श्रेष्ठ टेलरिङः जागिर छाडेर लिएको त्यो जोखिम




काठमाडौं। नेपालमा टेलरिङ र सुटिङ सर्टिङ व्यवसायमा अग्रणी नाम हो श्रेष्ठ टेलरिङ। जेथा जमानी राखेर कुनै बैंक तथा वित्तीय संस्थाको ऋणमा एकैपटक उभिएको वा धनाढ्य कुनै परिवारले रहरका रुपमा थालेको व्यवसायिक प्रतिष्ठान होइन यो। श्रेष्ठ टेलरिङको आजको फैलिएको व्यवसायको पृष्ठभूमिमा चार दशक अघिदेखिको बाबुकाजी श्रेष्ठ र उनको परिवारको अथक परिश्रम छ।



बागबजारबाट सुरु भएको श्रेष्ठ टेलरिङ उपत्यकाका बिभिन्न स्थानमा विस्तारित छ। यसले टेलरिङ व्यवसायलाई सम्मान त दिलाएकै छ, व्यवसायको तरिका सिकाउनुका साथै दिगो तरिकाले फाइदामा जाने बाटो देखाएको छ। यो व्यवसायिक प्रतिष्ठान एकैपटक अहिलेको स्थानमा आइपुगेको होइन। श्रेष्ठ परिवारले संघर्षका लामो चरण पार गरेका हुन्।    

श्रेष्ठ टेलरिङका संस्थापक हुन् बाबुकाजी श्रेष्ठ। उनी परिवारका जेठा छोरो थिए। दुई भाई र एक बहिनीको जिम्मेवारी पनि उनकै काँधमा थियो। १८ वर्षकै उमेरमा विवाह गरेका उनलाई आफ्नो परिवारको भार पनि थियो नै। सरकारी जागिरे थिए, महिनाको तलब थियो ३२५ रुपैयाँ। घरको भरथेग खेतीपातीले चल्ने गरेको थियो। विवाहको केही वर्षमा नै बाबुकाजीको एक छोरा र छोरी सन्तान जन्मिए। 

‘जिम्मेवारी थपिँदै गयो। मेरो तलबले घरको खर्च धान्न सक्ने अवस्था भएन। आवश्यकता पनि बढ्दै गयो। म खर्च जुटाउने नयाँ कामहरू खोज्न थाले,’ उनले बिगत सम्झिए।

त्यसै सिलसिलामा उनी सिलाई सिक्न खिचापोखरीस्थित सुनिता सिलाइ प्रशिक्षण केन्द्र पुगे। दिनमा सुन्धारामा रहेको रक्षा कन्ट्रोलरको अफिसमा मुखियाको पदमा टाइपिस्टको काम गर्थे बाबुकाजी। विहान र बेलुका भने सिलाई सिक्थे। चाबहिलस्थित आफ्नो घर, कार्यालय र सिलाइ केन्द्रमा उनको भागदौड ६ महिना चल्यो। 

बाबुकाजीले ६० रुपैयाँ भाडामा मेसिन लिए, घरमा नै सिलाइकटाइको काममा पोख्त हुन बिहान-साँझ अभ्यास गर्थे। काममा हात बस्दै गएपछि उनले विस्तारै घरबाट नै बच्चाहरूको स्कूलको ड्रेस, चोलो, दौरा-सुरुवाल लगायतका लुगाहरू सिलाउने थाले। कार्टुनको कागजमा हातैले 'बीके श्रेष्ठ टेलरिङ' लेखे र, घरको झ्यालबाहिर झुण्ड्याए।

धेरथोर आम्दानी हुन थाल्यो। यसैलाई दिगो व्यवसायिक तरिकाले चलाए आम्दानीमा ठूलो भरथेग हुने संकेत बाबुकाजीले पाए। यो २०३० दशकतिरको कुरा थियो। समाज उदार भइसकेको थिएन। शैक्षिक चेतनाको स्तर अहिले जस्तो थिएन।

सिलाईबुनाइ कथित तल्लो जातले गर्ने काममा गनिन्थ्यो। 'लुगा सिलाउने काम गरेर नेवारको जातै फाल्यो' भनेर बुबाआमा असन्तुष्ट थिए। भाडामा ल्याएको मेसिन बाबुकाजी अफिस गएका बेला बाबुआमाले फिर्ता गरिदिए। यो घटनाले परिवारमा तनाव भयो। वृद्ध बाबुआमा चाहन्थे- 'जेठोले जे गरे पनि समाजमा सम्मानित पेसा गर्नुपर्छ, टेलरिङ सम्मानित पेसा होइन।'

तर बाबुकाजीले टेलरिङको काममा धेरै सोचेरै हात हालेका थिए। उनले छाड्ने भएनन्। आफ्नो निर्णयमा अडिग रहे। यसले बाबुकाजीलाई घरमा बस्न असहज भयो। उनको जीवनमा नयाँ अध्याय सुरु भयो। ‘त्यसपछि श्रीमती र दुई बच्चा लिएर म बागबजार आइपुगेँ। बागबजार गल्लीको एउटा पुरानो घरमा एउटा कोठा भाडामा लिएर बस्न थालेँ,’ उनले भने।

त्यो साँघुरो अँध्यारो कोठामा एक छेउमा भान्सा, एकातिर खाट र अर्को कुनामा मेसिन थियो। त्यो मेसिन पनि त्यति सजिलै आएको थिएन। उनले आफ्नो श्रीमती नारायणदेवीको सुनका गहना धितो राखी ५०० रुपैयाँमा मेसिन किनेका थिए। त्यसबाट व्यवसाय सुरु भयो।  

संघर्षका ती दिनहरू सम्झिँदै बाबुकाजी भन्छन्, ‘म दिनमा अफिस जान्थेँ। विहान-बेलुका लुगा सिलाउने काम गर्थेँ। श्रीमती दिनमा लुगाहरूको अर्डरहरू लिनेदेखि हातको काम सबै गर्थिन्। हामी दम्पती मिलेर रात-रातभर जागा बसेर पनि काम सकाउँथ्यौं।’ विस्तारै उनको मेहनती कामको चर्चा चुलियो। लुगा सिलाउन ल्याउने ग्राहक बढे।

बाबुकाजी भन्छन्, ‘काम गर्दै गएपछि मैले पैसा आएको देखेँ। घर खर्च चलाउन झनझन् सजिलो हुँदै गयो, दुःख भएन। मेरो काम धेरैले मन पराउन पनि थाले। दिन प्रतिदिन ग्राहकहरू बढे।’

जागिरे जीवनमा पनि बढुवा भएर उनी खरिदार पनि बनिसकेका थिए। रक्षापछि उनको सामान्य प्रशासन मन्त्रालय र नेपाल परिवार नियोजन संघमा पनि सरुवा भयो। एकातिर जागिरे जीवन, अर्कोतिर व्यवसाय। उनलाई समय मिलाउन हम्मे-हम्मे पर्थ्यो।

‘कि अब टाट पल्टियो की यही टेलरिङको कामबाट कमाउँछु भनेर मैले २०३६ सालमा जागिर छोडेँ। त्यसपछि मलाई कहिल्यै पछाडि फर्केर हेर्न परेको छैन,’ उनी सुनाउँछन्। जागिर छाडेपछि उनले श्रेष्ठ टेलरिङलाई आफ्नो पुरा समय दिए। विस्तारै व्यवासायले पनि फड्को मर्न थाल्यो।

सरकारी जागिर छाडेकै दिनदेखि बाबुकाजीले सिलाइसँगै आफ्नो पसलमा कपडाहरू पनि राख्न थाले। ‘अरू टेलरमा लुगा सिलाउँदा कपडा अन्तैबाट किनेर ल्याउनपर्ने झन्झट हुन्थ्यो। हाम्रोमा कपडा र सिलाइ एकै ठाउँ भयो,' उनले भने, 'हामीले इन्डियन, कोरियन, जापानिज कपडादेखि जिन्सका कपडा सबै नै राखेका थियौं।’

पसलमा थप लगानी गर्दै उनले बागबजारको मुख्य सडकमा टेलरिङलाई हालको ठाउँमा स्थानान्तरण गरे। यो अवधिसम्म आउँदा श्रेष्ठ टेलरिङमा १३ कर्मचारीहरू आबद्ध भइसकेका थिए। आठ मेसिनबाट काम हुन थालिसकेको थियो।

बजारमा जुन-जुन डिजाइनका लुगाहरू आउँथे, उनी सबै जसो कपडाहरू बनाउने गर्थे। बाबुकाजी चलचित्र हेर्न जान्थे। मनोरन्जनका लागि भन्दा पनि नयाँ फेसन के आएको छ भनेर हेर्न जाने गरेको उनी सुनाउँछन्। ‘सिनेमामा गएर हिरोले कस्तो लुगा लगायो, नयाँ डिजाइन के कस्तो आयो भनेर हामी हेर्न जान्थ्यौं र त्यसको कपि गर्न पर्थ्यो। त्यो बेला ३२ इन्चको बेलबटम पाइन्ट खुब चल्तीमा थियो। जिन्सको पाइन्ट, ज्याकेट पनि निकै तयार पारेँ,’ उनले भने। 

बाबुकाजीको अनुभव अनुसार कोट-सुट सिलाउन निकै कम नै आउँथे। कोट भनेको त ठूलोबडाहरूले मात्रै लगाउँने गर्थे। प्राय: राजदरबारका र दरबार नजिककाले लगाउने गर्थे। पाइन्ट लगाउने पनि न्यून नै हुन्थे। धेरैजसोले दौरासुरुवाल नै लगाउने गर्थे। सुट लगाउनेहरु नेपालमा बढ्न थालेको करिब तीन दशक भएको बाबुकाजी सुनाउँछन्।

सन् २०३८ सालदेखि श्रेष्ठ टेलरिङ महिलाहरूको कपडा सिलाउन छोडेर मुख्यतः पुरुष लक्षित सर्ट, पाइन्ट, दाउरा सुरुवाल, सुटहरू बनाउन केन्द्रित भयो। २०४१ सालमा बाबुकाजीले श्रेष्ठ टेलरिङलाई उद्योग विभागअन्तर्गत दर्ता गरे। 

त्यो समयसम्म आइपुग्दा श्रेष्ठ टेलरिङले १५ जनालाई रोजगार दिइरहेको थियो। टेलरिङको व्यवसायिक सफलतामा दिन रात बढोत्तरी थियो।कोट विस्तारै चलन चल्तीमा आइरहेको थियो। बाबुकाजी कोट सिलाउनमा निकै पोख्त भइसकेका थिए। ‘हामीले छोटो समयमा नै अर्डरहरू पूरा गर्थ्यौं। श्रेष्ठ टेलरिङको कोट ठ्याक्कै शरीरमा मिल्छ, खोट लाउने कुनै ठाउँ नै हुँदैन भन्ने चर्चा फैलिँदै गयो। त्यसपछि त हामी कहाँ सुट सिलाउनेको घुइँचो नै लाग्न थाल्यो,’ उनले भने। 

विज्ञापन एजेन्सीको सल्लाह अनुसार उनले रेडियो नेपालमा श्रेष्ठ टेलरिङको जिंगल पनि बजाए। धन लामा र शम्भूजीत बाँस्कोटाको आवाजमा रहेको उक्त जिंगल अहिलेसम्म बज्ने गर्छ। यसले पनि श्रेष्ठ टेलरिङको ब्राण्डिङ गर्न ठूलो हात रहेको बाबुकाजी मनन गर्छन्।

बढ्दै गएको लोकप्रियता र मागलाई सम्बोधन गर्दै बाबुकाजीले २०५२ सालमा चाबहिल शाखा विस्तार गरे। निरन्तरको मिहिनेतले व्यवसायमा अपेक्षित सफलताको स्वाद चाखेका बाबुकाजीले आरोह-अवरोह विभिन्न प्रकारको अनुभव गरे। जनआन्दोलन तथा मजदुर आन्दोलनले व्यवसायलाई नकारात्मक असर पनि गरेको उनी बताउँछन्। 

यसअघि १०० भन्दा बढी कर्मचारी आबद्ध थिए। हाल श्रेष्ठ टेलरिङमा ५० भन्दा बढी हातहरूले लुगाहरु तयार परिरहेका छन्। मेसिनको संख्या पनि त्यति नै छ। श्रेष्ठ टेलरिङका शाखाहरू पनि त्रिपुरेश्वर, के एल टावर, मैतीदेवी, धुम्बाराही, चुच्चेपाटीलगायत ६ ठाउँमा विस्तार भइसकेको छ। बाबुकाजी भन्छन्, ‘मैले बनाएको कोट मध्यम वर्गीयदेखि सांसद, प्रधानमन्त्रीहरू समेत लगाएका छन्।’

श्रेष्ठ टेलरिङमा महँगोमा ५० हजार र सस्तोमा १२ हजार रुपैयाँसम्मको सुट सिलाइन्छ। ग्राहकले करिब ३०० कलर र ६० भन्दा बढी डिजाइनका भेराइटीबाट आफूलाई मन परेको कोट-पाइन्ट सिलाउन सक्ने बाबुकाजी सुनाउँछन्।

अथक प्रयास र संघर्षले नै आज बाबुकाजी सर्टिङ सुटिङको क्षेत्रमा श्रेष्ठ टेलरिङलाई नेपालको अग्रणी ब्राण्डका रूपमा स्थापित बनाउन सफल भएका छन्।  टेलरिङको क्षेत्रमा बाबुकाजीले उभ्याएको प्रतिष्ठान देशकै अग्रणी र जेठो व्यवसायिक संस्थाको रुपमा स्थापित छ। 


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell