सस्तियो निर्माण सामाग्री, सिमेन्ट बोरामा सय रुपैयाँ कम, डन्‍डी पनि किलोमा ४५ रुपैयाँले घट्यो

बिजमाण्डू
२०७९ असार १५ गते २१:०० | Jun 29, 2022
सस्तियो निर्माण सामाग्री, सिमेन्ट बोरामा सय रुपैयाँ कम, डन्‍डी पनि किलोमा ४५ रुपैयाँले घट्यो

काठमाडौं। वर्षा लागेसँगै निर्माणको अफसिजन सुरु भएपछि अधिकांश निर्माण सामाग्रीको मूल्य सस्तिएको छ। असार लागेसँगै ईंटा, सिमेन्ट र डन्डीको मूल्य ओरालो लागेको छ।

Tata
GBIME
Nepal Life

बर्खामा निर्माणको काम कम हुने हुँदा यतिबेला निर्माण सामग्रीको माग घट्ने गर्छ। यसले गर्दा पनि अहिले विशेषगरी लामो समय भण्डारण गरेर राख्न नमिल्ने र अन्य औद्योगिक निर्माण सामाग्रीहरुको दाम सस्तिन थालेको हो। 

यसबाहेक पछिल्लो समय निर्माण सामग्री उद्योग एकपछि अर्को थपिँदै जाँदा मागभन्दा अधिक उत्पादन क्षमता बनिसकेकाले उद्योगहरुबीच  व्यवसायिक प्रतिस्पर्धा चर्किएको छ। यस्तै, कच्चा पदार्थको उपलब्धता पनि केही सहज भएको छ। यिनै कारणहरुले गर्दा निर्माण सामाग्रीको मूल्य क्रमिक रुपमा घट्दै गएको हो। 

केही समयअघि अत्यधिक बढेको निर्माण सामाग्रीको मूल्य केही घटेपछि घर बनाउन खोजिरहेका उपभोक्ताहरुलाई केही राहत पुग्ने देखिन्छ।

फागुनदेखि घटेको कारोबार अहिले पोहोरको तुलनामा २५-३० प्रतिशत मात्र भइरहेको नेपाल ईंटा उद्योग व्यवसायी महासंघका निवर्तमान अध्यक्ष महेन्द्र चित्रकार बताउँछन्।

‘अहिले स्टक रहेकै ईंटा बजारका लागि पर्याप्त छ। मागको कमिका कारण साना व्यवसायी पलायन नै हुने स्थिति छ। क्रयशक्तिको कमि, तरलता अभावले गर्दा व्यवसायीले ईंटा उत्पादन घटाएका छन्। अहिले व्यापारीहरु घाटा खाएरै ईंटा बेचिरहेका छन्। प्रतिगोटा २४-२५ रुपैयाँ हुनुपर्ने ईंटा अहिले १६-१७ रुपैयाँमा बेचिरहेको उनको जिकिर छ।

अहिले गुणस्तर, आकार र उत्पादन प्रविधिअनुसार बजारमा ईंटाको मूल्य गोटाको १५ देखि १८ रुपैयाँसम्म रहेको छ। औसतमा अहिले एक नम्बर ईंटाको १६ रुपैयाँ र दुई नम्बरको साढे १५ रुपैयाँसम्म पर्छ। निर्माणको सिजनमा ईंटाको मूल्य २२ रुपैयाँ प्रति गोटा सम्म पुगेको थियो।

यस्तो स्थितिमा बैंकबाट ऋण पनि नपाउने अवस्था रहेको छ। अझ बैंकबाट ऋण तिर्न दबाब दिँदा  यो व्यवसाय धराशायी भएको छ। देशको आर्थिक समस्याले क्रयशत्तिमा ल्याएको कमीले माग बढ्न अझै केही समय लाग्ने बताउँछन् उनी।

ईंटा व्यवसायीहरुका अनुसार अहिले उपत्यका र बाहिर समग्र देशमै ईंटाको बिक्रीमा मन्दी आएको छ।

यस्तै, अघिल्लो वर्ष १४० रुपैयाँ प्रतिकेजी पुगेको फलामे डन्डी (रड) अहिले भ्याटबाहेक ९५ रुपैयाँमा झरेको छ। भ्याटसहित उपभोक्तालाई काठमाडौंको बजारमा डन्डीको मूल्य अहिले १०८ रुपैयाँ पर्छ। यसरी मूल्य घट्नु ठूलो क्षमताका स्टिल कम्पनीहरु थपिँदै जाँदा व्यवसायिक प्रतिस्पर्धा मुख्य कारण रहेको बताउँछन् अम्बे स्टिल्सका सेल्स म्यानेजर उमेश राज गौतम ।

२०७२ को भुकम्पछि नेपालमा सिमेन्ट, डन्डी लगायतका निर्माण सामग्री उद्योगको एक किसिमले बाढी नै लागेको छ। नयाँ उद्योग थपिनुका साथै भएका उद्योगहरुले पनि क्षमता विस्तार गरेका छन्। यसरी उत्पादन क्षमता वृद्धि हुँदा आपूर्तिमा परेको चापले मूल्यमा असर देखाएको छ।

सामान्यतय: वैशाखदेखि असोजसम्मको समयलाई निर्माण गतिविधिका लागि अफ सिजन मानिन्छ। असोजबाट पानी पर्न कम हुने भएकाले दशैं-तिहारको फेस्टिभ मुड सकिएपछि निर्माणको काम थाल्ने नेपालीहरुको मानसिकता रहँदै आएको  यस पेशा तथा व्यवसायमा भएकाहरुको अनुभव छ। 

अहिले अफ सिजन, बढ्दो उत्पादन र तरलता अभावले समग्र व्यवसायलाई नै असर गरेको छ। गत वर्षको समान अवधिको तुलनामा अहिले निर्माण सामाग्रीको कारोबार ५० प्रतिशतले घटेको व्यवसायीहरु बताउँछन्। अम्बे स्टिल्सका सेल्स म्यानेजर गौतम थप्छन्, ‘बजारमा माग नभएको कारण असारमा पनि खाली बस्नु परेको स्थिति आएको छ।‘

यो वर्षको सुरुआतबाटै सिमेन्टको मूल्यमा पनि गिरावट आएको छ। अहिले पोहोरभन्दा बोरामा १०० रुपैयाँसम्मले दाम सस्तिएको छ। गतवर्ष ओपीसी सिमेन्ट बोरा (५० केजी) को ७६० देखि ८२० रुपैयाँसम्म रहेकोमा अहिले ६८० देखि ७३० रुपैयाँमा झरेको छ। यसैगरी पीपीसी सिमेन्ट बोरा (५० केजी) को ७५० सम्म पुगेकोमा अहिले ६३० को हाराहारी आइपुगेको छ।

सिमेन्ट उत्पादनमा ठूला उद्योगको प्रवेशसँगै बजारमा सस्तो मूल्यमै आपूर्ति हुने स्थिति आएको छ। यस्तो अवस्थामा आफ्नै क्लिंकर उत्पादन प्लान्ट नहुने उद्योगहरु भने मर्कामा परेका छन्। उनीहरुलाई प्रतिस्पर्धामा टिक्‍नै मुस्किल छ अहिले।

‘निर्माण व्यवसायीबाट अघोषित असहयोग र ऋण उपलब्ध नहुनु, माग नबढ्नुको कारक तत्व रहेको हो’, शिवम सिमेन्टका प्रवत्ता लेखनाथ अर्याल भन्छन्।

ढुवानी खर्च र कोइलाको मूल्यवृद्धिले केही लागत बढाए पनि बजारमा उच्च प्रतिस्पर्धाले गर्दा मूल्यमा कमी आएको छ। अहिले क्यास फ्लो कायम गर्न नै फाइदा नखाइ बेच्नु पर्ने स्थिति आएको उनी बताउँछन्।