शंकर समूहको जगदम्बा अटो र जगदम्बा फ्लोरले एकै वर्ष गरे ४.३८ अर्बको व्यापार, ३.२९ अर्ब ऋण लिँदै

उन्नत सापकोटा
२०७९ असोज १२ गते १९:३२ | Sep 28, 2022


काठमाडौं। शंकर समूहका दुईवटा कम्पनी जगदम्बा अटो ग्रुप र जगदम्बा फ्लोर तथा एग्रोले एकैवर्ष चार अर्ब ३८ करोड ३० लाख रुपैयाँको कारोबार (अपरिष्कृत) गरेका छन्। 

Tata
GBIME
Nepal Life

सन् २०२१/२२ मा जगदम्बा अटो ग्रुपले तीन अर्ब ४२ करोड ७० लाख रुपैयाँ र जगदम्बा फ्लोरले ९५ करोड ६० लाख रुपैयाँ व्यापार गरेको रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले जनाएको छ। 

जगदम्बा अटो ग्रुपले २०२१ मा भने जम्मा ७३ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो। जगदम्बा फ्लोरले भने २०२१ मा ९४ करोड ९० लाख रुपैयाँ र २०२० मा एक अर्ब २७ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो। 

जगदम्बा अटो ग्रुपले सवारीसाधन एसेम्बलिङ, त्यसको बिक्री, आफ्टर सेल्स सर्भिस र पार्टपुर्जा बिक्री गर्छ। जगदम्बा अटो ग्रुपले २०२१ बाट दुई पांग्रे र तीन पांग्रे सवारीसाधन एसेम्बलिङ सुरु गरेको थियो। 

कम्पनीले १०० देखि ३१० सीसीका मोटरसाइकल, ११० देखि १२५ सीसीका स्कुटर र तीन पांग्रे सवारीसाधन बिक्री गर्छ। कम्पनीले मोटरसाइकल, स्कुटर र तीन पांग्रे गरी १७ वटा मोडल बिक्री गर्छ। टिभिएस एनटर्कको व्यापारमा उल्लेख्य वृद्धि हुँदा कम्पनीको व्यापारमा उछाल आएको रेटिङ विवरणमा उल्लेख छ। 

जगदम्बा अटो ग्रुपको प्लान्ट बाराको सिमरामा छ। वीरगंज भन्सारबाट २४ किलोमिटर भित्र प्लान्ट रहेकाले सवारीसाधन एसेम्ब्ली प्लान्टलाई आवश्यक कच्चा पदार्थ भारतको बाटो हुँदै ल्याउन सहज हुनुका साथै ढुवानी खर्च घट्ने कम्पनीले जनाएको छ।

जगदम्बा अटो ग्रुपले टिभिएस ब्राण्डका दुई पांग्रे र तीन पांग्रे सवारीसाधन आफ्नो भगिनी संस्था जगदम्बा मोटर्स प्रालिबाट बिक्री गर्छ।  
त्यसैगरी, जगदम्बा समूहको अर्को कम्पनी जगदम्बा फ्लोरले विभिन्न प्रकारका पिठोको उत्पादन गर्छ। कम्पनीले मैदा, आँटा, चोकर जगदम्बा र शक्तिभोग ब्राण्डमा बिक्री गर्छ। कम्पनीले चामल र चिनीको पनि व्यापार गर्छ।

भैरहवामा उत्पादन युनिट रहेको कम्पनीसँग गहुँका प्रडक्ट उत्पादन गर्न वार्षिक ३८ हजार दुई सय टन जडित क्षमता छ। जगदम्बा अटो ग्रुपको व्यवस्थापन साहिल अग्रवालले गर्छन् भने जगदम्बा फ्लोर सुलभ अग्रवालले हेर्छन्। दुवै कम्पनीहरुले तीन अर्ब २९ करोड रुपैयाँ बैंकिङ कर्जाका लागि रेटिङ गराएको छ। 

जगदम्बा अटो ग्रुपले एक अर्ब ७५ करोड रुपैयाँ बैंकिङ कर्जाका लागि रेटिङ पाएको छ। दुई करोड ८८ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि कम्पनीले आइआरएन डबल बी प्लस र एक अर्ब ७२ करोड ११ लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि आइआरएन ए फोर प्लस रेटिङ पाएको छ। 

जगदम्बा फ्लोरले भने एक अर्ब ५४ करोड रुपैयाँ बैंकिङ कर्जाका लागि रेटिङ पाएको छ। २९ करोड ८४ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि आइआरएन डबल बी माइनस र एक अर्ब २४ करोड १६ लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि आइआरएन ए फोर रेटिङ पाएको छ।