नबिल र एनबि बैंक मर्जर रोक्न परेको मुद्दा फिर्ता, इजलास तोकिएपछि मुद्दा फिर्ता, मर्जर अघि बढ्ने

बिजमाण्डू
२०७९ जेठ ५ गते १२:५४ | May 19, 2022

काठमाडौं। नबिल बैंक र नेपाल बंगलादेश (एनबि) बैंकबीचको मर्जर रोक्न परेको रिट निवेदकले फिर्ता लिएका छन्। एकल इजलासले तत्काल मर्जर अगाडि नबढाउन दिएको आदेश संयुक्त इजलासमा पुगेपछि रिट फिर्ता भएको हो।

Tata
GBIME
Nepal Life

बिहीबारका लागि न्यायाधिसहरु डा. आनन्दमोहन भट्टराई र सुष्मलता मानन्धरको इजलासमा सुनुवाइ तोकिएको थियो। सुनुवाइ सुरु नहुँदै निवेदकले मुद्दा फिर्ता लिएको हो।

'सबै कानुनी प्रकृया सकेर मुद्दा फिर्ता भएको छ। अब शनिवार विशेस साधारणसभा हुन्छ' बैंक स्रोतले भन्यो, 'अब मर्जर रोकिँदैन। अगाडि बढ्छ।'

एकल इजलासले तत्काललाई मर्जर जेजस्तो अवस्थामा छ। त्यही अवस्थामा राख्नु भनेर आदेश दिएको थियो। दुवै पक्षको कुरा सुन्नका लागि मंगलबारका लागि संयुक्त इजलास डाकिएको थियो। मंगलबारको इजलास दुबै पक्षले टारेपछि बुधबार पुर्‍याएको थियो। बुधबारको इजलासमा हेर्न नमिल्ने भएपछि बिहीबार पेशी तोकिएको थियो।

लक्ष्मीबहादुर श्रेष्ठ समूहको कम्पनी दिवेश्वरी इन्भेष्टमेन्ट प्रालि र नेपाल पावर डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनीले दुई छुट्टाछुट्टै रिट अदालतमा हालेको थियो। कम्पनीले नेपाल स्टक एक्सचेञ्ज र नेपाल धितोपत्र बोर्डलाई मुद्दा हालेका थिए। साथै दुबै बैंक, नेपाल राष्ट्र बैंकविरुद्ध पनि उनीहरुले मुद्दा हालेका थिए।

दुबै संस्थालाई मर्जरका लागि राष्ट्र बैंकले सैद्धान्ति स्वीकृति दिइसकेको छ। अन्तिम स्वीकृति लिनुअघि दुवैले विशेष साधारणसभा डाकेका छन्। अदालतको आदेशपछि रोकिएको मर्जर प्रकृया मुद्दा फिर्तासँगै अगाडि बढेको छ। 

एनबी बैंकमा बंगलादेशी साझेदार आइएफआइसी बैंक ढाकाको ४०.८९ प्रतिशत सेयर छ। यो सेयर विनोद चौधरीकी श्रीमती सारिका चौधरीले किन्ने गरी समझदारी भइसकेको छ। दुबै बैंकको जेठभित्र मर्जर सकेर एकीकृत कारोबार गर्ने योजना छ।

नबिल बैंकले प्रति कित्ता ४३ रुपैेयाँका दरमा एनबी बैंक खरीद गर्न लागेको हो। मर्जर सफल भएपछि बैंक देशकै दोस्रो ठूलो पुँजी कोष भएको बैंक हुने छ। एकीकृत कारोबार नबिल बैंकको नामबाट हुने छ।