इसेवाको सीइओमा जगदीश खड्का नियुक्त, बिजनेस अपरेसन म्यानेजमेन्ट, फाइनान्सियल प्लानिङमा अनुभवी

बिजमाण्डू
२०७९ असोज १२ गते १४:५० | Sep 28, 2022
इसेवाको सीइओमा जगदीश खड्का नियुक्त, बिजनेस अपरेसन म्यानेजमेन्ट, फाइनान्सियल प्लानिङमा अनुभवी

काठमाडौं। भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा प्रालिको प्रमुख कार्यकारी अधिकृतमा जगदीश खड्का नियुक्त भएका छन्। चाटर्ड एकाउन्टेन्ट खड्कालाई इसेवाको सञ्चालक समितिले सीइओमा नियुक्त गरेको हो।

Tata
GBIME
Nepal Life

अध्यक्ष परशुराम कुँवर क्षेत्रीले पद तथा गोपनीयताको सपथ गराएपछि खड्काले बुधबार नै आफ्नो कार्यभार सम्हालेको इसेवाले जनाएको छ।

बिजनेस अपरेसन म्यानेजमेन्ट, फाइनान्सियल प्लानिङ एन्ड म्यानेजमेन्ट, भेन्चर्स बिल्डिङमा खड्कासँग १२ वर्षभन्दा बढीको अनुभव छ। सीइओको जिम्मेवारीअघि उनी एफवान सफ्ट ग्रपअन्तर्गतको फोनपे पेमेन्ट सर्भिसमा निर्देशक थिए।

कार्यभार सम्हाल्दै उनले भने ‘डिजिटल भुक्तानीको क्षेत्रलाई अगाडि बढाउन इसेवाले नेतृत्वदायी भूमिका खेल्दै आएको छ। मैले इसेवाका सेवालाई अझ विस्तार गरि आम मानिसको दैनिक जीवन सहज बनाउनका लागि भूमिका खेल्नेछु र कम्पनीलाई अझ सशक्त बनाउँदै अगाडि बढ्नेछु।’

सञ्चालक समितिले निवर्तमान प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटालाई विशेष धन्यवाद दिएको थियो। उनी कम्पनीको बोर्ड सदस्यमा भने रहने छन्। उनले सीइओ पदबाट दिएको राजीनामा कम्पनी सञ्चालक समितिले स्वीकृत गरिसकेको छ।

इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाई जहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवाको सञ्जालमा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य छन्।

यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा बैंक खातामा पठाउन सकिन्छ। मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ६५ लाखभन्दा बढी छ।

यसैगरी अप्रत्यक्ष रूपमा करिब १ करोड ७० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन्। हाल इसेवाका देशभर करिब १ लाख ५० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) छन्।