‘मन्त्री मेनेजरको भूमिका हो, आफैं सबै काम गर्ने होइन,’ पर्यटनमन्त्री श्रेष्ठको अन्तर्वार्ता

बिजमाण्डू
२०७९ भदौ २७ गते ०९:०६ | Sep 12, 2022

कोभिड संक्रमण नियन्त्रणमा आएसँगै विश्वका अधिकांश मुलुकले पर्यटकलक्षित आकर्षक योजना ल्याएका छन्। मालदिभ्स, थाइल्याण्ड, इण्डोनेशिया, भारत लगायत खुला भएसँगै त्यहाँका पर्यटन उद्योगलाई सेवा दिनै भ्याइनभ्याइ छ। नेपाललाई अति सम्भावित पर्यटकीय गन्तव्यका रूपमा लिइए पनि हालसम्म उल्लेख्य प्रभाव भने देखिएको छैन।  

Tata
GBIME
Nepal Life

पाँच दलीय गठबन्धनको सरकारमा एकीकृत समाजवादीले प्रेमबहादुर आलेलाई एकाएक फिर्ता बोलाएर गत असार १३ देखि संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयको नेतृत्व जीवनराम श्रेष्ठलाई दिएको छ। प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति तोकिइसकेको छ। त्यसैले श्रेष्ठको कार्यकाल लामो छैन। यद्यपि उनी पर्यटन क्षेत्रलाई दिगो रूपमा अगाडि बढाउन धेरै काम गर्न सकिने बताइरहेका छन्। उनै पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई बिजमाण्डूका वसन्तराज उप्रेतीले सोधे- चुनाव हुने बेलामा तपाइँ मन्त्री भएर आउनुभयो। काम गर्न भ्याउनुहुन्छ?

म पर्यटन मन्त्री भएर आएको सवा दुई महिना भयो। कोभिड प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थानका लागि व्यापक छलफल गरेर, विगतका प्रतिवेदन अध्ययन गरेर काम अगाडि बढाइरहेका छौं। नेपाललाई विश्वको प्रसिद्ध पर्यटकीय गन्तव्य बनाउने उद्देश्य राखेको छु। यसका लागि ७३ बुँदाको कार्ययोजना बनाएको छु। अहिले त्यसमै केन्द्रित रही काम अगाडि बढाइएको छ। यस अन्तर्गत तत्कालिन, मध्यकालीन र दीर्घकालीन योजना छन्। नियम, कानुन, नियमावली संशोधनका कुराहरुदेखि समयसापेक्ष परिमार्जन गर्ने संशोधन गर्ने कुरादेखि लिएर तत्काल पर्यटन क्षेत्रलाई कसरी उठाउने भन्ने काम छन्। पर्यटन क्षेत्रलाई अब दिगो ढंगले अगाडि लैजाने कुरालाई जोड दिएका छौं।

पर्यटन क्षेत्रलाई रिब्राण्डिङ गर्ने उद्देश्य अनुसार नेपाललाई बाह्रै महिना सिजन हो भन्ने कुरालाई जोड गरेका छौं। अब हरेक नेपालीले स्वदेशी-विदेशी जसलाई भने पनि राउण्ड द इयर नेपाल टुरिष्ट डेष्टिनेसन हो भन्ने कुरा व्यापक रूपमा लैजान अभियान सुरु गर्न लागेका छौं।
पर्यटन क्षेत्रलाई एउटा समावेशी ढंगबाट अगाडि बढाउने र मुलुकको सबै भूभागमा रहेका पर्यटकीय, धार्मिक, सांस्कृतिक महत्त्व बोकेका केन्द्रलाई व्यवस्थित गर्ने, पूर्वाधार निर्माण गर्ने र गन्तव्यस्थलको रूपमा विकास गर्ने कुरालाई जोड दिएका छौं। 

उपत्यका बाहिर र भित्र पर्यटकको बसाईँलाई लम्ब्याउने अनि संस्कृति र सम्पदामा आधारित पर्यटनको विकास गर्ने योजना बनाएका छौं। त्यसका लागि विभिन्न कार्ययोजना अगाडि सारेका छौं। यस अन्तर्गत हब अन हब बस संचालन, रात्रिकालीन पर्यटकीय गतिविधि सञ्चालन गर्नका साथै उपत्यका भित्रका सम्पदाहरु जोडेर सम्पदा मार्ग तयार गर्ने र सम्पदा यात्रा गराउने तयारी गरिरहेका छौं।

यो सँगै महाभारत रेन्जको साइक्लिङ, हाइकीङका योजना पनि अगाडि बढाएका छौं। नयाँ प्रोडक्टको रुपमा हनुमानढोका-स्वयम्भू हेरिटेज ट्रेल विकास गर्ने कुरालाई अगाडि बढाएका छौं। लोकल गाइड तयार गर्ने काम पनि भइरहेको छ। 

पर्यटन क्षेत्रको कामलाई दिगो बनाउनका लागि दशक पर्यटन वर्षका रूपमा २०२३ देखि २०३२ सम्मलाई समय छुट्याएका छौं। मन्त्रालयको तर्फबाट घोषणा भइसकेको यो योजना सरकारबाट घोषणा हुन बाँकी नै छ।

कार्यकाल लामो छैन तर तपाइँ आउनेबित्तिकै केके गर्ने भन्ने सूची लामो रहेछ। योजनाले कसरी निरन्तरता पाउला?

मन्त्री परिवर्तन हुनु प्रक्रियाको कुरा हो। तर मन्त्रालय र नेतृत्व भनेको अविछिन्न उत्तराधिकार हो। जो आए पनि त्यो मन्त्रालयलाई निरन्तरता दिने कुरा हुन्छन्। अहिले मैले सारेका योजना पर्यटन क्षेत्रको लागि निकै महत्त्वपूर्ण र दीर्घकालीन महत्व राख्ने योजना हुन्। पर्यटन क्षेत्रलाई अभिवृद्धि गरेर रोजगारी सिर्जना गर्ने, अर्थतन्त्रलाई टेवा पुर्या उने र वैदेशिक मुद्रा आर्जन गर्ने कुरा यसमा जोडिएका छन्। हामीले अहिले नेपालमा यो हिसाबले पर्यटन क्षेत्रलाई विकास गर्न सक्यौं भने पचासौं लाख पर्यटक भित्र्याउन सक्छौं।

त्यसो हुँदा अहिले रोजगारीको खोजीमा दुःख गरेर विदेश जाने स्थिति बन्द हुनेछ। नेपालीसँगै विदेशीले पनि यहाँ रोजगारी पाउने अवसर बन्नेछ। यसकारण पर्यटन मन्त्रालयमा मन्त्री भएर आउनुहुनेले मुलुकको पर्यटन क्षेत्रको विकास गर्न आउने हो। यो योजना भन्दा बाहिर जाने अवस्थाहरु बिलकुल रहँदैन। पर्यटन क्षेत्रलाई विकास गर्ने र एउटा अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा अगाडि बढाउने हो भने यी योजनालाई निरन्तरता दिनुपर्ने आवश्यकता देखिन्छ।

तपाईभन्दा अघिका पर्यटनमन्त्री प्रेमबहादुर आलेले एक्सन ओरियन्टेड काम गर्नुभयो। चाहे त्यो बतास होस् वा क्यासिनोको लाइसेन्स बाँड्ने होस्। आलेकोजस्तै काम जनता चाहन्छन्। तपाइँबाट त्यो अपेक्षा राख्न सकिन्छ? 

कार्यशैली आ-आफ्नो हुन्छ, स्वभाव आ-आफ्नै हुन्छन्। मुख्य कुरा भनेको नतिजा हो। एक्सन कसरी जानु छ भन्ने कुरा महत्वपुर्ण हुँदैन। रिजल्ट आउँछ की आउँदैन भन्ने कुरा महत्वपूर्ण  हो। वस्तुस्थिति सबै बुझेर स्टेक होल्डरसँग छलफल गरेर निजी क्षेत्रसँग पनि हातेमालो गरेर अगाडि बढ्नुपर्छ भन्ने नीतिअनुसार कार्ययोजना अगाडि सारेको छु। कार्य योजनालाई सफल बनाउन सकियो भने नेपालमा भोलिका दिनमा पचासौं लाख पर्यटक बस्ने आधार तयार हुनेछ। यसले नेपाललाई समृद्धिको दिशामा लैजान्छ।

मन्त्रालयको नेतृत्व भिजन-मिसनसहित गर्नुपर्छ। मन्त्री एउटा मेनेजरको भूमिका हो। त्यसकारण आफैं गएर सबै ठाउँमा काम गर्ने भन्ने होइन। मन्त्रालय अन्तर्गतको विङ्स परिचालन गर्ने रिजल्ट ओरियन्टेड बनाउने र राम्रो रिजल्ट ल्याउने। यो काम भनेको नेतृत्वको हो। 

ठूलो वैदेशिक ऋण लगानीमा निर्माण भएका दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नुपर्ने छन्। धान्नै नसक्ने  ऋणमा परेको नेपाल वायुसेवा निगमको वित्तीय अवस्था सुधार्ने दायित्व पनि पर्यटन मन्त्रालयलाई छ। तर यसमा तपाईको ध्यान कम भएको देखिन्छ। किन? 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरूपमा सञ्चालन ल्याउनका लागि हामी लागिपरिरहेका छौं। उडान संख्या वृद्धिका लागि गृहकार्य सुरु गरिसकेका छौं। यो सँगै पर्यटकको संख्यालाई अभिवृद्धि नगरीकन विमानस्थलमा उडान संख्या पनि वृद्धि हुने सम्भावना हुँदैन। बिजनेस चाहिन्छ। 

हामीले लुम्बिनी, भगवान गौतम बुद्धको जन्मस्थल, संसारको अग्लो हिमाल लगायत री-ब्राण्डिङमा जान सक्छौं। अब बाह्रै महिना पर्यटक आउने गन्तव्यस्थलका रूपमा विकास गर्ने कुरालाई व्यापकरुपमा लैजान अगाडि सारेका छौं।

नेपालमा भारतबाट धेरै विदेशी पर्यटक आउने गरेका छन्। भारतको पनि विभिन्न सहरमा प्रमोसनको कामलाई अगाडि बढाउने हो। यो सँगै चीनको विभिन्न सहर केन्द्रित प्रचारप्रसारको काम गर्न आवश्यक छ। यस्ता गन्तव्यमा स्थायीरुपमै प्रतिनिधि राखेर प्रचारप्रसारमा लगाउने योजना बनाइसेकका छौं। युरोप, अमेरिका, अष्ट्रेलियातर्फ पनि प्रचारप्रसार अगाडि बढाउने योजना बनाएका छौं।

जब संसारका बौद्ध धर्मावलम्बी एकपटक लुम्बिनी जानुपर्छ भन्ने मान्यता विकास गर्ने वित्तिकै लुम्बिनीको अहिलेको विमानस्थलले पर्यटकको संख्या धान्न नसक्ने अवस्था आउँछ। पर्यटकको संख्यामा ह्वात्तै बढ्छ। त्यसका लागि पूर्वाधार र पर्यटकमैत्री वातावरण सिर्जना आवश्यक छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ९८ प्रतिशत काम सकिसकेको छ। एउटा रिट्ठेपानी डाँडा कटानका लागि टेण्डर भइसकेको छ। तर हामीले जनवरीमा सञ्चालनमा ल्याउने निर्णय गरेका छौं। ल्याण्डफिल साइट स्थानान्तरणका लागि पोखराको नागरिक समाज र मेयरसँग पटक-पटक छलफल गरिसकेका छौं। 

अब नेपाल वायुसेवा निगमको कुरा गर्दा म आउनु अगाडि नै त्यहाँ विवाद थियो। नेतृत्व अयोग्य र असक्षम भयो। यो सञ्चालन गर्न सकिएन। संस्था सञ्चालन भएन। हामीसँग भएको चारवटा ठूला जहाजहरु फुल फेजमा सञ्चालन हुन सकेका छैनन्। आन्तरिकतर्फ पनि एउटा मात्र जहाज उडिरहेको छ।

त्यहाँ अव्यवस्थित अवस्था छ। सरकारले त्यो कार्यकारी अध्यक्षलाई हटाउने भनेर छानबिन गर्ने काम गर्‍यो। निलम्बनलाई फेरि अदालतको स्टेको कारणले उनी कामकाज गरिरहेको अवस्था छ। अल्पकालीन स्टे दिइएको छ। तर मुद्दाको पालो नआएर कारबाही प्रक्रिया सरिरहेको अवस्था छ।

नेपाल वायुसेवा निगममा सरकारको ४७ अर्ब रुपैयाँ ऋण छ। यत्रो ठूलो लगानी डुब्ने हो की भन्ने चिन्ता छ। अदालतको आदेशका कारणले अयोग्य व्यक्ति नै कुर्सीमा बसिरहेको अवस्था छ। जसले निगमलाई सुधारको दिशामा लैजान सकेको छैन। यो हाम्रो विडम्बना हो।

यो अवधिमा तपाईले सबै जोडबल नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष हटाउनेमा मात्रै छ। दुई पटक मन्त्रिपरिषद्‍मा लगेर बर्खास्त गर्न लाग्नुभयो। एउटा कर्मचारीका लागि यति धेरै पूर्वाग्रह राखेर ध्यान केन्द्रित गर्दा ठूला विषय ओझेलमा परे नि होइन?

अब निगम सुधार गर्ने भनेकै आफैंमा महत्त्वपूर्ण काम हो। किनभने नेपालको एक मात्र ध्वजावाहक वायुसेवा निगम मात्र हो। नेपाल र नेपालीको प्रतिष्ठासँग गाँसिएको छ। यसलाई सुधार नगरीकन हामीसँग अर्को विकल्प छैन।

पहाडी दुर्गम क्षेत्रमा उडान सेवा पनि निगमले नै गर्ने हो। हामीले निर्णय गरे पनि अदालतको आदेशको कारणले अहिले गार्जेन नभएको अवस्था हो। त्यसकारण सुधार्न खोज्दा पनि सरकार मूकदर्शकको स्थितिमा छ।

निगमका कार्यकारी अध्यक्ष हट्नेवित्तिकै एनएसीमा आमूल परिवर्तन हुन्छ? नभए हटाउन यति जोडबल किन?

यसो भयो भने निगम सुधारको पाटोमा अगाडि बढ्न सुक्छ। अहिले जुन ढंगबाट निगम अस्तव्यस्त भइरहेको छ। त्यो सुधारको दिशामा बढ्न सक्छ।

भनेपछि अहिलेका कार्यकारीकै कारणले निगमको सबै काम रोकिएको हो?

मुख्य कार्यकारी अध्यक्ष उहाँ हुनुहुन्छ। उहाँले जिम्मेवारी पुर्वक काम नगरी अरुले गर्न सक्दैन। अरुको क्षमता छैन। अब कति गैरजिम्मेवार र कति अयोग्य छ भन्ने कुरा त उहाँको आफ्नै बोर्डको सदस्यले कार्यकारी अध्यक्षले सही ढंगबाट काम नगरेको, अयोग्यता भएको, जहाज मर्मतसम्भारमा मतलब नगरेको ठहर्यागएर स्पष्टीकरण सोधिएको छ। यो जत्तिको विडम्बना अरु केही हुन सक्दैन। यत्ति हुँदा पनि अध्यक्ष कुर्सी नछोडीकन बसिरहेका छन्।

तपाई र कार्यकारी अध्यक्षबीचको द्वन्द्वले निगमको न्यारोबडी ग्राउन्डेड भएको एक महिना बढी भइसकेको छ। जहाज ग्राउन्डेड हुँदा नोक्सानी झन् बढेको छ। राजनीतिले थिलोथिलो बनेको निगमलाई थप राजनीतिमा धकेल्ने काम भयो नि ?

एउटा कुरा त के हो भने राजनैतिक नियुक्तिमा गएका मान्छेहरु सरकारले नै नियुक्ति गरेको हो। सरकारले नै जब असक्षम छ र चलाउन सकेन भनेर हटाइसकेपछि त्यो बसिराख्ने भनेको नैतिक रुपमा पनि मिल्दैन। तर यस्तो व्यक्ति आइदियो की जसलाई नैतिकताले कुनै काम गर्दैन। कुनै खालको टिकाटीप्पणीले पनि काम गर्दैन।

आफ्नो अयोग्यता र असक्षमतालाई स्विकार्न सक्दैन। यस्ता गतिविधिले निगममा आर्थिकरूपमै ठूलो आर्थिक संकट आउने र निगमको भविष्य नै अन्धकार बनाउने अवस्था देखिएको छ।

मन्त्रालयको नेतृत्वमा नयाँ व्यक्ति आएर आफ्नै शैलीको योजना अगाडि सार्छन्। निगममा पनि कार्यकारी पदमा आएका व्यक्तिको परिवर्तशील योजनाले निगम झन् झन् थलिएको हो?

निगम व्यवसायिक संस्था हो। यस्तो संस्थालाई बिजनेस मोटिभले नै चलाउनु पर्छ। देशको प्रतिपष्ठासँग गाँसिएको संस्थालाई राम्रोसँग चलाउने हो भने त्यहाँ जति पनि नाफा हुन्छ। त्यसले सेवा पनि राम्रोसँग प्रवाह गर्न सक्छ। अहिले पहाडी दुर्गम जिल्लामा फ्लाइट नभएर दुःख पाइरहेको छ। अरु निजी कम्पनी त त्यता जाँदैनन्। त्यहाँ सेवा दिने भनेको राष्ट्रिय ध्वजावाहक नै हो।

यसको कारण भनेकै असफल नेतृत्व हो। असफल भइसकेपछि पनि छोडेर जानुपर्ने। त्यो छोडेको अवस्था छैन। अब कर्मचारीको रीस गरेर सरुवा गरेर हुन्छ। एउटा व्यक्तिका कारणले निगमसँगै त्यहाँको कर्मचारीको भविष्य पनि अन्धकारमा जाँदै छ। 

यसअघि निगम पुनरुत्थानका लागि कम्पनी मोडलदेखि विभिन्न विकल्प नआएका होइनन्। तपाईँले आफ्नो तर्फबाट निगम सुधारका लागि यो योजना बनाउनुभएको छ?

नेपाल वायुसेवा निगमको सुधारका लागि त्यहाँ ढंगबाट छलफल गर्न आवश्यक छ। यही तरिकाले निगम अब उठ्न सक्दैन भन्ने कुरा पटक पटक को घटना क्रमले देखाइसकेको छ। यसलाई नयाँ ढंगबाट जान पर्ने आवश्यकता छ। यिका लागि व्यापक छलफल गर्न आवश्यक छ। निगमलाई कसरी व्यवस्थित गर्ने, नाफामा लैजाने र बढी सेवा प्रदान गर्न सक्ने, क्षमता वृद्धि गर्नेतर्फ अगाडि बढ्नै पर्छ।

नेपाल वायुसेवा निगमबारे हामीले धेरै बहस गर्यौं, पर्यटन बोर्डबारे तपाइँलाई केही हेक्का छ? बोर्डले मुलुकको पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी काम गरिरहेको छ?

म आउनुभन्दा अगाडिदेखि नै विवाद रहेको अवस्था हो। उहाँलाई (पर्यटन बोर्ड प्रमुख) पनि अदालतले नै अन्तरिम आदेश दिएर काम गर्न दिएको स्थिति छ। र अहिले पर्यटन बोर्डलाई एउटा ओरिन्टेसन दिएको छु। र अहिले ७३ बुँदाको हाम्रो जुन कार्ययोजना छ। त्यो सँग सम्न्धित रहेका कतिपय प्रवर्द्धनका कामहरु री-ब्राण्डिङका कुरालाई जोड दिइएको छ।

प्रमुख कार्यकारी अधिकृतप्रति उठाइएको कारबाही यत्तिकै रहनेभयो?

अदालतले उहाँलाई अन्तरिम आदेश दिएर कामकाज गराउने भनेर निर्णय गरेको छ, त्यसकारण अहिले हामीले त्यता प्रवेश गर्ने कुरा आएन। अदालतले जे फैसला गर्छ त्यही अनुसार कार्यान्वयन गरिनेछ। तर अहिले हामीले पर्यटन बोर्डलाई सक्रिय बनाउने र पर्यटन क्षेत्र पुनरुत्थान गर्ने कुरालाई जोड दिइएको छ। अहिले बोर्डलाई सक्रिय बनाइएको छ।

विश्वका विभिन्न देशले पर्यटक आकर्षित गर्न भिसा शुल्क मिनाहा, होटल र रेष्टुरेन्टमा आकर्षक छुटदेखि विभिन्न जहाज कम्पनीलाई सहुलियतमा उडानका लागि प्रोत्साहित गरिरहेका छन्। तर हामीले यस्ता कुनै कार्यक्रम ल्याउने तयारी छैन। केही नगरी पर्यटक कसरी आकर्षित हुन्छन् ?

हामीले पनि यसमा ध्यान दिइरहेका छौं। नयाँ विमानस्थल सञ्चालनका लागि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आकर्षित गराउने उद्देश्यले नागरिक उड्डयन प्राधिकरणका तर्फबाट ल्याण्डिङ, पार्किङ, कम्युनिकेसन, नेभिगेसनमा शतप्रतिशत छुट दिइसकेका छौं। ग्राउण्ड ह्याण्डलिङमा पनि ५० प्रतिशत छुट दिइसकेका छौं। त्यसैगरी अरु वायुसेवा कम्पनीलाई पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गराउने वातावारण बनाउनका लागि हामी लागिपरेका छौँ।

भ्रमण वर्ष २०२० को समयमा जसरी आकर्षक योजना सार्वजनिक गरिएको थियो, लाइफटाइम एक्सपेरियन्सका लागि नेपाल भ्रमणका लागि सधैं खुला छ भन्ने किसिमको प्रचार द्रुत गतिमा लगिएको देखिएन नि?

यसका लागि अब हामी भिजिट डिकेड भनेर अगाडि बढ्न गइरहेका छौं। यसको तयारीमा लागेका छौं। योसँगै आकर्षक योजना तयार गर्ने, ह्यासल फ्री आवागमनलाई प्राथमिकता दिएका छौं। विदेशी पर्यटकलाई नेपालमा आएर बढीभन्दा बढी समय व्यतीत गर्ने वातावरण तयार गर्ने कुराहरुमा केन्द्रित छौँ। यसमै काम गरिरहेका छौं।

फेरि पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमै फर्किउँ। अहिलेको हालतमा र यही मेसिनरीबाट विमानस्थलले आर्थिक प्रतिफल दिन्छ ?
हाम्रो मेसिनरी राम्रै छ। हामीसँग भएको मेसिनरीमा क्षमता छैन भन्न मिल्दैन। तर अब यहाँ कोही व्यवस्थापन गर्नका लागि तयार रहेका कोही अब्बल क्षमताका कम्पनी आउँछन् भने त्यसमा छलफल गरेर अगाडि बढ्नेछौँ।

भनेपछि अहिलेको मेसिनरी ठीक छ तर अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पर्याप्त छैन?

पर्याप्तभन्दा पनि सक्षम छ।

सर्वोच्च अदालतबाट आदेशपछि प्रधानमन्त्रीसहित गठबन्धनको नेताहरु निजगढ विमानस्थल बन्ने स्थानको निरीक्षण गर्न पुग्नुभयो। विज्ञ टोलीसमेत बन्यो। अहिलेसम्मको डेभलपमेन्ट के हो ?

सर्वोच्च अदालतको परमादेशको आधारमा त्यसलाई सम्मान गर्दै हामीले विज्ञ टोली बनायौं। म मन्त्री भएपछि एक सातामै प्रधानमन्त्री र गठबन्धनका शीर्ष नेता, सम्बन्धित मन्त्री त्यहाँ अवलोकनका लागि गएका थियौं। त्यहाँ स्थानीय र नगरपालिका प्रमुखसँग छलफल गर्यौं। सबैको माग अन्तर्राष्ट्रिय विमानस्थल निजगढमै बनाउनु पर्छ भन्ने नै छ। र त्यहाँ रुख कटानको स्थिति के छ भन्ने कुरा पनि हेर्‍यौं । त्यहाँ मैदानको स्थिति बनेको छ। विज्ञको टोलि बनायौं, उहाँहरुको रिपोर्ट आएलगत्तै द्रुत रुपमा काम अगाडि बढाउने छौं।

नागरिक उड्डयन प्राधिकरणलाई नियमनकारी र सेवा प्रदायकका रूपमा दुईटा बनाउन विभाजन गर्ने चर्चा चलेको धेरै भयो। विधेयक मस्यौदा भएर संसद पनि पुग्यो। इयुले अनबन्डलिङकै मुद्दा अगाडि सारेर नेपाली हवाई उडानलाई सुरक्षा सूचीमा राखिरहेको छ। अहिले आएर तपाइँहरु एकाएक विभाजन आवश्यक नै छैन भन्न थाल्नुभएको छ। किन?

समयले आवश्यकता भयो भने विभाजनका गर्नुपर्ने स्थिति आउन सक्छ। तत्कालका लागि भने विभाजन गरिहाल्नु पर्छ भन्नेमा हामी छैनौं। विश्वका अधिकांश मुलुकमा नेपालमा जस्तै एउटै संयन्त्रबाट उड्डयन क्षेत्र नियमन र सेवाको काम हुँदै आएको छ।

हाम्रोमा पनि सर्भिस र रेगुलेटर सेक्टर आन्तरिक रुपमा सेपरेट छ। सर्भिसको रेगुलेटमा जान सक्दैन। रेगुलेटको सर्भिसमा आउन सक्दैन। महानिर्देशक मात्र एकजना हो। तर बाँकीमा सेपरेसन छ। त्यसकारण अहिले तत्कालै त्यो बाटोमा हामी जानै पर्छ र त्यो बाटोमा जानेबित्तिकै ठूलै उथलपुथल हुन्छ भन्ने होइन।

अहिले हाम्रो उड्डयन सुरक्षाका कुराहरु अरु मुलुकको जत्तिकै छ। आइकाओको अडीटमा पनि राम्रै स्कोर उन सफल भएका छौं। अब युरोपियन युनियन एभिएसन सेफ्टी एजेन्सी ‘इआसा’ले पनि यहाँको सेफ्टीलाई लिएर पत्राचार सुरु गरिसकेको छ। मिलेर जाने कुराहरु गरेको छ। उहाँहरुको पनि अडिट आउँदैछ।

इकाओले जुन स्टाण्डर्ड हामीलाई दिएको छ, इआसाबाट पनि उही स्टाण्डर्ड मेन्टेन हुने आशा लिएका छौं। र अर्को कुरा भनेको हामीले छिट्टै अमेरिकन एयरलाइन्ससँग दुईतर्फी उडानका लागि कुराकानी अगाडि बढेको छ। हाम्रो एयरलाइन्स कोरिया, अष्ट्रेलिया लगायतको मुलुकमा व्यवसायिक उडान गर्ने छलफल सुरु भइसकेको छ। अरु मुलुकहरु पनि हाम्रो मुलुकमा दुईतर्फी सिधा उडानका लागि सम्पर्कमा आएका छन्।