गाडी आयात बढ्दा मोटरसाइकल घट्यो, इन्धनको भाउ महँगिदा बढ्यो आयातको ग्राफ 

बिजमाण्डू
२०७८ माघ ९ गते १६:४१ | Jan 23, 2022

काठमाडौं। चालु वर्षको ६ महिनामा करिब १० खर्बको आयात भएको छ। आयात धेरै हुने वस्तुमा इन्धन, गाडी, मोटरसाइकल, सुन र फलाम इत्यादि छन्।

Tata
GBIME
Nepal Life

अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ बढ्दा त्यसको सिधा असर आयातमा देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा क्रुड तेलको मूल्य प्रति ब्यारल ८५ देखि ८८ अमेरिकन ‍डलर छ। ६ महिनामा डिजल-पेट्रोल र ग्यासमा १ खर्ब २० अर्बभन्दा बढी रकम बाहिरिइसकेको छ। गतवर्ष यो अवधिमा ५९ अर्ब ९२ करोडको मात्रै आयात भएको थियो। 

इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढ्दा आयातको ग्राफ बढेको देखिएको छ। चालु वर्षको ६ महिनामा डिजेल ८ लाख ३० हजार २ सय ७३ किलोलिटर आयात भएको छ। यसको मूल्य भारतीय बजारमा मूल्य ६१ अर्ब ४७ करोड पर्छ। यसबाट राजस्व २८ अर्ब २५ करोड संकलन भएको छ। गतवर्ष डिजल ७ लाख ५३ हजार २०१ किलोलिटर आयात भएको थियो । यसको मूल्य भारतीय बजारमा ३२ अर्ब ९३ करोड थियो। 

यस्तै पेट्रोल ३ लाख ७१ हजार ८ सय २० किलोलिटर आयात भएको छ। यसका लागि आयल निगमले २९ अर्ब २७ करोड तिरेको छ। भन्सार  महसुल १८ अर्ब ७८ करोड संकलन भएको छ। गतवर्ष पेट्रोल २ लाख ८४ हजार ७९ किलोलिटर आयात भएको छ। यसको भारतीय बजारमा मूल्य १२ अर्ब ९६ करोड थियो । राजस्व १३ अर्ब १३ करोड संकलन भएको छ। यसैगरी एलपी ग्यास २९ अर्ब  २३ करोड मूल्य बराबरको आयात भएको छ।  

यस्ता छन् धेरै आयात हुने वस्तु 
चालु वर्षको ६ महिनामा गाडी आयात बढेको छ। गत वर्षको तुलनामा सवारी साधनको आयात बढेको हो। चालु वर्षको ६ महिनामा १ हजारदेखि १५ सय सीसीसम्म ६ हजार ९८ वटा सवारी आयात भएको छ। यसको मूल्य  भारतीय बजारमा ५ अर्ब ७९ करोड नेपाली व्यवसायीले तिरेका छन्। जसबाट सरकारलाई राजस्व १३ अर्ब ३९ करोड संकलन भएको छ। गतवर्ष यो शीर्षकमा ४६ सय २९ वटा आयात भएको थियो। 

यस्तै १५ सय सीसीसम्मको डिजेल सवारी ७ सय १८ वटा आयात भएको छ। यसको मूल्य भारतीय बजारमा ७६ करोड ६२ लाख छ। जसबाट राजस्व १ अर्ब ६८ करोड संकलन भएको छ। सामान बोक्ने पिकअप भ्यान १५ सय २८ आयात भएको छ। गतवर्ष पिकअप भ्यान ९ सय ८७ वटा आयात भएको थियो।  

१ हजार सीसीसम्मको सवारी २३ सय ३९ वटा आयात भएको छ। गतवर्ष यो शीर्षकमा ११ सय ५४ वटा मात्रै सवारी आयात भएको थियो। 

यसैगरी मोटरसाइकल आयात भने गतवर्ष भन्दा कम आएको छ। सरकारले चालु वर्षको बजेटमा मोटरसाइकलको पार्टपुर्जा नेपालमै ल्याई निर्माण गर्ने उद्योगलाई अन्तःशुल्कमा छुट दिएको थियो। यसेले तयारी मोटरसाइकल ल्याउने भन्दा एसेम्बल्डको लागि पाटपुर्जा ल्याउने क्रम बढेको छ। चालु वर्षमा ५० देखि २ सय ५० सीसीसम्मको मोटरसाइकल ८० हजार १ सय ५० वटा आयात भएको छ।  

गतवर्ष यो शीर्षकमा ९१ हजार ८० वटा आयात भएको थियो। फरक भन्सार शीर्षकमा मोटरसाइकल २७ हजार ३ सय ३७ वटा आयात भएको छ। गत वर्ष यो संख्या ४८ हजार २ सय वटा थियो।

चालु वर्ष फलामको कच्चा पदार्थ ३६ करोड ९६ लाख ८० हजार किलो आयात भएको छ। यसको मूल्य अन्तर्राष्ट्रिय बजारमा २९ अर्ब २३ करोड छ। जसबाट राजस्व ५ अर्ब ४७ करोड संकलन भएको छ। गतवर्ष यो शीर्षकमा ५४ करोड ६८ लाख किलो आयात भएको छ।

यो अवधिमा सुन मात्रै १६ अर्ब ४७ करोड मूल्य बराबरको २३ सय ७७ किलो आयात भएको छ। आयात युनाइटेड अरब इमिरेट्सबाट भएको हो।