जापानी स्ट्रिट फेस्टिभल अनुभूत गराउने ‘माचुरी टोक्यो,’ जहाँ पाइन्छ जापानी परिकार थरी थरीका

शुक्र गिरी/बिजमाण्डू
२०७९ बैशाख २३ गते १५:३९ | May 6, 2022
जापानी स्ट्रिट फेस्टिभल अनुभूत गराउने ‘माचुरी टोक्यो,’ जहाँ पाइन्छ जापानी परिकार थरी थरीका

काठमाडौं। सप्ताहान्तमा रेष्टुरेन्टहरु जाने र नयाँ खाना एक्सप्लोर गर्ने परिपाटी अचेल बढेको छ। साथीभाइ र परिवारसँग विकेन्ड सेलिब्रेट गर्ने यो चाहनामा राम्रो विकल्प हुन सक्छ राजधानीको दरबारमार्गमा रहेको माचुरी टोक्यो।

Tata
GBIME
Nepal Life

माचुरी टोक्यो अथेन्टिक जापनिज् परिकार पस्किने रेष्टुरेन्ट हो। नारायणहिटी प्यालेस म्युजियम अगाडिको दरबार वान मलमा छ यो रेस्टुरेन्ट।

रोडमा हिँड्दा हिँड्दै पनि यो रेष्टुरेन्टको एम्बियन्स, सेफहरुले खाना बनाइरहेको, सिटिङ एरेन्जमेन्ट लगायतका सम्पूर्ण गतिविधिहरु देख्न सकिन्छ। यसले पनि नयाँ नयाँ परिकारहरु एक्सप्लोर गर्न रुचाउने उपभोक्तालाई उक्त रेष्टुरेन्टबारे जिज्ञासा जगाउँछ। यही कारण जापानी रेस्टुरेन्ट नै खोजेर पुग्नेबाहेक थुप्रै वाकिङ कष्टुमर समेत यसले आकार्षित गरिरहेको छ।

सञ्चालक प्रकाश घिमिरे उत्साहित छन्। भन्छन्, 'रोडमा हिँड्दा हिँड्दै रेष्टुरेन्टको एम्बियन्स, सेफहरुले खाना बनाइरहेको, सिटिङ एरेन्जमेन्टहरु लगायतका सम्पूर्ण कुराहरु देखेर आउने वाकिङ कस्टमर थुप्रै हुने गरेका छन्।'

इन्जिनियरिङ अध्ययन गरेका झापाका घिमिरेले यो जापानी रेष्टुरेन्ट संचालनमा ल्याएका हुन्। 'मटसुरीको अर्थ फेस्टिभल अर्थात् नेपालीमा उत्सव हो। यो  हाम्रो ठाउँ पनि ओपन स्पेस छ। यो फेस्टिभल जापानमा ओपन स्पेसमा हुन्छ। स्ट्रिट फेस्टिभल जस्तै,' उनले भने, 'त्यही कन्सेप्टलाई नेपालमा पनि ल्याउने प्रयास गरेको हुँ।'

जापानमा नेपाली खानाको परिकारको प्रचार गरेका घिमिरे अहिले यहाँ जापानको फुड कल्चरलाई विस्तार गर्न लागेका बताउँछन्। जापानबाट नेपाल आउने पर्यटकसहित नेपालीलाई समेत लक्षित गरेर जापानमा लोकप्रिय परिकारको स्वादलाई नेपालमा पस्किन रेष्टुरेन्ट सञ्चालनमा ल्याएको उनले बताए।

यसैले जापानी परिकारको स्वाद लिन चाहनेहरुका लागि यो रेस्टुरेन्ट राम्रो गन्तव्य हुने उनको दाबी छ। आफ्नो अनुभवलाई राम्रो जापानी शैलीको वातावरण दिएर खोलिएको रस्टुरेन्टले स्वदेशी तथा विदेशी ग्राहकहरुको मन जित्नेमा आफूहरू ढुक्क भएको पनि उनी बताउँछन्।

खासगरी जापानी परिकार खान आउने ग्राहकहरुले धेरै खानाका बारेमा सोध्ने गरेको र उनीहरुको चासो अनुसार सबै खानाबारे बुझाउने गरेको घिमिरेको भनाइ छ।

यो रेष्टुरेन्टमा टेबल, ध्वजाहरु, ड्रेस लगायतका सम्पूर्ण जापानी शैलीकै राखिएको छ। यसको सजावट पनि जापानको स्ट्रिट फेस्टिभलको जस्तै गरी गरिएको छ। सबै लाइटहरु जापानी शैलीकै हालिएको छ। सजावटका काठबाट तयार पारिएको छ।

घिमिरेले २५ वर्षदेखि जापानमा नेपाली परिकारहरुलाई एक्सप्लोर गर्दै आएका हुन्। त्यही सिलसिलामा अहिले जापानी परिकारलाई नेपालमा पनि एक्सप्लोर गर्ने सोचका साथ त्यसको पहिलो कदमस्‍वरुप यो रेष्टुरेन्ट स‌ंचालनमा ल्याएको उनले बताए। 

हाल जापानमा नेपाली परिकार मन पराउने ग्राहकको आकर्षण बढेसँगै नेपालमा पनि जापानी खानाहरु मन पराउनेहरु क्रमशः थपिँदै गएको छ। यही कारण जापानी परिकारलाई नेपालमा र नेपाली परिकारलाई जापानमा, दुवै सँगसँगै प्रवर्द्धन गर्ने सोचका साथ अघि बढेको घिमिरेले बताए।

कोरोनाकालमै सुरु भएको यस रेष्टुरेन्टमा राखिएका परिकारहरु पनि जापानका स्ट्रिट वा फेस्टिभलहरुमा पाइने किसिमका छन्। फेस्टिभलहरुमा पाइने जस्तै खानेकुराहरुको मेनुलाई फोकस गरिएकाले सिटिङ एरेन्जमेन्ट पनि त्यस्तै किसिमले गरिएको छ।

मुख्य विशेषता अथेन्टिक जापानी फुड र मदिरा
जापानी शब्द 'माचुरी' जोडिएकाले यसलाई सम्झिएर जोकोही आउँदा यस रेष्टुरेन्टमा अथेन्टिक जापानी फुड सर्भ गर्न सक्ने प्रयासमा लागिपरेको घिमिरे बताउँछन्।

'हामीसँग अरु जापानी रेष्टुरेन्टमा नभएका परिकार पनि छन्। धेरैजसो जापानी फेस्टिभलहरुमा नै पाइने परिकारहरु छन्,' उनले भने, 'माचुरीका शुशी, ताको याकि, तेरीयाकी लगायतका फुडहरु ग्राहकले स्वादिष्ट मानेका छन्।' 

ताको याकीमा अक्टोपसभित्र राखिएको मोमो जस्तै परिकार हुन्छ। जापानको स्ट्रिट फेस्टिभलमा लोकप्रिय यो परिकार फाष्टफुडकै रुपमा छ, जुन तात्तातो नै खाने गरिन्छ। यो परिकार बनाउने भाँडाहरु समेत जापानबाटै ल्याइएको घिमिरेले बताउँछन्।

यसैगरी, साबा-बेन्तो-बक्स नेपालीहरुले निकै रुचाएको यस रेष्टुरेन्टमा पाइने जापानी परिकार हो। जापनिज राइस, स्यालेड, जापनिज अम्लेट, तेरीयाकी (चिकेन वा पोर्क), मिसोसुप लगायातका इन्ग्रिडियन्ट समावेश गरिएको एउटा पर्फेक्ट फुडको बक्स हो यो।                                                                      माचुरीमा पाइने ‘याकीतोरी’ परिकार जापानी शैलीको बार्बिक्यु (सेकुवा) हो। यसमा तेरीयाकी सस राखिने हुँदा यो हलुका गुलियो स्वादमा हुन्छ। तर बार्बिक्युकै रुपमा यसलाई खान सकिन्छ। बार्बिक्यु रुचाउनेका लागि यो स्वादिलो खाना हुन सक्ने घिमिरे बताउँछन्।  

याकितोरी सानो सानो आकारमा काटिएको कुखुराको मासुलाई सिन्कामा उनेर तयार गरिन्छ। यो शियो (नुन) वा तारे (सस) दुई किसिमले सर्भ हुन्छ। गजबको कुरा के छ भने याकितोरी भिन्नभिन्न प्रकारको हुन्छ भने हरेक प्रकारमा कुखुराको एउटै भागको मात्र मासु प्रयोग गरिन्छ। त्यसैले याकितोरीलाई बेग्लै बेग्लै नाम दिइएको हुन्छ। जस्तैः मोमो (चिकेन थाइ), सेसेरी (घाँटीको मासु), बोनजिरी (पछाडिको भाग/पिँधको मासु), नानकोचु (कुरकुरे हाड), रेबा (कलेजो), हाचु (मुटु), खावा (छाला), सुनागिमो (पांग्रा) इत्यादि।

यस रेष्टुरेन्टमा भएको अर्को परिकारमा 'टानटानमेन पोर्क रामेन' लाई फुडी नर्डीले समेत ५ मा ४ रेटिङ दिएको छ। यसमा सबै कुरा मिक्स गरेर बनाइएको सुपमा जापानी नुडल्स हालिएको हुन्छ। 

रामेनमा मिट आइटमको स्लाइस, बाँसको टुसा, उमालेको अण्डा, मशरुम, हरियो प्याज, कमलको जरा, तोफु इत्यादिका साथै गहुँको नुडल राखिएको हुन्छ। यसमा चिनियाँ शैलीमा बनाइएको चाउचाउलाई मासु वा माछाको झोलमा पस्किने गरिन्छ। साथै, बंगुरका तासिएका मासु, समुद्री लेउ, मेनमा र हरियो प्याज पनि खानाको माथिपट्टि राखेर  सजाइन्छ। ठाउँअनुसार रामेन तयार पार्ने शैली फरक पर्ने रेष्टुरेन्टका सेफ साइँला तामाङले बताए।

उनका अनुसार विशेषगरी पोर्क मन पराउने र रामेनको स्वाद थाहा पाएकाहरुले यसलाई पहिलो प्रथामिकता दिन्छन्। 'यसलाई बिरामी भएको बेला खायो भने पनि शरीरलाई आरामदायी महसुस गराउँछ भन्ने जापानीहरुको भनाइ छ,' उनले भने, 'जसलाई नुडल्सको सुपहरु खान मन पर्छ उनीहरुका लागि यो बेस्ट फुड हुन सक्छ।'

'ताकोयाकी' यस जापानी रेस्टुरेन्टको अर्को मेन्यु हो। 'ताको' को अर्थ अक्टोपस भएकाले सोहीअनुसार यसको नाम राखिएको बताइन्छ। यस परिकारलाई पिठोको ब्याटरमा अक्टोपसको मासुको टुक्रा राखेर बनाइन्छ। स्वादिलो यस परिकारलाई सा-सानो खाल्टो परेको भाडोमा ब्याटर हालेर चलाइ चलाइ गोलो आकार दिएर तयार पारिन्छ। यो मायोनेज, ताकोयाकी सस र बोनितो फ्लेकको टपिंग राखेर सर्भ हुन्छ।

नयाँ नयाँ परिकार एक्सप्लोर गर्न खोज्नेका लागि यो जापानी परिकार पनि एउटा गजबको विकल्प हुन सक्छ।

माचुरीमा पाइने अर्को जापानी परिकार याकितोन पनि हो। यो पोलेको पोर्कको परिकार हो। यसलाई बुताकुशी पनि भनिन्छ। पोर्कको विभिन्न भागको मासुबाट यो बनाइने भएकाले याकितोन पनि थुप्रै प्रकारमा पाइने घिमिरे बताउँछन्। उनका अनुसार कारुबी, कासिरा र हारामी प्राय: नेपालीलाई मनपर्ने बुताकुशिका केही प्रकार हुन्।

यसले आमरुपमा बुताकुशी शियो भन्दा बढी तारेसँग खान मानिसहरु मन पराउँछन्। तर नेपालीले भने विस्तारै बुताकुशी शियो पनि मन पराउन थालेको मटसुरीका सेफ तामाङले बताए। 

यस्तै, यस रेस्टुरेन्टमा आउने नेपालीले सर्वाधिक रुचाउने परिकारमध्ये शुशी पनि हो। यहाँ थुप्रै किसिमका शुशीहरु पाइन्छन्। तीमध्ये सालमन्ड शुशी यस रेष्टुरेन्टमा आउने धेरै नेपालीको रोजाइमा परेको सेफ तामाङ बताउँछन्। यस्तै, तोफुको परिकार पनि एकदम रुचाइएको जापानी खाना भएको उनको भनाइ छ।

जापानी मदिरा रुचाउने वा एक्सप्‍लोर गर्न चाहनेका लागि पनि यो रेष्टुरेन्ट राम्रो गन्तव्य हुन सक्छ। तर खासगरी जापनी छ्याङ र वाइन नेपालीको रोजाइमा परेको भनाइ घिमेरेको छ। जापानी बियर पनि यस रेष्टुरेन्टमा पाइन्छ। यहाँ पाइने 'साके' मदिरा पनि धेरैले गज्जबको मानेका छन्, जसलाई यो रेष्टुरेन्टमा पुग्नेले टेष्ट गर्दा मन पर्न सक्छ। जस्तै सापोरो, यामाजाकि हुस्की, हिबिक हुस्की, साके लगायतका मदिराहरु पाइन्छ।

 

सेफ भन्छन् – नेपालीले मन पराउँछन् चट्ट पिरो, नुनिलो 
५५ वर्षीय साइँला तामाङ मटसुरी रेस्टुरेन्टका अनुभवी सेफ हुन्। ३२ वर्षदेखि कुकिङ पेसामा रहेका उनले दुबईमा मात्र १२ वर्ष काम गरिसकेका छन्। अरु देशहरुमा पनि काम गरेको अनुभव उनीसँग छ। 

तीन दशकभन्दा लामो अनुभवलाई आफ्नै देशमा जापानी खानाको परिकारहरु बनाएर पस्किन लागि परेको उनी बताउँछन्। 

'सकेसम्म अथेन्टिक जापानी परिकारको स्वाद नेपालीहरुलाई पस्कने मेरो प्रयास हो। तर, नेपालीलाई चट्ट पिरो र नुनिलो मन पर्ने भएकाले त्यहीअनुसारको टेष्ट पनि बनाउने प्रयास गरिरहेको छु। प्राथमिकता भने जापानिज अथेन्टिक खानालाई नै दिइरहेका छौं,' उनले भने।

खानाका लागि आवश्यक अथेन्टिक सामाग्रीहरु जापानबाटै आउने भएकाले खानाको टेष्ट पनि अथेन्टिक नै भएको उनको भनाइ छ। 'जापानबाट घुमेर वा बसेर आएका नेपालीहरुले हाम्रो खानाको स्वाद थाहा पाइहाल्नु हुन्छ,' उनले भने, 'यसैले पनि अरुको भन्दा हाम्रोमा जापानिज खानाको अथेन्टिक टेष्ट ग्राहकहरुले पाउनुहुन्छ।'

हाल रेष्टुरेन्टमा शुशी, तोफुको परिकार, नुडल्स, रामेन, जापानी मदिरा लगायतका परिकारहरु धेरै नेपालीहरुले रुचाएको तमाङ बताउँछन्।