काठमाडौं। नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीति कसिलो आउने संकेत अर्थमन्त्रालयलाई गरेको छ। बुधबार अर्थमन्त्री जनार्दन शर्माले सिंहदरबारस्थित मन्त्रालयमा बोलाएको छलफलमा गभर्नर महाप्रसाद अधिकारीले 'समष्टिगत माग घटाउनु पर्ने दबाबमा राष्ट्र बैंक रहेको' बताएका थिए।
समष्टिगत माग घटाउन प्रत्यक्ष भूमिका ब्याज दर र ऋण उपलब्धताले गर्छ। राष्ट्र बैंकका गभर्नर अधिकारीले ऋण बिस्तारलाई प्रेरित गर्ने गरी मौद्रिक नीति नआउने घुमाउरो पाराले बताएका हुन्।
छलफलमा योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, मुख्य सचिव शंकरदास बैरागी, अर्थमन्त्रालयका सल्लाहकार डा. सुरेन्द्र उप्रेती, बैंक वित्त विज्ञ सल्लाहकार डा. शालिग्राम पोखरेल, सचिवहरु मधुकुमार मरासिनी, कृष्णहरि पुष्कर, डेपुटी गभर्नर डा. निलम ढुङ्गाना सहभागी थिए।
छलफलमा राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले वर्तमान आर्थिक अवस्थाका बारेमा प्रस्तुति दिएका थिए।
बैंक वित्त सल्लाहकार पोखरेलले वर्तमान आर्थिक अवस्था के कस्तो छ भनेर बुझ्न बैठक बोलाइएको बताए। उनले वर्तमान आर्थिक अवस्थाका बारेमा सामान्य छलफल भएको जानकारी दिए।
राष्ट्र बैंकले वैशाखसम्मको तथ्यांक प्रस्तुत गर्दै बाह्य क्षेत्र निक्कै चुनौतीपूर्ण अवस्थामा रहेको जानकारी गराएको थियो भने मूल्य वृद्धिको चाप पनि बढ्दै गएको बताएको थियो।
विदेशी मुद्राको सञ्चिति निरन्तर गिरावट भइरहेको सन्दर्भमा आयात कटौतीलाई निरन्तरता दिनुपर्ने राष्ट्र बैंकतर्फको दलिल थियो। योजना आयोगका उपाध्यक्ष पौडेलले आर्थिक अवस्थाका बारेमा खासै बोलेनन्, उनी आइतबारको बिदा किन कटौती गरेको भनेर गुनासो गरिरहेका थिए। उनले आइतबारको बिदाले पेट्रोलियम पदार्थको खपत घटेको बताएका थिए।