पर्यटकीय गतिविधि चलायमान भएसँगै सोल्टी होटलको नोक्सानी नाफामा परिणत, १८०% को सुधार

बिजमाण्डू
२०७९ जेठ १ गते १२:०३ | May 15, 2022
पर्यटकीय गतिविधि चलायमान भएसँगै सोल्टी होटलको नोक्सानी नाफामा परिणत, १८०% को सुधार

काठमाडौं। पर्यटन गतिविधि तथा व्यवसायिक क्रियाकलापहरु चलायमान भएसँगै सोल्टी होटलले नोक्सानीलाई नाफामा परिणत गर्न सफल भएको छ। 

Tata
GBIME
Nepal Life

पोहोर चैतमा १३ करोड ६६ लाख रुपैयाँ खुद नोक्सानी ब्योहोरेको सोल्टीले चालु आर्थिक वर्षको सोही अवधिमा आइपुग्दा १० करोड ८५ लाख रुपैयाँ नाफा कमाएको हो। नोक्सानी झन्डै १८० प्रतिशत सुधार भएको देखिन्छ। 

एयरलाइन्स इन्फ्लाइट क्याटरिङ डिभिजन, दी सोल्टी गेट गुरमेटले पनि नाफा बढाउन सहयोग गरेको छ। यो कम्पनीले जहाजमा खाना तथा वेभरेज दिने गर्छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सोल्टी होटलले कुल ७४ करोड ३८ रुपैयाँको व्यवसायिक कारोबार गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आम्दानीको आकार १४१ प्रतिशत बढ्यो। पोहोर चैतमा होटलको व्यवसायिक आम्दानी ३० करोड ८७ लाख रुपैयाँमा सीमित थियो। 

नाफा र आम्दानीसँगै सोल्टीको खर्च पनि बढेका छन्। समिक्षा अवधिमा होटलले कुल ६२ करोड ७१ लाख रुपैयाँ खर्च गरेको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा होटेलका खर्च ४४ करोड ४९ लाख रुपैयाँ खर्चका लागि छुट्याएको थियो। यस अवधिमा खर्चको आकार ४१ प्रतिशत बढेको छ।

होटलले सर्वाधिक खर्च कर्मचारीको सेवा सुविधा बापत खर्चेको छ। यो शीर्षकमा २० करोड ३२ लाख रुपैयाँ कम्पनीले छुट्याएको देखिन्छ। खाद्यान्न तथा पेय पदार्थका लागि होटलले समिक्षा अवधिमा १५ करोड ७० लाख रुपैयाँ खर्च गर्‍यो। त्यस्तै, संचालनका लागि सोल्टीले ११ करोड २२ लाख रुपैयाँ खर्च गरेको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सोल्टीसँग झन्डै डेढ अर्ब रुपैयाँ बराबरको सम्पत्ति छ। यस अवधिमा कम्पनीको चुक्ता पुँजी ८४ करोड २५ लाख रुपैयाँ र जगेडा तथा कोषहरुमा कुल ६९ करोड ८२ लाख रुपैयाँ रकम संचित छ।  

कम्पनीको प्रति सेयर आम्दानी १.२९ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १८.२९ रुपैयाँ छ।