गौतमबुद्धको फ्लाइट क्यालिब्रेसनका लागि आइपुग्यो एरो थाइ, मंगलबारदेखि ग्राउण्ड चेक गर्ने

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७८ माघ १० गते १८:२२ | Jan 24, 2022
गौतमबुद्धको फ्लाइट क्यालिब्रेसनका लागि आइपुग्यो एरो थाइ, मंगलबारदेखि ग्राउण्ड चेक गर्ने

काठमाडौं। भैरहवामा तयार क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको फ्लाइट क्यालिब्रेसनका लागि एरो थाइको प्राविधिक टोली नेपाल आइपुगेको छ।

Tata
GBIME
Nepal Life

चार प्राविधिकको टोलीले मंगलबादेखि ग्राउण्ड चेक गर्ने योजना रहेको नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले बताए।

भैरहवामा विमानस्थल तयार भए पनि हवाई उडान परीक्षण नभएकाले प्रयोगमा आएको छैन। ठाकुरका अनुसार काठमाडौं आइपुगेको थाइ प्राविधिक टोली सोमबार भैरहवा जाँदैछ। विमानस्थल परिसरमा जडान गरिएको उपकरण जडान अवस्था निरीक्षणका लागि यो टोली आइतबार काठमाडौं आइपुगेको हो। 

दुई सातामा थाइ टोलीले निरीक्षण सकेलगत्तै फ्लाइट क्यालिब्रेसन सुरु गरिहाल्ने योजना छ। 'गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा ल्याउन तालिका तयार भइसकेको छ,' उनले भने, 'प्राधिकरण विशेष तालिका बनाएर अगाडि बढेको छ। फ्लाइट क्यालिब्रेसनको रिपोर्टका आधारमा नेपाल वायुसेवा निगमको जहाजमार्फत परीक्षण उडान गरिनेछ।'

उनका अनुसार त्यसपछि भने विभिन्न अन्तर्राष्ट्रिय मुलुकसँगको छलफल अनुसार उडान अनुमति दिइनेछ। तर यो विमानस्थलबाटै आन्तरिक उडान गर्ने विषयमा छलफल भइरहेको पनि उनले बताए। उनका अनुसार परीक्षण उडान सफल भएलगत्तै ५६ दिन अगाडि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका लागि सूचना जारी गरिनेछ।

प्राधिकरणले एरोस्पेस, रुट डिजाइन, फ्लाइट प्रोसिड्योर सबै तयार गरिसकेको उनले जानकारी दिए। ग्राउण्ड चेकका लागि पनि आएको टोलीले प्राधिकरणका प्राविधिक जनशक्तिलाई विशेष उपकरणबारे पनि तालिम दिने योजना रहेको आइसीबी जेरो टुका प्रोजेक्ट मेनेजर प्रवीण न्यौपानेले बताए। 'ग्राउण्ड चेकपछि फ्लाइट चेक हुने हो। यसका लागि जनशक्तिलाई तालिम पनि दिनुपर्‍यो। सबै चेकलिस्ट तयार भइसकेको छ। जडान हुने सबै उपकरणको परीक्षण हुनेछ,' उनले भने।

उनका अनुसार यस अन्तर्गत इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम 'आइएलएस', भीओआर डीएमइ लगायत सम्बन्धी तालिम हुनेछ। यसअघि अमेरिकी टोली आएर मेट्रोलोजी ट्रेनिङ दिइसकेको छ। अबको एक महिनाभित्रै विमानस्थल सञ्चालन योग्यको तयारी पुरा हुने न्यौपानेले बताए।

सीएनएसको तालिम दिइँदै

आइसीबी जेरो टु अन्तर्गत सीएनएस (कम्युनिकेशन एण्ड नेभिगेसन सिस्टम)का लागि धमाधम तालिम भइरहेको छ। यसका लागि एक साता अघि अष्ट्रियन टोलीले प्राधिकरणका १२ जना प्राविधिकलाई तालिम दिइरहेको न्यौपानेले बताए।

हाल यो विमानस्थलमा प्राधिकरणबाट ३४ जना कर्मचारी परिचालन भएका छन्। एक सय ५१ दरबन्दी पूर्ति गर्नैपर्ने अवस्था छ। यो विमानस्थलको जिम्मेवारीका लागि सरकारले प्राधिकरणका १२ औं तहका कर्मचारी गोविन्दप्रसाद दाहाललाई नियुक्त गरिसकेको छ।

विमानस्थल निर्माणको काम ९८ प्रतिशत सकिए पनि क्यालिब्रेसन फ्लाइट नहुँदा अरु प्रक्रिया अगाडि बढ्न सकेको छैन। विमानस्थलको पहिलो चरणको धावनमार्ग, टर्मिनल र टावर निर्माणका लागि ६ अर्ब ७२ करोड रुपैयाँ लागेको थियो। यो विमानस्थल निर्माणका लागि एडीबीले ४०.५ प्रतिशत ऋण र १८ प्रतिशत अनुदान दिएको छ।