स्थानीय तहको निर्वाचनमा मदिराको बिक्री मालामाल, सरकारको ढुकुटीमा आयो राम्रो राजस्व

बिजमाण्डू
२०७९ जेठ ३ गते १२:५८ | May 17, 2022
स्थानीय तहको निर्वाचनमा मदिराको बिक्री मालामाल, सरकारको ढुकुटीमा आयो राम्रो राजस्व

काठमाडौं। स्थानीय तहको निर्वाचनले मदिरा र चुरोटको बिक्री बढेको छ। मुलुकभित्रका मदिरा उत्पादन गर्ने कम्पनीको व्यापार उत्साहजनक देखिएको छ।

Tata
GBIME
Nepal Life

बिक्री बढ्दा त्यसको प्रत्यक्ष फाइदा सरकारलाई समेत भएको छ। मदिरा र चुरोटको बिक्री बढेका कारण सरकारले अन्त:शुल्क असुलीमा राखेको लक्ष्य समेत पार गरेको छ। वैैशाखमा ११ अर्ब ७४ करोड राजस्व संकलन गरेको छ। आन्तरिक राजस्व विभागले ११ अर्ब ६४ करोड रुपैयाँ अन्त:शुल्क संकलन गर्ने लक्ष्य राखेको थियो। 

विशेषगरी चुनावमा अधिक मात्रामा मदिराको उपभोग भएकाले राजवमा समेत सुधार आएको हो। यो वर्ष तीन ठूला राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको महाधिवेसनले समेत मदिराको खपत बढाएको थियो।

महाधिवेसन ताका मदिरा कम्पनीको स्टक नै सकिएको व्यावसायीहरुको भनाई छ। यस्तै स्थानीय चुनावमा पनि मदिराको उच्च खपत भएको अन्त:शुल्क संकलनको स्थितले देखाउँछ। यो शीर्षकमा सरकारले बैशाख सम्ममा कुल ८३ अर्ब ३० करोड राजस्व संकलन भैसकेको छ। यो गत वर्षको सोही अवधिको तुलनमा १९ प्रतिशतले वृद्धि हो। यद्यपी कुल लक्ष्यमा भने २ अर्ब ५० करोडले पछि रहेको छ। 

स्थानीय चुनाव भएको महिना आन्तरिक राजस्वको अन्य शीर्षकमा भने धेरै प्रभाव देखिएको छैन। 

सरकारले चालु वर्षको वैशाखसम्ममा ४ खर्ब २० अर्ब राजस्व संकलनको लक्ष्य लिएको थियो। तर लक्ष्य भन्दा ४३ अर्ब कम राजस्व असुली भएको छ। वैैशाखमा सरकारले चुनाव हुने भन्दै ४५ अर्ब राजस्व संकलन हुने महत्वाकाँक्षी लक्ष्य लिएको थियो। तर यो अवधिमा ३५ अर्ब २४ करोड संकलन भएको छ। जुन लक्ष्यभन्दा ९ अर्ब ७५ करोडले कम हो। 

राजस्व संकलनमा लक्ष्यभन्दा ४३ अर्ब कम

वैशाखसम्म सरकारले लिएको लक्ष्यभन्दा ४३ अर्ब कम संकलन भएको छ। गत वर्षभन्दा २० प्रतिशत बढी राजस्व उठ्ने अनुमान सहित राजस्व लक्ष्य निर्धारण गरिएको थियो। तर गत वर्षभन्दा १० प्रतिशत बढि मात्रै राजस्व संकलन भएको छ। चालु वर्षको १० महिनामा ४ खर्ब २० अर्ब राजस्व उठ्ने अनुमान थियो।

तर यो अवधिमा ३ खर्ब ७७ अर्ब मात्रै राजस्व संकलन भएको छ। यो अवधिमा शिक्षा स्वास्थ्य कर बाहेक अन्य शीर्षकमा लक्ष्य अनुसार राजस्व संकलन हुन सकेको छैन। यो अवधिमा व्यक्तिगत र संस्थागत आयकर १ खर्ब ७३ अर्ब संकलन भएको विभागले जनाएको छ। यो लक्ष्यको साढे ९१ प्रतिशत हुन आउँछ। घरभाडा कर २ अर्ब २२ करोड मात्रै उठेको छ। यो लक्ष्यको ६८ प्रतिशत मात्रै हो।

ब्याजकर शीर्षकमा २२ अर्ब ४४ करोड संकलन भएको छ। यो लक्ष्यको ७० प्रतिशत हो। यी सबै शीर्षकमा कुल आयकर १ खर्ब ९७ अर्ब हुन आउँछ। जुन लक्ष्यको ८८ प्रतिशत मात्रै हुन आउँछ। गत वर्ष सोहि अवधिको तुलना गर्दा समग्र आयकरमा १४ प्रतिशतको वृद्धि देखिएको छ। 

मूल्य अभिवृद्धि कर (भ्याट) मा गत वर्षभन्दा निकै कम मात्रामा संकलन भएको छ। यो अवधिमा १ खर्ब ६ अर्ब भ्याट संकलनको लक्ष्य लिइएकोमा ५० अर्ब ५१ करोड मात्रै संकलन भएको छ। यो वर्ष सरकारले भ्याटमा २ नीति परिवर्तन गर्दा भ्याट संकलनमा गिरावट आइरहेको छ।

सरकारले चालु वर्षको बजेटमा ढुवानीमा लाग्ने भ्याट र अग्रिम भ्याट कट्टीमा ५० प्रतिशतबाट ३० मा झारिएको छ। यस्तै स्वास्थ्य सेवा करमा लक्ष्यभन्दा ८९ प्रतिशत बढि राजस्व संकलन भएको छ। शिक्षा सेवा करमा पनि लक्ष्यभन्दा १ प्रतिशत बढि राजस्व संकलन भएको छ।