चीनमा गुच्चीको २ लाख पर्ने छाताले पानी नछेकेपछि चर्को आलोचना, ट्रेन्डिङ ट्रोल १४ करोड नाघ्यो

बिजमाण्डू
२०७९ जेठ ५ गते १९:४३ | May 19, 2022
चीनमा गुच्चीको २ लाख पर्ने छाताले पानी नछेकेपछि चर्को आलोचना, ट्रेन्डिङ ट्रोल १४ करोड नाघ्यो

काठमाडौं। नेपाली दुई लाख रुपैयाँबराबर पर्ने गुच्ची र एडिडासले मिलेर निकालेको छाताले पानी परेको बेला काम नगरेपछि चीनमा यसबारे व्यापक आलोचना भएको छ। 

Tata
GBIME
Nepal Life

यससँगै चीनको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जालमध्येको वेइबोमा गुच्ची-एडिडासको यो छातालाई लिएर ट्रोल गर्दै एउटा ह्यासट्याग ट्रेन्डिङ भएको छ, जसमा '११,१०० युआनमा बेचिएको छाता वाटरप्रूफ छैनु भनेर (अनुवादित) लेखिएको छ। यो ह्यासट्यागसहितको पोस्ट अहिलेसम्म १४ करोडभन्दा धेरै जनामा सर्कुलर भइसकेको छ।

समर सिजनका लागि भनेर डिजाइन गरिएको गुच्ची र एडिडासद्वारा बेचिएको'सन अम्ब्रेला' केही समयअघि चीनमा सोल्ड आउट भएको थियो। तर पछि त्यस छाताले पानी परेको बेला पानी नथेगेपछि आलोचना शुरु भएको हो। 

चीनमा संसारकै प्रख्यात ब्रान्डमा पर्ने गुच्ची र एडिडासले ११ हजार १०० युआन अर्थात् १६०० डलर पर्ने छाता बिक्री गर्दै आएका थिए। यसको नेपाली मूल्य २ लाख रुपैयाँ हाराहारी हुन आउँछ। उक्त छाताले वर्षालाई रोक्न नसकेकोमा भएको चर्को आलोचना चिनियाँ सोसल मिडिया प्लेटफर्म वेइबोमा भाइरल भएको छ।

धेरै आलोचना भएपछि गुच्चीको वेबसाइटले यो वाटरप्रूफ नभएको र यो घामबाट सुरक्षा र जोगाउन वा सजावटी प्रयोगको लागि मात्र रहेको भनेर आफ्नो बचाउमा प्रष्टीकरण दिनुपरेको छ।

गुच्ची र एडिडासले आफ्ना उत्पादनबारेको नकारात्मक टिप्पणीको विषयमा संचार माध्यमहरुलाई तत्कालिन प्रतिक्रिया केही पनि दिएका छैनन्। यद्यपि, गुच्चीका प्रवक्ताले बेइजिङको म्यागजिन क्याजिङलाई उक्त उत्पादनलाई दैनिक रूपमा पानी परेको बेला छाताको रुपमा प्रयोग गर्न सिफारिस नगरिएको बताएका छन्। उनीहरुले उक्त छाता कलेक्टरका लागि मूल्यवान रहेको र दैनिक सहायकको रूपमा प्रयोगको लागि पनि उपयुक्त भएको भनि स्पष्टीकरण दिएका छन्।

लक्जरी ब्रान्ड गुच्ची र स्पोर्ट्सवेयरको विशाल कम्पनी एडिडासले संयुक्त रुपमा प्यारासोलु नाममा फेशनेबल प्रडक्टहरुको नयाँ कलेक्सन आगामी ७ जुनमा सार्वजनिक गर्दैछन्। दुवै कम्पनीले हालसम्म अनलाइनमा कुनै पनि प्रचार प्रसार गरिएको छैन। यसकारण गुच्ची र एडिडासले  बजारमा ल्याएको पानी नछेक्ने छाताबारेको भाइरल आलोचनाले प्यारासोलु को व्यापारलाई कत्तिको असर गर्छ भन्ने  हेर्न बाँकी नै छ। 

तर यिनका उत्पादनहरुमा ट्याग लाग्ने अत्यधिक महँगो मूल्यबारे भने चीनमा नकारात्मक टिप्पणीहरु बाक्लै भइरहेका छन्। यी दुवै कम्पनीको उत्पादनका लागि चीन ठूलो बजार हो।

चीन विश्वका प्रमुख लक्जरी ब्रान्डहरूको प्रमुख बजार हो। गतवर्ष विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा विलासिताका सामानको बिक्री ३६ प्रतिशतले बढेको कन्सल्टेन्सी बेन एण्ड कम्पनीले जनाएको छ। बेनले आगामी तीन वर्षभित्र चीन विलासी वस्तुको खपतका लागि विश्वकै सबैभन्दा ठूलो बजार बन्ने प्रक्षेपण पनि गरेको छ।