एक महिनामै १८९ वटा विद्युतीय कार नेपाल भित्रियो, एलसी कडाइले पेट्रोलियम गाडी आयातमा कमी

शुक्र गिरी/बिजमाण्डू
२०७८ माघ ९ गते १८:२९ | Jan 23, 2022
एक महिनामै १८९ वटा विद्युतीय कार नेपाल भित्रियो, एलसी कडाइले पेट्रोलियम गाडी आयातमा कमी

काठमाडौं। पेट्रोलियम गाडीको आयातमा राष्ट्र बैंकले कडाइ गरेपछि विद्युतीय गाडीको माग बढेको छ। ब्यवसायीहरुले एक महिनामै एक सय ८९ वटा विद्युतीय सवारी साधन भित्र्याएका छन्।

Tata
GBIME
Nepal Life

नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति घट्न थालेपछि सवारी साधनसहित केही वस्तुहरुको आयातमा कडाइ गरेको छ। पेट्रोलियम गाडीको आयातका लागि एलसी (प्रतितपत्र) खोल्दा ५० प्रतिशत पुँजी ऋणीले ब्यवस्था गर्नु पर्ने नीति ल्याएको छ। बाँकी ५० प्रतिशत मात्र बैंकबाट ऋण लिन पाइन्छ। पुसअघि मार्जिन नै नराखी सबै पैसा बैंकबाट लिएर एलसी खोल्न मिल्थ्यो।

विद्युतीय गाडीमा अहिले पनि मार्जिन राख्नु पर्दैन। यो ब्यवस्थाका कारण विद्युतीय सवारीको आयात बढेको हो। पेट्रोलियम गाडीको आयातमा ठूलो गिरावट नदेखिएपनि कमी भने आएको छ।

मंसिरसम्म हजारदेखि १५ सय सीसीभन्दा कमको ५३७३, हजार सीसीसम्मको २१२३ र १५०० देखि २५ सय सीसीसम्मको ४८९ वटा आयात भएका थिए। यो पेट्रोलियम गाडीको तथ्यांक हो। पुससम्म आइपुग्दा एक हजारदेखि १५ सय सीसीसम्म ६ हजार ९८ वटा गाडी आयात भएको छ। १५ सय सीसीसम्मको गाडी ७ सय १८ वटा आयात भएको छ। १ हजार सीसीसम्मको गाडी २३ सय ३९ वटा आयात भएको छ।

बैंकिङ प्रणालीमा अहिले तरलता अभाव छ। अभावसँगै ऋण लगानीमा बैंककरु ‘चुजी’ भएका छन्। घरजग्गा र गाडी किन्न सजिलै ऋण पाइँदैन। आयातमा पनि कडाइ छ। अर्कोतर्फ विद्युतीय गाडी आयातमा राज्यले सहजीकरण गरेको छ। यही कारण विद्युतीय गाडी आयात बढ्दै गएको हो।

भन्सार विभागका अनुसार, चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा विभिन्न क्षमताका ११०३ वटा अर्थात ३ अर्ब मूल्य बराबरको विद्युतीय सवारी कार, जीप र भ्यान नेपाल भित्रिएको छ।

५ महिनामा विद्युतीय कार, जीप र भ्यान गरी ९१३ वटा आयात भएको छ। पछिल्लो ३ महिनाको भन्सार तथ्यांक हेर्ने हो भने ६५६ विद्युतीय कार, जीप र भ्यानको आयात भएको छ। यो तथ्यांक साउनदेखि असोजसम्म ३ महिनाको अन्तरालमा आयात भएको भन्दा धेरै हो। त्यो तीन महिनाको अवधिमा जम्मा ४४६ वटा विद्युतीय कार, जीप र भ्यानको आयात भएको थियो।

नेपालमा छिमेकी मुलुक चीन, भारत लगायतका अमेरिका, फ्रान्स, कोरिया र जापान देशबाट विद्युतीय गाडी आयात हुने गरेको छ।

पछिल्लो समय व्यवसायीले विद्युतीय सवारीलाई बढी प्रथामिकतामा राखेर बिक्री गर्न थालेको हुण्डाईको नेपालको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका उपमहाप्रबन्धक दीपक थपलियाले बताए।

‘अब इन्धन गाडी ल्याउनका लागि एलसी अर्थात प्रतितपत्र खोल्न ५० प्रतिशत नगद जम्मा गर्नुपर्छ,’ उनले भने, ‘तर विद्युतीय गाडी आयात गर्न १० प्रतिशत मात्र नगद जम्मा गरे पुग्छ।’ बैंकहरुले १० प्रतिशत मार्जिन नमाग्न पनि सक्छन्।

अहिले विद्युतीय गाडीमा चासो राख्नेको संख्या बढ्न थालेको उनले बताए। ‘विद्युतीय गाडी बिक्री गर्न पनि सजिलो छ,’ उनले भने, ‘अपरेटिङ कस्ट शून्य जस्तै छ। ट्याक्स १० प्रतिशत मात्र गरेको छ। इन्धन गाडीमा भने २ सय ४० प्रतिशतसम्म कर छ।’

थपलियाका अनुसार इन्धनको मूल्य तीब्रगतिमा बढ्दै गएको कारण पनि विद्युतीय सवारीमा ग्राहकको आर्कषण बढेको हो। ‘एडभान्स बुकिङ गरेका गाडीहरु पनि आयात हुने क्रम रहेको छ। यसले गर्दा विद्युतीय सवारीको आयात बढेको हो,’ उनले भने।

चीनको हिस्सा ७० प्रतिशत

सबैभन्दा धेरै चिनियाँ ब्राण्डका गाडीहरु आयात भएका छन्। पुससम्ममा सबैभन्दा बढी चीनबाट ७३४, भारतबाट २६३, कोरिया ६२, जापान २८, अमेरिका १५ र फ्रान्सबाट १ गरी कुल ११०३ वटा विद्युतीय सवारी कार, जीप र भ्यान आयात भएको छ।

यो तथ्यांकलाई हेर्दा चीनले मात्र विद्युतीय सवारी नेपाल आयात गर्नेमा झण्डै ७० प्रतिशत हिस्सा ओगटेको छ।

पुस मसान्तसम्ममा चिनबाट २ अर्ब १८ करोड १५ लाख ७५ हजार रुपैयाँ बराबरको आयात भएको छ। त्यस्तै, अर्को भारतबाट ६५ करोड ९६ लाख ४९ हजार रुपैयाँ बराबरको आयात भएको छ।

चालु आवको पुससम्मको भन्सार तथ्यांक हेर्दा विद्युतीय सवारी कार, जीप र भ्यान मात्र ३ अर्ब २४ करोड ३२ लाख रुपैयाँ बराबरको आयात भएको छ। त्यसको भन्सार महशुल मात्र ९० करोड ५१ लाख ९७ हजार रुपैयाँ उठेको छ।