भाटभटेनी सुपरमार्केटले एकैवर्ष गर्‍यो २० अर्ब रुपैयाँको कारोबार, केही वर्षभित्र आउनेछ आइपीओ





काठमाडौं। नेपालमा सुपरमार्केट कल्चर भित्र्याउने भाटभटेनी सुपारमार्केट तथा डिपार्टमेन्टल स्टोरले २० अर्ब रुपैयाँको कारोबार गरेको छ। कम्पनीले सन् २०२१मा १९ अर्ब ९९ करोड ७० लाख रुपैयाँ कारोबार गरेको हो।



इक्रा नेपालका अनुसार २०२० मा भाटभटेनीले १९ अर्ब ३६ करोड २० लाख रुपैयाँ कारोबार गरेको थियो। इक्राका अनुसार २०१९ मा १७ अर्ब ९९ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो भने २०१८ मा १५ अर्ब २७ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो। भाटभटेनीले २०१७ मा ११ अर्ब ७७ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो।

आक्रामक रुपमा देशका मुख्य सहरी क्षेत्रहरुमा आउटलेट विस्तारका कारण नै कम्पनीको वित्तीय अवस्था लोभलाग्दो तरिकाले बढेको विश्लेषण इक्रा नेपालको छ। भाटभटेनीको देशभर २२ वटा आउटलेट छन्।

कोरोना महामारीका कारण २०२० र २०२१ मा केही सुस्त बनेपनि औसतमा भाटभटेनीको मागदर (डिमान्ड प्रोस्पेक्टस्) वार्षिक रुपमा भने १५ देखि २० प्रतिशतले बढ्दै गएको बताइएको छ। 

कम्पनीको क्षमता विस्तारका कारण संचालन मुनाफामा वृद्धि हुनुनै भाटभटेनीको वित्तीय अवस्था बढ्नुको कारक रहेको देखिन्छ। आगामी दिनमा यसका कारण वित्तीय अवस्था थप आक्रामक हुने अनुमान गरिएको छ।     

भाटभटेनीले बहुसंख्यक प्रडक्टहरुको विकल्प दिनुका साथै सहरी क्षेत्रका ग्राहकहरुको ठूलो जमातलाई सेवा दिने भएकाले प्रतिस्पर्धी बन्न सघाउ पुगेको बताइएको छ।  

२०२१ को अन्त्यसम्म भाटभटेनीले देशभर १८ वटा आउटलेट संचालन गरिरहेको छ। थप आठवटा आउटलेट आगामी दुईदेखि तीन वर्षमा थप्ने योजनामा भाटभटेनी सुपरमार्केट छ। अहिले भाटभटेनीका २२ वटा आउटलेट संचालनमा आइसकेका छन्।

भाटभटेनी सुपरमार्केटका आउटलेटहरु काठमाडौंको भाटभटेनी मन्दिर, महारजगञ्ज, कोटेश्वर, चुच्चेपाटी, अनामनगर, बालाजु, कलंकी, त्रिपुरेश्वर, टोखामा छन्। ललितपुरको पुल्चोक कृष्ण गल्ली, सातदोबाटो र सानागाउँमा संचालित छन्।

यस्तै, भक्तपुरको थिमी, पोखराको न्यूरोड, चितवनको भरतपुरमा आउटलेट छन्। बुटवल, बिराटनगर, भैरहवा, नेपालगञ्ज, इटहरी, हेटौडा र धरानको पुतली लाइनमा भाटभटेनी आउटलेट संचालनमा छन्।

२०२२ फेब्रुअरी अन्त्यमा भाटभटेनीले थप चारवटा आउटलेट संचालनमा ल्याएको थियो। काठमाडौं, पोखरा र चितवनको सहरी क्षेत्रमा दबदबा कायम गर्न सफल भाटभटेनी पछिल्लो समय अन्य सहरी क्षेत्रहरुमा पनि सफल देखिन थालेको इक्राले उल्लेख गरेको छ। भाटभटेनीको मुख्य प्रतिस्पर्धीहरु अनौपचारिक क्षेत्रका किराना पसलदेखि स्थानीय स्टोरहरु नै हुन्। 

भाटभटेनीमा ६० प्रतिशत मीनबहादुर गुरुङ र उनकी पत्नी सावित्री घले गुरुङको ४० प्रतिशत सेयर स्वामित्व छ। भाटभटेनीले इक्रा नेपालबाट १२ अर्ब ८७ करोड रुपैयाँको कर्जाका लागि रेटिङ पाएको छ। पाँच अर्ब २५ करोड ८१ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि इक्रा नेपालले भाटभटेनीलाई एल डबलबी रेटिङ दिएको छ। 

चार अर्ब १२ करोड ७५ लाख रुपैयाँ र तीन अर्ब ४८ करोड ५० लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि एफोर रेटिङ पाएको छ। 

यसरी सुरु भएको थियो भाटभटेनी

मीनबहादुरले २०४१ सालमा उनले १० बाइ १२ फुटको भाडावाला कोठाबाट पसल सुरु गरेका थिए। जहाँ अहिले मूल भाटभटेनीको साइनबोर्ड छ। त्यहाँ पहिले राउन्डवाला घर थियो। महिनाको सात सय रुपैयाँ भाडामा त्यो घरमा पसल खुलेको थियो।

पसलका लागि सामान मीनबहादुर आफैं बटुल्थे। न्युरोडमा नेपाल बैंकको जागिर थियो, दिउँसो ब्रेक टाइममा उनी असन, इन्द्रचोक पुगेर ती सामान उठाउँथे। त्यसरी बटुलेको सामान रुकस्याकमा हालेर उनी साँझ ७ बजे बैंकको जागिर सकिएपछि भाटभटेनी ल्याइपुर्‍याउँथे।

स्थापनाको ६ वर्षपछि २०४७ साउनमा पसलको आकार बढ्यो। गुरुङले पसल एउटा सटरबाट  दुईवटा सटर बनाए। त्यही साल मंसिरमा पसलमा एक्कासी आगलागी भयो। ६ वर्षमा एकबाट दुई वटा सटर र ३५ हजारबाट ६/७ लाखकै सामान जम्मा भइसकेको थियो। त्यो एक रातमै एउटा आगोले खरानी बनायो। 

पसल भाटभटेनीमा थियो, मीनबहादुर परिवारसँग महाराजगञ्जको चप्पल कारखानापछि घर बनाएर बस्दै आएका थिए। राती पसलमा आगो लाग्यो, दुई वटा दमकल आएर त्यो निभायो। तर, उनले भोलिपल्ट बिहान ४ बजे मात्रै घरभेटीमार्फत् त्यो जानकारी पाए।

जब उनी हतारिँदै पसलमा पुगे, पसल खरानी भएको थियो। बचेखुचेका बिस्कुट चक्लेट पनि दमकलको पानीले भिझेर काम नलाग्ने भएका थिए। मीनबहादुरले हरेस खाएनन्। 

गुरुङ नेपाल बैंकमा अधिकृत भइसकेका थिए। यता परिवारमा एक छोरा, एक छोरी पनि। उनले पसल खोलेपछि जोडेको सुन फेरि बेचे, त्यतिन्जेल जम्मा भएको सञ्चय कोष निकाले, बैंकमा भएको बचत झिके, केही ऋण लिए। अनि फेरि उनले तुरुन्तै पसल सुरु गरे।

त्यसपछि आफू बस्दै आएको चप्पल कारखानापछिको घर जर्मन भोलियन्टरलाई दुई हजार रुपैयाँमा भाडामा दिए। आफूले भाटभटेनीमै एक हजार रुपैयाँ भाडा तिरेर बस्न थाले। यसबाट उनलाई हजार रुपैयाँ बचत समेत भयो।

यस बीचमा उनले चप्पल कारखानासँगै भाटभटेनीमा पनि ८० हजार रुपैयाँ लगानी गरेरे ११ आना जग्गा जोडिसकेका थिए। पछि महाराजगञ्जमा भाडामा लगाएको घरजग्गा समेत बेचेर उनले २०४८ सालमा भाटभटेनीमा थप एक रोपनी जग्गा जोडे। यतिबेलासम्म भाटभटेनीको अनौपचारिक फाउण्डेसन बनेको थियो। २०५० सालमा उनले आजको भाटभटेनीको औपचारिक फाउण्डेसन हाले।

त्यतिखेरसम्म काठमाडौंमा ब्लुबर्ड, सेन्ट्रल मल, नाङ्लो बजार जस्ता डिपार्टमेन्टल स्टोर सञ्चालनमा आइसकेका थिए। मीनबहादुरको मनमा पनि भाटभटेनी पनि त्यही खालको सुपरमार्केट होस् भन्ने थियो। मनमा उथलपुथल चलिरहेको थियो। उनले २०५० सालमा भाटभटेनीका लागि तीन हजार स्क्वायर फुटको भवन बनाए। भुइँतलामा १५ सय फुट थियो, माथि १५ सय फुट। त्यसैमा उनले सुपरमार्केट सुरु गरे। ग्राउन्ड फ्लोरमा खाद्यान्न राखे। माथिल्लो तलामा लुगा र भाडाकुँडा।

५० अर्ब कारोबारपछि आइपीओ

मीनबहादुर भाटभटेनीको कारोबार ५० अर्ब पुगेपछि सर्वसाधरणमा सेयर जारी गर्ने योजनामा छन्। अबको केही वर्षमा भाटभटेनीको कारोबार ५० अर्ब पुग्नेछ। केही समय अघि बिजमाण्डूसँगको कुराकानीमा कम्पनीको कारोबार साइजेबल भएपछि आइपिओमा जाने बताएका थिए।

‘कम्पनीको सेयर सर्वसाधरणलाई दिने हो। यो मेरो उद्देश्यभित्र छ। तर, अलि साइजेबल भएको छैन भन्ने लागेको मात्रै हो। जब हामी भाटभटेनीको कारोबार ५० अर्ब रुपैयाँमा पुर्‍याउँछौं, त्यतिबेला हामी यसलाई सेयर बजारमा सूचीकृत गर्छौं। भाटभटेनी सबैको हो। र, हामी कति पानीमा छौं जोखिन पनि सेयर बजारमा सूचीकृत गर्नुपर्छ,’ उनले जवाफ दिएका थिए।

यो पनि हेर्नुहोस् 

ब्यापारसँगै समाजसेवामा मीनबहादुर: ५० अर्बको कारोबार पुगेपछि भाटभटेनीको आइपीओ


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell