सेजको जग्गा प्रति वर्गमिटर १० रुपैयाँमै पाइने, मासिक ७० हजार भाडा तिरेर डेढ बिघा जग्गा पाइने

बिजमाण्डू
२०७८ माघ १० गते ११:२२ | Jan 24, 2022
सेजको जग्गा प्रति वर्गमिटर १० रुपैयाँमै पाइने, मासिक ७० हजार भाडा तिरेर डेढ बिघा जग्गा पाइने

वीरगंज। विशेष आर्थिक क्षेत्र (स्पेशल इकोनोमिक जोन) सिमरामा लगानीकर्ता तान्न सरकारी पक्षले जग्गाको भाडा दर घटाउने भएको छ। विशेष आर्थिक क्षेत्र प्राधिकरणले अब १० रुपैयाँ प्रति वर्गमिटरमै सेजमा जग्गा उपलब्ध गराउने भएको हो।

Tata
GBIME
Nepal Life

अहिले प्राधिकरणले २० रुपैयाँ प्रति वर्गमिटरमा जग्गा दिने गरेको छ। भाडा महँगो भएकाले उद्योगी सेजमा गएका छैनन्। प्राधिकरणका महानिर्देशक डा. चण्डिकाप्रसाद भट्टले एक साताभित्रै करिब १० रुपैयाँ प्रति वर्गमिटरमा जग्गा भाडामा दिने निर्णय हुने जानकारी दिए।

उनका अनुसार उद्योग मन्त्रालयमा फाइल पेश भइसकेको र स्वीकृत भएपछि सूचना निकालिनेछ। यो संशोधन भएमा ७० हजार मासिक भाडा तिरेर लगानीकर्ताले सेजमा डेढ बिघा जग्गामा उद्योग लगाउन सकिनेछ।

भट्टले सेजमा स्थापना हुने उद्योगले ६० प्रतिशत उत्पादन विदेश निर्यात र ४० प्रतिशत स्वदेशमा उत्पादन खपत गर्ने व्यवस्था पनि संशोधन गर्न लागिएको बताए। उनका अनुसार कुनै उद्योगले ६० प्रतिशत समान विदेश निर्यात गर्न नसके केही जरिवाना तिरेर उद्योग संचालन गर्न पाउने व्यवस्था गरिनेछ।

तत्कालिन वीरगंज चिनी कारखानाको सरकारी स्वामित्वको जीतपुर सिमराको वडा नं ४,१४ र १५ मा रहेको ८३३ बिघा क्षेत्रफलमा २०७३ सालमा विशेष आर्थिक क्षेत्र प्राधिकरण गठन गरी सिमरा सेजको काम अघि बढेको थियो।

त्यसबेला पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सेजको अवधारणाबाट देश उद्योग स्थापना गरी निर्यात बढाएर व्यापार घाटा कम गराउन र स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने अपेक्षा राखेका थिए। तर सरकारी नीतिकै कारण उद्योगी व्यवसायी उद्योग लगाउन चासो दिएका थिएनन्।

करिब अढाई अर्ब खर्च गरी भौतिक पूर्वाधार विकास गरिएको सिमरा सेजमा ए, बी, सी, डी र इ गरी ५ वटा ब्लक छन्। जसमा 'ए' ब्लक ३४३ बिघामा, 'बी' १२८ बिघा, 'सी' साढे ४९ बिघामा, 'डी' १७८.५ बिघामा र 'इ' १३३ बिघामा फैलिएको छ। हाल मात्र 'ए' ब्लकको १६० बिघा जग्गा उद्योग लगाउने तयारी अवस्थामा रहेको छ।

डेढ बिघाको ६८ वटा प्लट तयारी अवस्थामा रहेको सिमरा सेजका सहायक इन्जिनियर आनन्द भट्टले बताए। ६३४५ वर्गमिटरदेखि १२२८१ वर्गमिटर सम्मको प्लटहरु छन्। उनका अनुसार अहिले 'बी' देखि 'इ' ब्लकसम्म पर्खाल लगाउने काम भइरहेको छ भने 'ए' ब्लकमा मात्र उद्योग लगाउनका लागि भौतिक पूर्वाधार निर्माण कार्य पुरा भएको छ।

उनले एक ब्लकमा प्रशासनिक भवन, बैंक, इन्स्योरेन्स, आवश्यकता अनुसारको चार लेन र दुई लेनको सडकहरु, सडक नाला, वाटर ट्रिटमेन्ट प्लान्ट, डे-केयर कक्ष, पोस्ट, पोलिक्लिनिक, भन्सार कक्ष, खानेपानी, शौचालय लगायतको सुविधाका लागि पूर्वाधार निर्माण भइसकेको छ।

'ए' ब्लकलाई अहिले सिमरा गार्मेन्ट प्रशोधन क्षेत्र(जीपीजेड आर्थात गार्मेन्ट प्रोसेसिङ जोन)को लागि घोषणा गरिएको छ।