शेखर गोल्छाले भने- ‘अर्थतन्त्रको अवस्था गम्भीर छ, राष्ट्र बैंकले कठोर मौद्रिक नीति ल्याउनु पर्छ’

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७९ असार १६ गते १९:२० | Jun 30, 2022
शेखर गोल्छाले भने- ‘अर्थतन्त्रको अवस्था गम्भीर छ, राष्ट्र बैंकले कठोर मौद्रिक नीति ल्याउनु पर्छ’

विराटनगर। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राष्ट्र बैंकले कठोर भएर आगामी मौद्रिक नीति ल्याउनुपर्ने बताएका छन्। देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेकाले केन्द्रिय बैंकले अब ल्याउने मौद्रिक नीति कसिलो हुनुपर्ने उनले बताए ।

Tata
GBIME
Nepal Life

उनको भनाइ थियो, ‘बजेटले मुद्रास्फीति ६ देखि ७ प्रतिशतमा सीमित राख्ने कुरा गरेको छ। तर अहिलेको होलसेल प्राइस इन्डेक्स हेर्दा २५ प्रतिशत मूल्यवृद्धि भइसकेको छ। यो हामीले बढी नाफा गरेर भएको होइन। यसमा वाह्य कारणहरू छन्।’

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को बिहीबार विराटनगरमा आयोजित चौथो साधारणसभालाई सम्बोधन गर्दै उनले आगामी मौद्रिक नीतिले सेयर बजारको समस्यालाई पनि सम्बोधन गर्नुपर्ने सुझाव दिए।  ‘जीवनभरिको कमाइलाई सेयर बजारमा हालेर बाँकी जीवन सुखपूर्वक बिताउँला भन्ने निम्नमध्यम वर्ग अहिले आफ्नै रगतको होली खेल्न बाध्य भइरहेको छ,’ गोल्छाले भने। 

यस्तै, राष्ट्रिय सभाबाट पनि विनियोजन विधेयक पारित भइसकेको हुँदा अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रसँग गरेको प्रतिवद्धता बमोजिम मारमा परेका उद्योगको चासो अबिलम्ब सम्बोधन गर्नुपर्ने पनि उनले बताए।

मोरङका उद्योगी व्यवसायी गतहप्ता दोस्रो चरणको आन्दोलनमा उत्रिएका बेला अर्थमन्त्री शर्माले राष्ट्रिय सभाबाट बजेट पास गरुन्जेलका लागि समय मागेको स्मरण गर्दै अब समस्या समाधानका लागि ढिलाइ गर्न नहुने धारणा प्रकट गरेका हुन्।

गोल्छाले भने, ‘अर्थमन्त्रीजीले राष्ट्रिय सभाबाट बजेट पास भएको केही समयमै तीनथरीकै उद्योगका समस्या समाधान गरिदिने वचनबद्धता हामीसित व्यक्त गर्नुभएको हो। त्यही विश्वासका आधारमा दोस्रो चरणको आन्दोलन स्थगित भएको हो। अब अर्थमन्त्रीबाट आफ्ना वचनको पालना भएन भने तपाईं पूर्वका उद्योगीले जेजस्तो प्रकारको आन्दोलन गर्नुहुन्छ, महासंघ त्यसमा समर्थन गर्दै उभिन तयार छ।’

उनले यस्तै अवस्था विद्यमान रहिरहने हो भने मुलुक आर्थिक दुर्घटनामा पर्ने पनि घोषणा गरे। गोल्छाले थपे, ‘प्रतिदिन वस्तुको मूल्यवृद्धि हुने क्रम रोकिएको छैन। अर्कातिर वस्तुको माग घट्तैछ। यो स्ट्याग्फ्लेसन हो। अर्कातिर तरलताको सङ्कट छँदैछ। यो अवस्था भनेको दुर्घटनाको पूर्वसंकेत हो।’

आयातित सबै वस्तुको मूल्यवृद्धि भएपछि देशको शोधनान्तर स्थितिमा पनि असर पुगेको स्मरण गर्दै उनले नेपालको अवस्था पनि छिमेकीको जस्तो हुनसक्ने भनेर श्रीलंकातर्फ संकेत गरे। चरम आर्थिक संकटमा फसेको श्रीलंका टाट पल्टिएको गत बुधबार मात्र श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रेमासिंघेले संसदलाई बताएका थिए। 

नेपाली अर्थतन्त्रमा तरलता अभाव अहिले अर्को प्रमुख टाउको दुखाइ बनेको छ। बैंकबाट कर्जा प्राप्ति नहुँदा अर्थतन्त्र सङ्कुचित भइरहेको उल्लेख गर्दै गोल्छाले साधारण हिसाबले यसबाट पार पाउन सजिलो नभएको पनि चिन्ता जाहेर गरे। 

रासायनिक मलको अभाव वर्षेनी दोहोरिँदै आउँदा समेत सरकारले यसलाई हल गर्न नसकेको प्रति पनि गोल्छाले चासो देखाए। साथै, सरकारले अनुदानमा निजी क्षेत्रलाई आयात गर्न दिने हो भने मलको समस्या सहजै समाधान हुने समेत जिकिर गरे। 

बजेटमा भएका उत्पादन लागत घटाउने, निर्यात बढाउने नीति लगायतका राम्रा पक्षलाई निजी क्षेत्रले खुलेर स्वागत गरेको भन्दै गोल्छाले निर्यातका लागि सरकारले तत्काल कार्यविधि बनाउनुपर्ने आग्रह गरे। गोल्छाले बजेटमा उद्योगका लागि सहुलियतमा जमिन प्राप्ति र बिना धितो कर्जा जस्ता बूँदा पनि स्वागतयोग्य भएको बताए।

‘तर बजेटमा नराम्रा पक्ष पनि छन्, यिनलाई हामीले खुलेर आलोचना गरेका छौं,' उनले भने, ‘जस्तो कि यो बजेटको लक्ष्य नै राम्रो छैन। ग्रोथ रेट ८ प्रतिशत र राजस्व वृद्धिको लक्ष्य १८ प्रतिशत राखिएको छ। अहिलेका अवस्थामा यो सोच्न पनि सकिन्न। त्यस्तै निर्यातमूलक उद्योगलाई हामीले मूल्य अभिवृद्धिका आधारमा अनुदान दिन आग्रह गरेका हौं, त्यसको पनि सम्बोधन गरिएको छैन।’