माथिल्लो तामाकोशी: ५५० रुपैयाँ भन्दा तल झरेन सेयर भाउ, फेरि ९ सय ६२ रुपैयाँमा पुग्ला ?

बिजमाण्डू
२०७८ माघ ८ गते १४:३७ | Jan 22, 2022
माथिल्लो तामाकोशी: ५५० रुपैयाँ भन्दा तल झरेन सेयर भाउ, फेरि ९ सय ६२ रुपैयाँमा पुग्ला ?

काठमाडौं। मुलुकलाई ऊर्जामा आत्मनिर्भर बनाउने लक्ष्यसहित सुरुवात भएको माथिल्लो तामाकोशी जलविद्युत्‌ आयोजना(अपर) दोस्रो बजारमा समावेश भए लगत्तै लगानीकर्ताहरूको आकांक्षाविपरीत प्रदर्शन गर्न थाल्यो।

Tata
GBIME
Nepal Life

आवेदन दिएका ठूला साना सबैलाई ४०/५० कित्ता आइपीओ बाँडफाँट भएको अपरले न नाफा गर्न सक्यो न त प्रतिफल दिन नै।

लगानीको उचित मूल्य खोजिरहेका लगानीकर्ताले त वर्षौ प्रतीक्षा गर्नुपर्‍यो। धैर्यको निकै परीक्षण गरेको कम्पनीको सेयरले एक समय भाउ त पायो तर लगानीकर्ताहरूको आशामा खरो उत्रन भने सकेन।

अपरको सेयर मूल्यमा करिब ४३ प्रतिशतको गिरावट आएको छ। कुनै बेला ९६२ रुपैयाँमा किनबेच भएको यो कम्पनीको सेयर घटेर ५५० रुपैयाँ सम्ममा कारोबार हुन पुग्यो। केही समय अघिसम्म पनि ५००/६०० रुपैयाँ कारोबार भइरहेको यो कम्पनीको सेयर मूल्य हिजोआज भने ७५० रुपैयाँ वरिपरि अल्झिरहेको छ।

नेप्सेमा सूचीकृत भएको पाँचौ दिन ३५० रुपैयाँ छोएको अपरले पुन: सो मूल्य पार गर्न दुई वर्ष अधिक लगाएको थियो। कोरोनापछि सुरु भएको बुलिस मोमेन्टमको मद्दतले सेयर मूल्य कम्पनीको आधारभूत पक्ष विपरीत बढेर झन्डै हजार नजिक पुगेको थियो। लगानीकर्ताहरूको ठूलो सङ्ख्यासँग धैर्य गर्ने क्षमताको परीक्षण गरिरहेको उक्त सेयरबाट लगानीकर्ताले आफ्नो नाफा सुरक्षित गर्न धेरै समय भने खर्च गरेनन्। करिब १० महिनाको अन्तरालमा अपारको बजार मूल्यमा निकै ठूलो गिरावट आएको छ।

तर करिब ३० प्रतिशतको गिरावट पछि उर्लिएको बजारको भेलले असक्षम कम्पनीहरूलाई पनि आफूसँगै तानेको छ। बढ्दो बजार समान अपर पनि बढेको छ। महँगोमा बेचेर उम्किएका लगानीकर्ता पनि अहिले यही सेयरको ताकमा बस्ने गरेका छन्।

अहिले के गर्दै छ अपर ?

स्वदेशी पुँजी र व्यवस्थापनमा नै निर्माण गरिएको नेपालको हालसम्मकै ठूलो गौरवशाली आयोजना हो माथिल्लो तामाकोशी जलविद्युत्‌। २०७८ असारमा आयोजना निर्माण सम्पन्न भएको माथिल्लो तामाकोशीले २०७८ भाद्र ४ देखि चारवटा युनिटहरूबाट उत्पादित विद्युत् बिक्री प्रारम्भ गरेको हो। करिब तीन सातापछि जलविद्युत्‌ले सम्पूर्ण ६ युनिटहरूबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारणमा जडान गर्न सफल भएको थियो।

६ वटा युनिट रहेको सो आयोजनाको उत्पादन क्षमता ४५६ मेगावाट छ। प्रत्येक युनिटबाट करिब ७३ मेगावाट बिजुली उत्पादन हुने गर्छ। सुरुमा ५ वर्षमा सकिने लक्ष्य राखिएको सो परियोजना सकिँदासम्म करिब ११ वर्ष बित्यो भने ३५ अर्ब रुपैयाँमा सकिने भनिएको आयोजना सकिँदासम्म करिब ९० अर्ब खर्च भयो।

कम्पनीको आयोजना सम्पन्न भई विद्युत् उत्पादन सुरु भएसँगै अपर तामाकोशी हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८६ करोड रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ७८ लाख रुपैयाँ घाटामा रहेको कम्पनी चालु आर्थिक वर्षको सोही अवधिमा ८६ करोड १९ हजार रुपैयाँ नाफामा छ। यो अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट १ अर्ब ७२ करोड ७७ लाख रुपैयाँ कमाएको छ। यस अघिका वर्षहरूमा यस्तो आम्दानी भने शून्य थियो।

नाफा बढेसँगै नकारात्मक रहेको कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेर ८.१२ रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा अपरको प्रति सेयर नेटवर्थ ९८.१० रुपैयाँ छ।

धितोपत्र बजारको अन्तिम कारोबार मूल्य ७ सय ४२ रुपैयाँको आधारमा सो कम्पनी मूल्य आम्दानी अनुपात ९१.३७ गुणा छ। अपरको प्रति सेयर कुल सम्पत्तिको मूल्य भने ८४८.८१ रुपैयाँ छ।

राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको चुक्ता पुँजी रहेको १० अर्ब ५९ करोड रुपैयाँ छ। यो आयोजनामा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको २-२ प्रतिशत, कर्मचारी सञ्चय कोषको १७.२८, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको १० प्रतिशत, सर्वसाधारणको १५, कर्मचारी सञ्चय कोषका कर्मचारीको २.८८, कम्पनी र प्राधिकरणका कर्मचारीको ३.८४ प्रतिशत सेयर स्वामित्व छ।

यस्तो छ प्राविधिक पक्ष :

२०७५ साल पुस २७ गतेका दिनदेखि दोस्रो बजारमा कारोबार सुरुवात गरेको अपर तामाकोशीको को मूल्य प्रतिदिन फराकिलो अंकले वृद्धि हुँदै पाँचौ दिनमै ३४२ रुपैयाँको उच्च बिन्दुसम्म पुगेको थियो। छोटो अन्तरालमा नै लगानीकर्ताले आर्जन गरेको नाफा बुक गरेपछि सोही दिन सो विन्दुबाट अपरको सेयर ओरालो लाग्न सुरु गरेको हो।

बजारले पुन केही पटक यस मूल्य विन्दुलाई परीक्षण गरेको देखिन्छ। तर सफलताका साथ ब्रेक आउट दिन नसक्दा सो विन्दु बाधाका रूपमा परिणत भएको थियो। तर कोरोनाको प्रभावस्वरूप बढेको धितोपत्र बजारले अपरलाई ३४२ रुपैयाँको मूल्य विन्दुबाट सजिलै उम्कन मद्दत गर्‍यो।

अनलाइनले एकाएक वृद्धि भएको लगानीकर्ताको सङ्ख्या र सोही अनुरूप दोस्रो बजारमा भित्रिएको पुँजीले आधारभूत पक्ष कमजोर हुँदाहुँदै पनि अपर र अपर जस्ता अन्य कम्पनीहरूको मूल्यलाई नयाँ उचाइ प्रदान गर्‍यो। अपरले पनि ९३५ रुपैयाँ सम्मको यात्रा तय गर्न सफल भयो।

तर सो मूल्य विन्दुमा कमजोर माग र छोटो समयमा भएको मनग्य नाफाले तत्काल आपूर्तिको सृजना गरेको देखिन्छ। सेयरले पुनः पनि यस मूल्य बिन्दुलाई परीक्षण गर्न खोजेको छ। तर सफलतापूर्वक उक्त विन्दुलाई ब्रेक आउट दिन नसक्दा ८५० र ९०० रुपैयाँको मूल्य विन्दुबाटै मार्केट रिभर्स भएको देखिन्छ।

९०० रुपैयाँदेखि ८५० को क्षेत्रलाई हामीले सप्लाई जोनका रूपमा बुझ्न सकिन्छ। मूल्य यी विन्दुमा पुगे लगत्तै भविष्यमा पुनः पनि लगानीकर्ताले नाफा बुक गर्न सुरु गर्न थाल्नेछन्। सो मूल्य क्षेत्रमा नाफा बुक गर्ने सर्वाधिक सम्भावना देखिन्छ।

मूल्य र माग समानुपातिक नहुँदा अपर तीव्र गतिमा ओरालो लागेको थियो। करिब ३०% को गिरावट पछि ६६० रुपैयाँको मूल्य विन्दुबाट अपरले पुन मोमेन्टम गेन गर्दै ९६२.५ रुपैयाँको सर्वाधिक उच्चतम विन्दुमा पुगेको थियो। तर ८५० रुपैयाँको मूल्य विन्दु पार गरे लगत्तै प्रोफिट बुकिङका कारण सो दिन कम्पनीको मूल्यमा निकै ठुलो उतारचढाव आएको देखिन्छ।

निरन्तर घट्दै गर्दा अपरले ६६० को मूल्यलाई पहिला परीक्षण गरेको थियो। तर ८०० को छोटो यात्राभन्दा अघि बढ्न भने सकेन। ८०० को नयाँ अवरोध सृजना गर्दै बजार पुनः ५५० रुपैयाँको विन्दु नजिक आएको थियो। यस विन्दुले बलियो टेवाको भूमिका निभाएको छ ।

बजार बढ्नु अघि ५५० र ६०० को मूल्यलाई निकै परीक्षण गरेको थियो। यो समय मार्केटमा अपरको माग बढेको अनुमान लगाउन सकिन्छ।

५५० रुपैयाँदेखि ६००को क्षेत्रलाई हामीले डिमान्ड जोनका रूपमा बुझ्न सकिन्छ। निकै चोटि परीक्षण गर्दा पनि यस मूल्य क्षेत्र भन्दा बजार तल झर्न सकेको छैन। यी विन्दुले भविष्यमा टेवाको महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने छन्। वर्तमानमा बढेको अपरको मूल्य पनि यही विन्दुबाट आरम्भ भएको हो।

क्यान्डल लाइट विश्लेषण:

निरन्तर ओरालो लागेको अपरको चार्टमा गत बिहीबार खरिदकर्ताको तीव्र चापसहितको बुलिस क्यान्डल लाइट बनेको छ।

दिनभर उतारचढाव देखिएको नेप्से बन्द हुनु अघि फराकिलो अंकले बढ्दा हाइड्रो कम्पनीहरूको सेयरमा लगानीकर्ताहरूको विशेष आकर्षण देखिएको थियो। कारोबार बन्द हुनु अघि अपरको सेयर पनि उत्साहजनक रूपले खरिद भएको छ।

७०० रुपैयाँको मूल्य विन्दु भन्दा माथि नै रहेको उक्त मैनबत्ती आकृतिले आगामी दिनहरूमा अपरमा लगानीकर्ताहरूको आकर्षण र माग बढेर जाने देखाउँछ। तर बजार ८०० को अवरोध नजिक छ।

७८० रुपैयाँ पुगी करेक्सन भएको बजारले पुनः सो विन्दु ब्रेक आउट दिन आवश्यक छ। यस मूल्यलाई ब्रेक आउट दिई ८०० माथि स्थिर हुन असफल भएको खण्डमा अपरको मूल्यले नकारात्मक प्रतिक्रिया दिने अनुमान लगाउन सकिन्छ।

अपरको मूल्यले कारोबार रकमको साथ भने त्यति नपाएको देखिन्छ। पछिल्ला केही कारोबार दिनमा अपरको कारोबार रकम औसतभन्दा तल रहेको छ। कारोबार रकमको साथ बिनाको वृद्धि दिगो भने हुँदैन।

१४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स:

यस साताको बिहीबार कम्पनीको कारोबार बन्द हुँदा १४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ६३ को स्केलबाट ४ अंकले बढेर ६७ को स्केलमा पुगेको छ। यसले लगानीकर्ताको खरिद चाप औसतमा राम्रै रहेको बुझिन्छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ५० % माथि रहनुले औसतमा बजारले सकारात्मक गति लिने देखाउँछ।

यो सूचक ५० %भन्दा तल झर्छ भने बजारले आगामी दिनमा त्यति शक्तिशाली प्रदर्शन नगर्ने बुझिन्छ।

७० % को नजिक रहेको रिलेटिभ स्ट्रेन्थ इन्डेक्सले आगामी दिनमा प्रफिट बुकिङको सम्भावना पनि रहेको जनाउँदछ। यो सूचक ७० % भन्दा माथि रहन्छ भने त्यस अवस्थालाई ओभर बट अथवा अत्यधिक खरिद गरिएको भनी बुझिन्छ।

निष्कर्ष :

समग्र आधारभूत तथा प्राविधिक कुरा नियाल्दा अपरको सेयर मूल्य तत्काल केही अंक मात्रै भए पनि बढ्ने देखिन्छ। तर नजिकिँदै गरेको अवरोधले भने अवश्य पनि बजारलाई सीमित राख्ने प्रयास गर्नेछ।

७०० को बाधालाई केही समय अघि तोडेको अपरको मूल्य सोही अवरोध माथि स्थिर हुँदा, आउँदा दिनहरूमा स्टकले सकारात्मक प्रस्तुति दिने अनुमान गर्न सकिन्छ। तर, बजारमा सृजना हुने अनिश्चित समस्या र नजिकैको ८०० को अवरोधले बजारको प्रस्तुतिमा बाधा बन्ने देखिन्छ। यद्यपि, बजारले सो अवरोध लाई पनि पार गर्न सक्षम हुन्छ र ८०० रुपैयाँ माथि स्थिर रहन्छ भने अपर लगानीकर्ताहरूको आगामी दिन शुभ रहनेछ।

लगानीकर्ताले ८५० देखि ९०० को सप्लाई जोनलाई ध्यानमा राख्नु आवश्यक देखिन्छ। यस मूल्य क्षेत्रलाई सफलतापूर्वक पार गर्न असमर्थ रहेको खण्डमा अपरको मूल्य पुन पनि ५५० देखि ६०० को क्षेत्रसम्म झर्नेछ। यस डिमान्ड जोनमा मूल्य यदि अस्थिर रहन्छ भने अपरको मूल्य आगामी दिनमा तीव्र रूपले घट्ने देखिन्छ।