सेयर बजारमा ८ अर्ब ८८ करोडको किनबेच, उकालो लागेको बजारमा पहिरो, आन्तरिक ऋणको इफेक्ट नेगेटिभ

बिजमाण्डू
२०७८ माघ १० गते १५:४१ | Jan 24, 2022
सेयर बजारमा ८ अर्ब ८८ करोडको किनबेच, उकालो लागेको बजारमा पहिरो, आन्तरिक ऋणको इफेक्ट नेगेटिभ


काठमाडौं। साताको दोस्रो कारोबार दिन सेयर बजारमा तेहोरो अंकको पहिरो गएको छ। २९२६.१२ को विन्दुको सुरुवात गरेको नेप्से १००.१० अंकले घटेर २८२०.४१ मा सीमित छ। 

Tata
GBIME
Nepal Life

पुसमा १ खर्ब ६ अर्ब रुपैयाँको पुनार्कर्जा स्वीकृत हुँदा पनि कायम तरलता अभाव, त्यसमाथि आगामी दिनमा सरकारले एक खर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी लगायतका सूचनाले बजारमा नकारात्मक प्रभाव देखिएको छ।

लगानीकर्ता 'पर्ख र हेर'को अवस्थामा रहेका बेला बजार प्रतिरोधी समाचारले तीन सातादेखि निरन्तर उकालो लागेको धितोपत्र बजारमा ब्रेक लागेको बुझ्न सकिन्छ। तरलता अभावले आगामी दिनमा ब्याज वृद्धिको प्रक्षेपण गर्दै लगानीकर्ताले समयमा नै नाफा सुरक्षित गर्न थालेका हुन्। अत्यधिक आपूर्ति सृजना हुँदा बजारमा पहिरो गएको हो।  

नेप्से ३.४३ प्रतिशत घट्दा कर्णाली डेभलपमेन्ट बैंक लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। कम्पनीको मूल्य ७.८२  प्रतिशतले घटेको छ। माउन्टेन हाइड्रो नेपाल, आशा लघुवित्त र ओरियन्टल्स् होटल पनि सोमबार ७ प्रतिशत अधिकले घटेका छन्। 

साताको दोस्रो कारोबार दिन अधिकांश उपसूचक नेप्से अनुरुप तीव्रताका साथ ऒरालो लागेका छन्। पछिल्लो साता विशेष तेजी देखिएको विकास बैंक, वित्त र जलविद्युत उपसूचक ४ प्रतिशत अधिकले घटेका छन्। अन्य उपसूचकमा पनि यस दिन फराकिलो अन्तरको गिरावट आएको छ। 

बजारविपरीत ट्रेण्डतर्फ लम्किदै गर्दा पछिल्लो सातादेखि आर्जन गरेको मुनाफा लगानीकर्ताले बुक गर्न थालेका छन्। सोमबार ८ अर्ब ८८ करोड ८५ लाख रुपैयाँको एक करोड ७० लाख ६३ हजार ८३३ कित्ता सेयर खरिदबिक्री भएको छ। 

कारोबारका आधारमा अपि पावर शीर्ष स्थानमा छ। अपिको ३८ करोड ३४ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, लाभांश वितरणमा रोक लागेको एनआइसी एसिया बैंकको ३६ करोड ७६ लाख रुपैयाँको सेयर किन बेच भएको छ भने कम्पनीको मूल्य करिब ४.०८ प्रतिशतले ओरालो लागेको छ। अरुण भ्यालीको ३० करोड रुपैयाँको कारोबार हुँदा अपर तामाकोशीको २० करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ। नेपाल टेलिकम पनि यस दिन १९ करोड रुपैयाँको सेयर किनबेच भएको छ। 

बजार भारी अंकका साथ घट्दा जम्मा ६ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन्। सोमबार विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावर सर्किट लेभलमा कारोबार भएका छन्। यस्तै, ज्योति लाइफ र गुर्खाज फाइनान्सका लगानीकर्ताले डेढ प्रतिशत अधिकका दरले कमाउँदा  जनउत्थान सामुदायिक र सानिमा जनरल इन्स्योरेन्स पनि सामान्य अंकले बढेका छन्।