बिक्रेताले बजार नियन्त्रण गर्दा ८ अंक अधिक बढेको परिसूचकको लयमा अवरोध, दोहोरो अंकले खुम्चियो

बिजमाण्डू
२०७९ जेठ ५ गते १५:२४ | May 19, 2022
बिक्रेताले बजार नियन्त्रण गर्दा ८ अंक अधिक बढेको परिसूचकको लयमा अवरोध, दोहोरो अंकले खुम्चियो

काठमाडौँ। साताको तेस्रो कारोबार दिन धितोपत्र बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। विहीबार कारोबार बन्द हुँदा नेप्से परिसूचक २३.५१ अंक घटेर २२५०.९१ को विन्दुमा ओर्लियो। 

Tata
GBIME
Nepal Life

मध्यान्हपछि बजार नियन्त्रण गर्न सफल भएका बिक्रेताले ८ अंक अधिक बढेको परिसूचकको लयमा अवरोध पुर्‍याए। २२७४.८० को विन्दुबाट ओप्निङ्ग लिएको परिसूचकले मध्यान्हसम्म २२८२.८८ को विन्दुसम्म बढेको थियो।

यद्यपी, बढेको सेयर मूल्य क्रेतालाई मन्जुर नहुँदा मूल्य घटाउँदै बिक्री गर्न होल्डर बाध्य भए। अघिल्लो दिन बजारले अन्तिम प्रहरमा लिएको अप्रत्याशित वृद्धिमा लगानीकर्ता निकै अशावादी थिए। ८५ अंकको गिरावटपछि अन्योलमा पुगेका लगानीकर्ता बुधबार बजार ९ अंकले बढ्दा उत्साहित थिए। फराकिलो अंकको करेक्सनपछि बजारले केही समय सकारात्मक लय पछ्याउने लगानीकर्ताको धारणा समेत थियो।

तर लगानीकर्ताको अपेक्षा अनुरुप सेयर बजार खरो उत्रिन सकेन। सुस्त ओपनिङ लिएको सेयर बजारमा केही बेर उतारचढाव मात्र देखिएको थियो। सामान्य अंकले बजार बढ्ने त कहिले सामान्य अंकले बजार घट्ने प्रवृत्ति दोहोरिरहेको थियो। सो उतारचढाव बीच परिसूचक ९ अंक बढ्दै २२८२.८८ को विन्दुसम्म समेत पुग्यो।

खरिदकर्ताले केहि समय बजारमा आफ्नो प्रभुत्व बनाउन सफल भए। तर, २२८० को विन्दु पार गरे लगत्तै खरिदमा ह्रास आयो। बुधबारको कारोबारमा पनि परिसूचक २२८० को अवरोध पार गरे बित्तिकै घटेको थियो। बारम्बार परीक्षणको बाबजुद परिसूचकले उक्त बाधालाई सफलतापूर्वक तोड्न भने सकेन। 

विफल भएको उक्त प्रयासपछि परिसूचक निरन्तर ओरालो लागेको थियो। जसको परिणाम कारोबार बन्द हुँदा परिसूचक २२५०.९१ सम्म खुम्चिसकेको छ। कारोबार रकममा पनि सामान्य गिरावट देखिन्छ। बिहीबार सेयर बजारमा एक अर्ब ३० करोड रुपैयाँको सेयर कारोबार हुँदा ३७ लाख ९८ हजार कित्ता सेयर कारोबारमा आए। 

कारोबार रकमको शिर्ष स्थान बुधबार भने संस्थापक सेयरले ओगटेका छन्। विहीबार प्रभु बैंकको १२ करोड ८१ लाख रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको छ। त्यस्तै, एनआइसी एशिया लघुवित्तको पनि ५ करोड रुपैयाँ अधिकको संस्थापक सेयर कारोबारमा आयो।   

विहीबार बजारको लयमा सर्वाधिक प्रभाव विकास बैंक र वित्त उपसमूह अन्तर्गतका सेयरले पारे। यी उपसमूह भित्र समावेश कम्पनीहरुमा बिक्रेताको तीव्र चाप देखियो। दुवै उपसमूह २ प्रतिशत अधिक घटे। वाणिज्य बैंक बाहेक बाँकी अधिकांश उपसमूहमा एक प्रतिशतको गिरावट देखिन्छ। 

परिसूचक एक प्रतिशत अधिक घट्दा समेत सामूहिक लगानी कोषका सेयरमा खरिदकर्ताको आकर्षण भने कायमै छ। उपसमूह आज ०.७५ प्रतिशत बढेको छ।

डेढ प्रतिशत घटेको निर्जीवन बीमा उपसमूहका बाबजुद जनरल इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक बढ्यो। कम्पनीको सेयर मूल्य प्रति कित्ता ७.४५ प्रतिशतका दरले बढेको छ। मैलुंग खोला जलविद्युतका लगानीकर्ताले पनि ३ प्रतिशतका दरले कमाएका छन्। यस्तै, १७ अन्य कम्पनीहरुको मूल्य बढेको छ। १६९ वटाको मूल्य भने घट्यो। 

जसमध्ये लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। कम्पनीको मूल्य प्रति कित्ता ७ प्रतिशत अधिकका दरले घटेको छ। युनियन हाइड्रो र सूर्योदय वोमी लघुवित्तको सेयर मूल्य पनि ५ प्रतिशत अधिक घटेको छ।