कोभिड नियन्त्रणसँगै चार विदेशी वायुसेवा कम्पनी नेपाल आउँदै, छिट्टै उडान थाल्ने गरी लिए अनुमति

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७९ जेठ ५ गते ०५:४९ | May 19, 2022
कोभिड नियन्त्रणसँगै चार विदेशी वायुसेवा कम्पनी नेपाल आउँदै, छिट्टै उडान थाल्ने गरी लिए अनुमति


काठमाडौं। कोभिड महाव्याधि नियन्त्रणमा आएसँगै नेपालमा उडान थाल्नका लागि थुप्रै विदेशी वायुसेवा कम्पनीहरुले चासो देखाएका छन्। कतिपय देशका अन्तरराष्ट्रिय वायुसेवा कम्पनीहरुले यसका लागि प्रक्रियासमेत सुरु गरिसकेका छन्। 

Tata
GBIME
Nepal Life

नेपालसँग दुईतर्फी उडान थाल्ने गरी उनीहरुले प्रक्रिया अघि बढाएको यस्ता वायुसेवाको सम्पर्कमा आएका नेपालका केही ठूला ट्राभल एजेन्सीका अधिकारीहरुको भनाइ छ। 

आरआर ग्रुप अफ कम्पनीजको भगिनी कम्पनी सोसाइटी इन्टरनेशनल ट्राभलका अध्यक्ष रवी चन्द्र सिंहका अनुसार आउँदो पाँच महिनाभित्र नेपाली उड्डयन उद्योगमा कम्तिमा चारवटा अन्तरराष्ट्रिय वायुसेवा कम्पनी थपिने तरखरमा छन्। र, नेपाली आकाशमा छिर्नका लागि तम्तयार भएका ती वायुसेवा कम्पनीहरुमध्ये केहीले व्यवसायिक उडानको अनुमति समेत लिइसकेको बुझिएको छ।

सोसाइटी ट्राभलका अध्यक्ष सिंह भन्छन्, 'हङ्गेरीको विज एयर, भारतको गो एयर, थाइल्याण्डको थाइ स्माइल, इण्डोनेशियाको गरुडा एयर लगायतका वायुसेवा कम्पनीले आफ्नो नियमित व्यवसायिक उडानका लागि अनुमति समेत पाइसकेका छन्।'

दक्षिण अफ्रिकाको अल्ट्रा लो कस्ट एयरलाइन्स विज एयरले सेप्टेम्बरबाट साताको सातवटा उडानन तालिका पाइसकेको उनले जानकारी दिए।

विजले एयरबसको ३२१ निओ सिरीजको जहाज संचालनमा ल्याउने योजना बनाएको बुझिएको छ। विजको एक सय ९० सिट क्षमताको यो जहाज नेपालमै पहिलोपटक उडान गर्न लागेको हो। यो जहाज हालै एयरबस कम्पनीले उत्पादन गरेको पछिल्लो संस्करण हो।

यो जहाज एयरबसले उत्पादन गरेको पछिल्लो सिरिजमध्येको हो। कम खर्चिलो संचालन लागत हुने दाबी गरिएकाले यसलाई अल्ट्रा लो कस्ट जहाज समेत भनेर चिनिएको छ। त्यसैकारण यो जहाजमा विजनेश क्लास समावेश गरिएको हुँदैन। विजले अर्डर गरेको आफैंमा नयाँ यो जहाजको डेलिभरि समेत भइसकेको छ। नेपालका लागि यो जहाज नयाँ किसीमको हुनेछ।

यसैगरी आउँदो अक्टोबरबाट इण्डोनेशियाको गरुडा एयरले पनि नेपालमा उडान सेवा सुरु गर्ने योजना बनाएको बुझिएको छ। एक वर्षअघि नै अनुमति पाइसकेको गरुडाका लागि साताको चारवटा उडान तालिका प्राप्त भइसकेको सिंहले जानकारी दिए। उनका अनुसार यो कम्पनीले बोइङ ७७७ सिरीजको जहाजमार्फत उडान गर्नेछ। यो जहाजको सिट क्षमता तीन सय २८ रहेको छ।

भारतीय वायुसेवा कम्पनी गो एयरले पनि नेपालमा व्यवसायिक उडानको तयारी सुरु गरिसकेको छ। जुलाइ पहिलो साताबाटै यो कम्पनीले साताको सातवटा उडानको तालिका पाइसेकको स्रोतले जानकारी दिएको छ। 

यसैगरी थाइ स्माइलको उडान आउँदो साताबाट व्यवसायिक उडान सुरु हुने तयारी रहेको छ। स्रोतका अनुसार थाइ स्माइलले साताको सातवटा उडानको तयारी गरेको छ। थाइ स्माइलले एयरबस ३२० सिरीजको जहाजमार्फत सेवा दिनेछ। यसले सेप्टेम्बरबाट भुटान उडान पुनः सुरु गर्ने जनाएको छ।

नेपाल उडान थाल्ने योजनामा रहेको अर्को वायुसेवा चीनको सिचुआन एयर पनि हो। तर यसले भने तत्काल उडान गरिहाल्ने योजना बनाइसकेको छैन।

नेपाल उडान गर्ने तयारीमा रहेका नयाँ विदेशी वायुसेवाहरुले सेवा नियमित रुपमा संचालनमा ल्याउन थालेपछि यसबाट नेपालको पर्यटन प्रवर्द्धन र अर्थतन्त्रमा टेवा पुग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए।

'टिआइए २४ घण्टा अपरेशनमा आइसकेको छ। यसको मुख्य उद्धेश्य भनेकै वायुसेवा कम्पनीलाई सहज वातावरण बनाइदिनु हो। अहिले विदेशीका लागि नेपाल राम्रो पर्यटकीय गन्तव्य ठहरिएको छ। यसो हुँदा नयाँ विदेशी वायुसेवा कम्पनी थपिनु भनेको मुलुककै लागि सकारात्मक कुरा हो,' उनले भने।

हाल टिआइएमा विभिन्न मुलुकका १९ वटा वायुसेवा कम्पनीले दैनिक करिब ८० वटा उडान अवतरण गर्दै आएका छन्।

विमानस्थलका अनुसार हाल नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, कतार एयरवेज, एयर इण्डिया, इण्डिगो, भिस्तारा, फ्लाइ दुबाई, एयर अरेबिया, सलाम एयर, टर्किस एयरलाइन्स, जजिरा एयरलाइन्स, विमान बङ्गलादेश, कोरियन एयर, क्याथे प्यासिफिक, भुटान एयर, सिंगापुर एयरलाइन्स, मलेसियन एयरलाइन्स, बाटिक एयर, टर्किस एयरलाइन्स, श्रृलंकन एयरलाइन्स लगायतले नियमित उडान गर्दै आएका छन्।