बन्द हुनुअघि भने निकै फराकिलो अंकले बढेको छ। बिहीबार नेप्से ३३.०३ अंकले वृद्धि हुँदै २९३१.३४ को बिन्दुमा उक्लिएको छ। 

Tata
GBIME
Nepal Life

यो साता औसत करिब आठ अर्बको कारोबार भएको नेप्से बुधबार र बिहीबार भने उत्साहजनक कारोबार भएन। नेप्से २९०० को मनोवैज्ञानिक विन्दुलाई परीक्षण गरिरहँदा लगानीकर्ता दुवै पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ। बिहीबार ५ अर्ब ७७ करोड रुपैयाँको एक करोड ५९ लाख ८९ हजार ७४४ कित्ता सेयर किनबेच भएको छ। 

नेप्से दोहोरो अंकको बढोत्तरी लिँदा विकास बैंक र वित्त उपसमूह अन्तर्गतका सेयरमा लगानीकर्ताको आकर्षण रहेको देखिन्छ। यी उपसमूहहरु बिहीबार ३ प्रतिशत बढीले वृद्धि भएका छन्। जलविद्युत, लगानी, जीवन बीमा र निर्जीवन बीमा उपसमूहमा आज पनि उत्साह कायमै रहेको देखिन्छ। वाणिज्य बैंक र सामूहिक लगानी कोष उपसमूहमा भने सामान्य गिरावट आएको छ। 

भर्खरै दोस्रो बजारमा सूचीकृत बुद्धभूमि नेपाल हाइड्रोपावर, मैलुङ खोला जलविद्युत  र तेह्रथुम पावर कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ। न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले पनि आज झन्डै ९ प्रतिशतका दरले कमाएका छन्।     

कारोबार रकमका आधारमा भने बिहीबार आइएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। यो कम्पनीको २२ करोड अधिकको धितोपत्र किनबेच भएको छ। त्यस्तै, अपि पावरको १८ करोड ४७ लाख रुपैयाँको कारोबार हुँदा १७ करोड ६७ लाख रुपैयाँको शिखर इन्स्योरेन्स किनबेच भएको छ। 

सर्वाधिक गुमाउनेमा भने १२% आइसीएफसी फाइनान्स ऋणपत्र २०८३ का लगानीकर्ता रहे। यो ऋणपत्रका लगानीकर्ता ४.३९ प्रतिशतका दरले गुमाएका छन्।