काठमाडौं। पञ्चकन्या समूहको चारवटा कम्पनीहरुले एकैवर्ष ८ अर्ब ६३ करोड रुपैयाँको कारोबार गरेका छन्। समूहको पञ्चकन्या स्टिल प्रालि, पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालि, पञ्चकन्या प्लास्ट प्रालि र पञ्चकन्या रोटोमोल्ड प्रालिले यो कारोबार गरेको हो।
चार कम्पनीहरुमध्ये पञ्चकन्याको डन्डी र प्लास्टिक उत्पादन गर्ने कम्पनीले अर्बमाथिको कारोबार गरेका छन्। जसमध्ये सबैभन्दा धेरै कारोबार गर्नेमा पञ्चकन्या स्टिल हो। पञ्चकन्या समूहको डन्डी कम्पनीले सन् २०२१ मा ५ अर्ब ५३ करोड २० लाख रुपैयाँ कारोबार गरेको छ। दोस्रोमा पञ्चकन्याको प्लास्टिक उत्पादन गर्ने कम्पनीले २०२१ मा १ अर्ब ३४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ।
त्यसपछि पञ्चकन्या प्लास्टले ८९ करोड ५० लाख रुपैयाँ र रोटोमोल्डले ८६ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ। कम्पनीले ८ अर्ब ३ करोड ६० लाख रुपैयाँ बराबरको ऋणका लागि रेटिङ गराएको छ।
पञ्चकन्या स्टिलको व्यापारमा ६९ प्रतिशतको उछाल
वार्षिक एक लाख ५० हजार टन जडिन उत्पादन क्षमता रहेको पञ्चकन्या स्टिलले एकैवर्ष आफ्नो कारोबार ६९ प्रतिशतले वृद्धि गरेको छ। कोरोना महामारीका कारण २०२० मा कम्पनीको कारोबारमा धक्का पुगे पनि प्रतिस्पर्धात्मक बजार र उच्च बिक्रीका कारण २०२१ मा व्यापारमा उछाल आएको केयर रेटिङ्स नेपालले जनाएको छ।
२०२० मा कम्पनीले ३ अर्ब २६ करोड ५० लाख र २०१९ मा ४ अर्ब ५७ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो। २०२१/२०२२ को नौ महिनामा (अपरिष्कृत) कम्पनीले ५ अर्ब ३३ करोड २० लाख रुपैयाँको व्यापार गरेको देखिन्छ। भैरहवामा प्लान्ट रहेको कम्पनीले पञ्चकन्या ब्राण्डमा टीएमटी बार बिक्री गरिरहेको छ।
कम्पनीले डन्डी उत्पादनका लागि महत्त्वपूर्ण कच्चा पदार्थ एमएस बिलेट भारतबाट आयात गरिरहेको छ। २०२१ मा कुल संचालन आम्दानीको ९२ प्रतिशत हिस्सा कच्चा पदार्थमा खर्चिएको छ। २०२० मा यो ८७ प्रतिशत थियो।
देशभर ९० वटा डिलर रहेको कम्पनीले अधिकांश भागमा डन्डी बिक्री गरिरहेको छ। पञ्चकन्या स्टिलमा सात सदस्यीय सञ्चालक समिति छ। जसको अध्यक्ष प्रेमबहादुर श्रेष्ठ छन्। कम्पनीको प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ छन्।
पञ्चकन्या स्टिलले ५ अर्ब २५ करोड ऋणका लागि केयर रेटिङ्सबाट रेटिङ पुन:पुष्टि गराएको छ। २१ करोड ९९ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी डबल बी रेटिङ पुन:पुष्टि गरेको छ। ५ अर्ब ३ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि कम्पनीलाई रेटिङ एजेन्सीले एनपी ए फोर रेटिङ पुन:पुष्टि गरिदिएको छ।
पञ्चकन्या प्लास्टिकको ५०% भन्दा बढी सेल्स सरकारी ठेक्काबाट
पञ्चकन्या प्लास्टिकको कारोबार ४.४३ प्रतिशतले बढेर १ अर्ब ३४ करोड ८० लाख रुपैयाँ पुगेको छ। कम्पनीले २०२१ मा कुल सेल्सको ५० प्रतिशतभन्दा बढी सरकारी ठेक्काबाटै आर्जन गरेको छ।
भैरहवामै उत्पादन प्लान्ट रहेको उद्योगको २०२२ जुलाई मध्येसम्म जडित क्षमता वार्षिक नौ हजार टन छ। कम्पनीले २०२० मा १ अर्ब २९ करोड रुपैयाँ र २०१९ मा १ अर्ब २४ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो। प्रतिस्पर्धी बजारका कारण कम्पनीको नाफा मार्जिन भने घट्न पुगेको केयर रेटिङ्स नेपालले जनाएको छ।
एचडीपीइ पाइप र फिटिङ्स उत्पादन गर्ने यस कम्पनीले ती प्रडक्ट पनि पञ्चकन्या ब्राण्डमै बिक्री गरिरहेको छ। २०२१ मा कुल उत्पादन लागतको ९० प्रतिशत हिस्सा कम्पनीले कच्चा पदार्थमा खर्चिरहेको छ। २०२० मा यो ८२ प्रतिशत थियो। यो कम्पनीमा पनि सात सदस्यीय बोर्ड छ।
पञ्चकन्या प्लास्टिक प्रालिले केयर रेटिङ्सबाट ९८ करोड रुपैयाँको रेटिंङ पुन:पुष्टि गराएको छ। १ करोड ४६ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि कम्पनीले एनपी डबल बी र ९६ करोड ५८ लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी ए फोर रेटिङ केयर रेटिङ्सले पुन:पुष्टि गरिदिएको छ।
पञ्चकन्या प्लास्टले साढे ८९ करोडको व्यापारसहित रिबाउन्स गर्दै
यो समूहको सीपीभीसी र पीपीआर पाइप उत्पादन गर्ने पञ्चकन्या प्लास्ट प्रालिको कारोबार कोरोना महामारी अघिको लयमा फर्किँदै गएको छ।
२०२१ मा कम्पनीले ८९ करोड ५० लाख रुपैयाँको कारोबार गरेको छ। २०२० मा कम्पनीले ८३ करोड ५० लाख रुपैयाँ र २०१९ मा ९६ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो।
२०२१ मा कम्पनीले उत्पादन गर्ने प्रडक्टको माग बढ्दा कारोबारमा रिबाउन्ड गरेको केयर रेटिङ्स नेपालले जनाएको छ। २०२० मा कोरोना महामारीका कारण कम्पनीको कारोबार घट्न पुगेको थियो।
भैरहवामै पाइप उत्पादन प्लान्ट रहेको उद्योगमा जडित क्षमता वार्षिक पाँच हजार टन छ। यो कम्पनीमा पनि सात सदस्यीय बोर्ड छ। जसको अध्यक्षता प्रेमबहादुर श्रेष्ठले नै गरिरहेका छन्।
कम्पनीले आवश्यक कच्चा पदार्थ थाइल्याण्ड र सिंगापुरबाट आयात गरिरहेको छ। २०२१ मा कुल उत्पादन लागतको ६६ प्रतिशत हिस्सा कम्पनीले कच्चा पदार्थमा खर्चिएको छ। २०२० मा यो संख्या ५५ प्रतिशत थियो।
कम्पनीले ९४ करोड रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ पुन:पुष्टि गराएको छ। ७ करोड ९८ लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी डबल बी र ८६ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी ए फोर रेटिङ पुन:पुष्टि पाएको छ।
८८.६१ प्रतिशतले बढ्यो पञ्चकन्या रोटोमोल्डको व्यापार
पञ्चकन्या समूहकै अर्को कम्पनी पञ्चकन्या रोटोमोल्डको व्यापार ८८.६१ प्रतिशतले बढेको छ। २०२० मा ४५ करोड ६० लाख रुपैयाँको व्यापारलाई कम्पनीले २०२१ मा उछाल ल्याउँदै ८६ करोड १० लाख रुपैयाँ पुर्याएको छ।
युपीभीसी पाइप र फिटिङ्स उत्पादन गर्ने कम्पनीको भैरहवामै वार्षिक पाँच हजार चार सय टन जडित उत्पादन क्षमतासहितको प्लान्ट छ। २०१९ मा कम्पनीको कारोबार ५३ करोड ५० लाख रुपैयाँ थियो।
कम्पनीले पाइप तथा फिटिङ्स उत्पादन गर्न आवश्यक कच्चा पदार्थ पीभीसी रेसिन पाउडर थाइल्याण्डबाट आयात गर्ने गरेको छ। जुन कच्चा पदार्थ डेरिभेटिभ्स हो। २०२१ मा कुल उत्पादन लागतको ७५ प्रतिशत रकम कम्पनीले कच्चा पदार्थमै खर्चिएको केयर रेटिङ्स नेपालले जनाएको छ।
कम्पनीको अध्यक्ष पनि प्रेमबहादुर श्रेष्ठ छन्। यसमा पनि सात सदस्यीय सञ्चालक समिति छ। कम्पनीले ८६ करोड १० लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि केयर रेटिङ्सबाट एनपी ए फोर रेटिङ पुन:पुष्टि पाएको छ।