दसैंमा ठूला आइएसपीहरुले ल्याए विभिन्न अफर, कम मूल्यमै इन्टरनेटदेखि टेलिभिजन सेटसम्म

बिजमाण्डू
२०७९ असोज १० गते ०९:२९ | Sep 26, 2022


काठमाडौं। दसैं सुरु भएसँगै इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले ग्राहक आकर्षित गर्न धमाधम अफर सार्वजनिक गरेका छन्। यो वर्ष प्राय सबै ठूला इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेट र आइपीटिभीको सब्स्क्रिप्सन गर्दा रकम थपेर टेलिभिजन सेटसहितको अफर ल्याएका छन्। 

Tata
GBIME
Nepal Life

घटस्थापनाको दिनसम्म क्लासिक टेक, वर्ल्डलिंक, भायनेट, सुबिसु, डिसहोमले ग्राहक तान्न र भएका ग्राहकहरुलाई जोगाइराख्न चाडपर्व लक्षित अफर सार्वजनिक गरिसकेका छन्। 

गत वर्ष पनि ठूला आइएसपीहरुले चाडपर्व लक्षित अफर सार्वजनिक गरेका थिए। २०७७ मा भने कोरोना महामारीका कारण पर्याप्त तयारी गर्न नपाउँदा क्लासिक टेक र भायनेटबाहेक अरु आइएसपीहरुले अफर सार्वजनिक गरेका थिएनन्। 

क्लासिक टेकको ‘फेस्टिबल’ अफर
क्लासिक टेकले चाडपर्व लक्षित फेस्टिबल अफर ल्याएको छ। दसैं स्मार्ट टिभी अफरअन्तर्गत क्लासिक टेकले ५० एमबीपीएस, ८० एमबीपीएस र १०० एमबीपीएसको खरिदमा थप पैसा हालेर ३२ इन्चको एलइडी टिभी र ४३ इन्चको स्मार्ट टिभी पाउने जनाएको छ। 

भ्याटबाहेक ३२ इन्च टिभीको मूल्य १३ हजार २७३ र ४३ इन्च टिभीको २५ हजार ६६३ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ। 

नेटटिभीसँगको सहकार्यमा वर्ल्डलिंकको ‘फेस्टिभिटी’ अफर
देशको ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले नेटटिभीको फेस्टिभिटी अफर सार्वजनिक गरेको छ। वर्ल्डलिंकले भ्याटबाहेक २५ हजार ९०० रुपैयाँमा ३२ इन्चको यासुदा एलइडी टिभी, एक वर्ष २०० एमबीपीएस इन्टरनेट र नेटटिभी सब्स्क्रिप्सन उपलब्ध गराउने जनाएको छ।

यसका साथै एउटा डुअल ब्यान्ड राउटर, नोकिया मेस राउटर बिकन १.१ र नेटटिभी सेटअप बक्सको अफर ल्याएको छ। वर्ल्डलिंकले ४३ इन्चको यासुदा स्मार्ट टिभीसहितको प्याकेजलाई भने भ्याटबाहेक ३८ हजार ४८८ रुपैयाँ पर्ने जनाएको छ। 

भायनेटले अतिरिक्त राउटर र टिभी सेटमा ५१% छुट दिने
भायनेटले पनि दसैंलाई लक्षित गर्दै इन्टरनेट र भायटिभीमा अफर ल्याएको छ। भायनेटले अल्ट्राफाइ प्लानअन्तर्गत एक वर्षको इन्टरनेट खरिद गर्ने ग्राहकहरुलाई नोकिया बिकन राउटर १.१ मेस राउटर वा एमआइ फोर ए डुअल ब्यान्ड राउटर अतिरिक्त दिने अफर ल्याएको छ। 

भायटिभीको वार्षिक सब्स्क्रिप्सन लिने ग्राहकहरुलाई भायनेटले हिमस्टारको टिभी ५१ प्रतिशत छुटमा दिने जनाएको छ। ३२ इन्चको एलइडी टिभी १३ हजार ६९९ रुपैयाँ र ४३ इन्चको स्मार्ट टिभी २७ हजार ४९९ रुपैयाँमा उपलब्ध हुने भायनेटले जनाएको छ। उक्त मूल्य भ्याटसहित भएको बताइएको छ। 

सुबिसुको दसैं तिहार स्मार्ट अफर
सुबिसुले दसैं तिहार स्मार्ट अफर ल्याएको छ। सुबिसुले स्मार्ट डिल, स्मार्ट सेभिङ र स्मार्ट स्पिड गरी तीनवटा अफर ल्याएको छ। 
स्मार्ट डिल अन्तर्गत तीन महिना वा त्योभन्दा बढीको प्याकेज खरिद गर्ने ग्राहकलाई सुबिसुले ३२ इन्चको स्मार्ट टिभी १५ हजार ९९९ रुपैयाँ र ६.५ इन्च स्मार्टफोन १४ हजार ५०० रुपैयाँ तोकेको छ। 

स्मार्ट सेभिङअन्तर्गत १०० एमबीपीएस इन्टरनेटको तीन महिनाको प्याकेज ४९९९ रुपैयाँ पर्ने सुबिसुले जनाएको छ। १२ महिनाको प्याकेजको मूल्य ११ हजार ९९९ रुपैयाँ सुबिसुले तोकेको छ। 

३०० एमबीपीएस इन्टरनेटको मूल्य सुबिसुले तीन महिनाको ७९९९ रुपैयाँ र १२ महिनाको १४ हजार ९९९ रुपैयाँ तोकेको छ। स्मार्ट टिभी र स्मार्टफोनको वारेन्टी तथा अन्य सेवाको जिम्मेवारी भने सम्बन्धित कम्पनीले लिने भएकाले सुबिसु जिम्मेवार नहुने कम्पनीले जनाएको छ। यो मूल्यमा भ्याट, डिभाइस र जडान शुल्क समावेश गरिएको सुबिसुले जनाएको छ। 

सुबिसुले आफ्ना पुराना ग्राहकहरुलाई लक्षित गर्दै स्मार्ट स्पिड अफर पनि ल्याएको छ। पुरानै मूल्यमा बढी इन्टरनेट स्पिडसहितको इन्टरनेट उपलब्ध गराउने कम्पनीले जनाएको छ। 

डिसहोमको फेस्टिभ फाइबरनेट अफर
अर्को आइएसपी डिसहोमले पनि चाडबाडको अवसरमा आकर्षक शुल्कमा इन्टरनेट सेवासहितको अफर ल्याएको छ। कम्पनीले ७५ एमबीपीएस स्पिडको इन्टरनेट प्रति महिना ५९५ रुपैयाँ, १०० एमबीपीएस प्रति महिना ६८७ रुपैयाँ, १५० एमबीपीएस प्रति महिना ८२४ रुपैयाँमा दिने भएको छ। 

 

यस्तै, २०० एमबीपीएस प्रति महिना ८७० रुपैयाँ र २५० एमबीपीएस प्रति महिना ९१६ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ। डिसहोमले प्रति महिना २५० रुपैयाँमा डिसहोमको आइपीटिभी वा डिटिएच दिने भएको छ।