साप्ताहिक सेयर: बजार पुँजीकरण चार महिना यताकै उच्च,  ८३ कारोबार दिन यताकै उच्च विन्दुमा नेप्से

बिजमाण्डू
२०७८ माघ ८ गते ११:५४ | Jan 22, 2022
साप्ताहिक सेयर: बजार पुँजीकरण चार महिना यताकै उच्च,  ८३ कारोबार दिन यताकै उच्च विन्दुमा नेप्से


काठमाडौं। निरन्तर तीन सातादेखि उत्साहजनक वृद्धिदर कायम गरेको सेयर बजार यो साता त्यति आकर्षक नभए पनि बजार पुँजीकरण भने ४ महिना यताकै उच्च भएको छ।

Tata
GBIME
Nepal Life

साताको पहिलो कारोबार दिन २८५७.७५ विन्दुबाट सुरु भएको सेयर बजार अन्तिम कारोबार दिनसम्म आइपुग्दा ७३.५९ अंकले उकालो लागेको छ। नेप्से परिसूचक सातामा २.६ प्रतिशतले बढेर २९३१.३४ अंकको विन्दुमा कायम छ। बजारले यो साता ८३ कारोबार दिन यताकै उच्च विन्दु २९८१.३५ सम्मको यात्रा तय गरेको छ।

पछिल्लो समयमा बजार बढ्न थालेपछि लगानीकर्ताहरू नाफा बुक गर्नतर्फ लागेको देखिएको छ। यही कारण ३ हजार विन्दु नजिक पुगेको नेप्से परिसूचक उक्त विन्दुबाट नै तल आएको हो।

साताको सुरुवातमा फराकिलो अंकले उक्लिएको सेयर बजार ३ हजारको मनोवैज्ञानिक बाधा नजिक पुगे लगत्तै ट्रेडर र लगानीकर्ता दुवैले आर्जन गरेको नाफा सुरक्षित गर्न थालेका हुन्। सोही कारण मंगलबार र बुधबार गरी बजारमा करिब ५० अंकको गिरावट आएको थियो।

प्रोफिट बुकिङ गरेसँगै बजारमा सुरु भएको सेलिङ प्रेसरले यो साता कारोबार रकममा भने निकै वृद्धि आएको छ। यस साता औसत कारोबार रकम ७ अर्ब ५६ करोड रुपैयाँ रहेको छ। चार महिनापछि आइतबार बजारमा ९ अर्ब अधिकको सेयर खरिद बिक्री भएको थियो। यस अघि भदौ २८ गते ९ अर्ब रुपैंया अधिकको सेयर किनबेच भएको थियो।

यस साताको अन्तिम कारोबारी दिनसम्ममा नेप्सेमा ३७ अर्ब ८१ करोड ६० लाख ५९ हजार बराबरको ७ करोड ६५ लाख ६० हजार ६२७ कित्ता सेयर कारोबार भएको छ। गत साताको तुलनामा नेप्सेमा २ अर्ब १६ करोड ३३ लाख १६ हजार रुपैयाँ बराबरको ७२ लाख ६२ हजार कित्ता बढी सेयर कारोबार भएको तथ्यांकले जनाएको छ।

समीक्षा अवधिमा कारोबार रकम ६ प्रतिशतले बढेको छ भने कारोबारी मात्रा १० प्रतिशत अधिकले वृद्धि भएको देखिन्छ। तर लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहँदा अन्तिम कारोबारी दिन कारोबार रकममा संकुचन आएको थियो। बिहीबार कारोबार रकम ५ अर्ब ७७ करोड रुपैयाँमा सीमित छ ।

तीन सातादेखि निरन्तर बढिरहेको बजारसँगै बढेका लगानीकर्ता र उनीहरूमार्फत भित्रिएको रकमले नेप्सेसँगै कुल बजार पुँजीकरणमा पनि सकारात्मक प्रभाव परेको छ। बजार पुँजीकरण ४ महिनायताकै उच्च छ। दोस्रो बजारमा समावेश भएका नयाँ कम्पनीले बजार पुँजीकरणको वृद्धिमा निकै ठूलो भूमिका निभाउने गर्छन्।

गत साताको अन्तिम कारोबारी दिन ४० खर्ब ३७ अर्ब १२ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण यो साताको अन्तिम कारोबारपछि ४१ खर्ब ४२ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा कुल बजार पुँजीकरण १ खर्ब ५ अर्ब ४० करोड रुपैयाँ अर्थात् २.६१ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ।

समीक्षा अवधिमा अधिकांश उपसूचकहरू पनि नेप्सेसँगै उकालो लागेका छन्। १३ वटा उपसूचकमध्ये यो साता सर्वाधिक वृद्धि अन्य उपसमूहले लिएको छ। एक हप्तामा अन्य उपसमूह झन्डै ४ प्रतिशतले वृद्धि भएको छ। वाणिज्य बैंक उपसमूहमा पनि यो साता ३.६१ प्रतिशतको वृद्धि देखिएको छ।

यस्तै, जलविद्युत र उत्पादन तथा प्रशोधन दुवै उपसमूह यो साता ३.३५ प्रतिशतले बढेका छन् । यस अवधिमा जीवन बीमा उपसमूह ३.२ प्रतिशतले वृद्धि हुँदा निर्जीवन बीमा उपसमूह, सामूहिक लगानी कोष उपसमूह र विकास बैंक उपसमूह २ प्रतिशत अधिकले बढेका छन्।

लगानी, व्यापार र लघुवित्त उपसमूहमा यो साता भने गिरावट देखिएको छ। गत साताको तुलनामा सर्वाधिक गिरावट व्यापार उपसमूहमा आएको छ। यो उपसमूह १.६२ प्रतिशतले घटेको छ। लगानी, र लघुवित्त उपसमूह सामान्य अंकले घटेका छन्।

नीतिगत समस्या र समाधानबीच अल्झिरहेको धितोपत्र बजारले यो हप्ता लगानीकर्ताको मनोबल र धैर्यको परीक्षण गरेको छ। तर एक दुई दिनको करेक्सनले पनि बजारमा खासै प्रभाव नपरे पछि बजारको आधारभूत र प्राविधिक पक्ष दुवै सुदृढ हुँदै आएको बजारको प्रतिक्रियाबाट अनुमान लगाउन सकिन्छ ।

जलविद्युत कम्पनीका सेयरमा लगानीकर्ताको आकर्षण यो साता पनि कायमै छ। जलविद्युत उपसमूह अन्तर्गतको सामलिङ पावर कम्पनीका लगानीकर्ताले यस साता सर्वाधिक मुनाफा आर्जन गरेका छन्। सो कम्पनीको मूल्य एक हप्ताको अन्तरालमा झन्डै ४० प्रतिशत बढेको छ।

भर्खरै नेप्सेमा सूचीकृत बुद्ध भूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले यो साता २८.२९ प्रतिशतका दरले कमाउँदा मध्य-भोटेकोशी जलविद्युत कम्पनीका लगानीकर्ताले २६.३२ प्रतिशत अधिकका दरले कमाएका छन्। यो साता तेह्रथुम पावरको सेयरमा पनि लगभग २४ प्रतिशतको वृद्धि देखिएको छ।

हप्ताभरमा सर्वाधिक गुमाउने बोटलर्स नेपाल तराईका लगानीकर्ता हुन्। कम्पनीको सेयर चालु साताको अन्तिम कारोबारी दिन सम्म आइपुग्दा झन्डै ८ प्रतिशतले गिरावट आएको छ। गत साताको तुलनामा यो साता ६५ वाट कम्पनीहरूको मूल्य घटेको छ भने सूचीकृत ११ कम्पनीको मूल्य गत साताको तुलनामा स्थिर छ।

सर्वाधिक बजार पुँजीकरणका साथ नेपाल दूरसञ्चार कम्पनी यो साता अग्र स्थानमा छ। एनटीसीको बजार पुँजीकरण २ खर्ब १८ रुपैयाँ छ। नबिल बैंकको कुल बजार पुँजीकरण पनि २ खर्ब १७ अर्ब रुपैयाँ अधिक छ। यस अवधिमा नेपाल पुनर्बीमा कम्पनीको बजार पुँजीकरण १ खर्ब ५० अर्ब भने नेपाल लाइफ १ खर्ब २५ अर्ब रुपैयाँका साथ चौथो स्थानमा छ। नागरिक लगानी कोषको कुल पुँजीकरण पनि १ खर्ब १४ अर्ब रुपैयाँ रहेको देखिन्छ।

छोटो समयमा आएको अस्वाभाविक गिरावटपछि बढेको बजारले प्रवेश गर्न इच्छुक नयाँ लगानीकर्ताहरूलाई प्रशस्त अवसर प्रदान गरेको छ। तरलता अभाव र पुस मसान्तको दबाब विपरीत बढेको बजारले बिस्तारै लय समात्न थालेको छ। लगानीकर्ताहरूको बजारप्रतिको सकारात्मक र दृढ विश्वासले घटेको विन्दुबाट बजारलाई फर्कन खासै कसरत गर्न नपरे पनि आगामी दिनमा बजार कुन दिशातर्फ हिँड्ला भन्ने विषय निकै अन्योलपूर्ण छ।