वाणिज्य बैंकहरुको सेयर मूल्य ५०% सम्म घट्यो, ३०० रुपैयाँ तल नै पाउन थाल्यो

बिजमाण्डू
२०७९ जेठ ५ गते ०८:३५ | May 19, 2022

काठमाडौं। बजार पुँजीकरणको सर्वाधिक हिस्सा ओगटेका वाणिज्य बैंकहरुको सेयर मूल्य उच्चतम कारोबार विन्दुबाट ५० प्रतिशतभन्दा धेरैले घटिसकेको छ। परिणामस्वरूप अधिकांश बैंकहरुको सेयरको कारोबार अहिले प्रतिकित्ता ३०० रुपैयाँभन्दा पनि कममा हुन थालेका छन्।

Tata
GBIME
Nepal Life

मूल्यको गिरावटलाई मात्र आधार मान्ने हो भने वाणिज्य बैंकहरुको उच्चतम मूल्य विन्दुमा खरिद गर्ने लगानीकर्ताले औसतमा ४० प्रतिशत गुमाएका छन्। सूचिकृत १७ वटा वाणिज्य बैंकको सेयर मूल्य उच्चतम कारोबार विन्दुबाट ४० प्रतिशत अधिक घटेको छ।   

३२०० सम्मको यात्रा तय गरेको परिसूचकले एक हजार अधिक अंक गुमाउँदा अधिकांश कम्पनीहरुको मूल्यमा नकारात्मक प्रभाव पर्न गएको छ। उक्त असर वाणिज्य बैंकहरुको सेयरमा परेको छ। परिसूचकले ३२०० सयको यात्रा तय गर्दै गर्दा उदय भएको वाणिज्य बैंकहरुको मूल्य, बजारको घट्दो लयसँगै निरन्तर घटिरहेको छ।   

यसो त नेप्सेमा सूचिकृत सबैभन्दा सालिन 'स्टक' वाणिज्य बैंकहरुलाई नै मानिन्छ। तर बजारको घट्दो लयलाई एउटा उपसमूहको आकर्षणले मात्र धान्न सक्दैन। यस अतिरिक्त कुल बजार पुँजीकरणको सर्वाधिक हिस्सा ओगटेका कम्पनीको सेयर मूल्य नै घट्दा परिसूचकमा स्वतः दबाब पर्न जान्छ । 

पछिल्लो तथ्यांकलाई आधार मान्ने हो भने कुल बजार पुँजीकरणको करिब ४० प्रतिशत अंश वाणिज्य बैंकहरु एक्लैले ओगटेका छन्। कुल बजार पुँजीकरणमा नबिल बैंक मात्रको ५ प्रतिशत अधिक हिस्सा छ। ‘हाई क्याप’ भएकै कारण पनि वाणिज्य बैंकहरु न्यून जोखिमयुक्त कम्पनीहरुको सूची अन्तर्गत पर्छन्। अप्रत्याशित उतार चढावबाट यी स्टक टाढै रहने गरेको मूल्य गतिविधिले देखाउँछ। 

जोखिम भारलाई मूल्यांकन गर्ने कतिपय लगानीकर्ता वाणिज्य बैंक जस्ता ‘हाइ क्याप’ स्टकमा मात्र लगानी केन्द्रित गर्ने गर्छन्। ‘हाइ क्याप’ वाणिज्य बैंकका स्टकको ‘भोलाटिलिटी’ पनि ज्यादै न्यून हुन्छ। पुँजीकरणको सानो आकार भएका ‘लो क्याप’ स्टकहरुको प्रवृत्ति भने बजारको प्रत्येक उतारचढावमा प्रतिक्रिया दिने प्रकारको हुन्छ।     

एकातिर बजारको उत्तेजनालाई वाणिज्य बैंकका स्टकले सम्बोधन गर्दैनन्। अर्कोतर्फ लगानीको सुनिस्चितता र प्रतिफलको ग्यारेन्टी वाणिज्य बैंकका सेयरले लामो समयदेखि दिँदै आएका छन्। बैंकहरुको व्यवसायको आकार पनि बढ्दो क्रममा रहेको भेटिन्छ। आधारभूत पक्षबाट सबल र सुदृढ यी कम्पनीमा लगानीकर्ता तर्फको 'दायित्वबोध' पनि अधिक हुन्छ। 

नेपाल राष्ट्र बैंकको नियामकीय दायरामा पर्ने हुँदा वाणिज्य बैंकहरुमा गरिएको लगानी निश्चिन्त भएर लामो समयसम्म सेयरधनीले होल्ड गर्ने गर्छन्। तथापी, बजारको घट्दो लयले वाणिज्य बैंकहरुमा गरिएको लगानीको आकार समेत खुम्चिँदो क्रममा छ। उच्चतम मूल्यमा खरिद गरेका कतिपयले त लगानीको ४५ प्रतिशतभन्दा बढी अंश गुमाइसकेका छन्। प्रतिफलले केहि राहत दिएता पनि मूल्य समायोजनको दबाबबाट भने बैंकको सेयर मूल्य उम्किन सकेको छैन।

बढेको कित्ता संख्याका बाबजुद वाणिज्य बैंकहरुको कुल बजार पुँजीकरण करिब ३४ प्रतिशतले खुम्चिएको छ। वाणिज्य बैंकमा गरिएको लगानीको कुल ६ खर्ब २४ अर्ब रुपैयाँ बराबरको पुँजी लगानीकर्ताले गुमाइसकेका छन्। औसतमा वाणिज्य बैंकमा गरिएको लगानीको करिब ३४ प्रतिशत हिस्सा लगानीकर्ताको पोर्टफोलियोबाट मेटिएको छ।    

५२५ रुपैयाँमा प्रभु बैंकको सेयर खरिद गर्ने लगानीकर्ताले पुँजीको सर्वाधिक हिस्सा गुमाइसकेका छन्। बैंकले गत सालका लागि १२ प्रतिशत बोनस सेयर लाभांश सवरूप वितरण गरेको पनि थियो। यद्यपि, बढेको कित्ताले समेत उच्चतम मूल्यमा गरिएको लगानीको भरपाइ गर्न सकेन। यो समय प्रभु बैंकमा लगानी गर्ने लगानीकर्ताले कुल लगानीको करिब ४५ प्रतिशत हिस्सा गुमाएका छन्। 

चुक्ता पुँजीमा बोनस सेयर समावेश भएपछि पनि प्रभुको बजार पुँजीकरण ३२ अर्ब ९१ करोड रुपैयाँमा सिमित छ। जबकि उच्चतम मूल्य विन्दुमा प्रभुको कुल बजार पुँजीकरण ५९ अर्ब ५७ करोड रुपैयाँ थियो। सो समय आजको भन्दा १२ प्रतिशत कम कित्ता संख्या समेत थियो।

मूल्यको गिरावटलाई मात्र आधार मान्ने हो भने पनि उच्चतम मूल्य विन्दुबाट सर्वाधिक घटेको प्रभु बैंकको सेयर हो। एक समय ५२५ रुपैयाँसम्म खरीद बिक्रि भएको प्रभु बैंकको प्रति कित्ता सेयर २५९ रुपैयाँमा अन्तिम किनबेच भयो। उच्चतम मूल्य विन्दुमा गरिएको लगानीसँगा यदि तुलना गरिन्छ भने झन्डै ५१ प्रतिशतको गिरावट प्रभु बैंकको सेयर मूल्यमा देखिन्छ। 

बैंकले गत आर्थिक वर्षका लागि १२ प्रतिशत बोनस पनि वितरण गर्यो। यद्दपी ५२५ रुपैयाँमा खरिद गरिएको सेयर मूल्य २६५ मा पुग्दा १२ प्रतिशत लाभांशले सायदै राहत पुर्याएको देखिन्छ। 

नेप्सेमा सूचिकृत दोस्रो सबैभन्दा प्रभावशाली नबिल बैंकको सेयरलाई मानिन्छ। नबिल बैंक एक्लैले कुल बजार पुँजीकरणको ५ प्रतिशत अधिक हिस्सा ओगटेको छ । नेप्सेको लयमा नै अत्याधिक प्रभाव पार्न हैसियत राख्ने नबिल बैंक आफै उच्चतम मूल्य विन्दुबाट साढे ४७ प्रतिशत घटेको छ।    

प्रतिफलका बाबजुद उच्चतम मूल्यमा गरिएको लगानीको ३० प्रतिशत अंश लगानीकर्ताले गुमाइसके। उच्चतम मूल्य विन्दुमा कुल २ खर्ब ४० अर्ब अधिक रहेको नबिलको बजार पुँजीकरण पछिल्लो तथ्यांक अनुसार १ खर्ब ६९ अर्बमा खुम्चिएको छ ।  

मूल्य समायोजन र प्रमुख सूचकको घट्दो लयले सबै भन्दा कम प्रभाव पारेको नेपाल बंगलादेशको सेयर हो। यद्दपी सेयर मूल्य पिक कारोबार मूल्यबाट साढे २२ प्रतिशत घटेको छ। र १२ प्रतिशत बोनसबाट थपिएको पुँजी विपरित बैंकको कुल बजार पुँजीकरण १३ प्रतिशत अधिक खुम्चियो।