भागबन्डाको अन्तिम टुंगो लगाउने गृहकार्यमा गठबन्धन: कति मिल्यो, कति बाँकी छ मिलाउन?

प्रकाश भण्डारी
२०७९ असोज १३ गते १२:२६ | Sep 29, 2022
भागबन्डाको अन्तिम टुंगो लगाउने गृहकार्यमा गठबन्धन: कति मिल्यो, कति बाँकी छ मिलाउन?


काठमाडौं। सत्ता गठबन्धनले अझै भागबन्डाको अन्तिम टुंगो लगाउन सकेको छैन। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि सिट बाँडफाँटको अन्तिम टुंगो लाग्न नसकेको हो।

Tata
GBIME
Nepal Life

मंगलबार र बुधबार दिनभरको गठबन्धनका शीर्ष नेताहरुको प्रयासपछि पनि १ सय ६५ निर्वाचन क्षेत्रकै टुंगो लागि नसकेकको गठबन्धन दलका नेताहरुले बताएका छन्। यद्यपि, केही क्षेत्रहरुमा भने सहमति भएको नेताहरुको भनाइ छ।

राष्ट्रिय जनमोर्चाका नेता तथा टिकट बाँडफाँट कार्यदलका सदस्य हिमलाल पुरिले अधिकांश क्षेत्रमा सहमति भएको बताए।

‘अधिकांश ठाउँमा सहमति भएको छ, तर पुरै ठाउँको टुंगोमा पुगेको होइन,’ उनले भने।

नेकपा (माओवादी केन्द्र)का महासचिव तथा कार्यदलका सदस्य देव गुरुङले पनि सबै ठाउँको भागबन्डा नमिलेको बताए।

‘सहमति सबै ठाउँमा भएको छैन। प्रयास जारी छ,’ गुरुङले भने।

प्रतिनिधिसभाको १ सय ६५ र प्रदेशसभाको ३ सय ३० सिटको बाँडफाँटका लागि अन्तिम गृहकार्य भइरहेको हो। पाँच दलीय गठबन्धनमा साउन २० गते यता भागबन्डाका बारेमा छलफल हुँदै आएको छ।

निर्वाचन आयोगले तोकेको असोज २३ गतेको मनोनयनको दिन नजिकिएपछि गठबन्धनका नेताहरु सिट बाँडफाँटको टुंगो लगाउन जुटेका हुन्। लगातारको छलफलपछि पनि सहमति जुट्न नसकेको जनता समाजवादी पार्टी, नेपालका प्रवक्ता मनिश कुमार सुमनले बताए।

‘यो अहिले आएको सूचीहरु अन्तिम होइन। यो छलफलकै क्रममा छ,’ उनले भने।

यसअघि गठबन्धन दलहरुले समानुपातिक तर्फको निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको बन्द सूचीबारे असन्तुष्टि उत्पन्न भएको छ। नेपाली कांग्रेसको बन्दसूचीलाई लिएर प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा पक्षविरुद्ध नेता शेखर कोइराला समूहले धर्ना शुरु गरेको छ।

आफ्नो गुटका नेतालाई बन्द सूचीमा नराखेको भन्दै कोइराला पक्षले निर्वाचन बहिष्कार गर्नेसम्मको चेतावनी दिइरहेको छ।

गठबन्धन दलमा कार्यदलस्तरमा सहमति नजुटेपछि शीर्ष नेताहरु नै पछिल्लो समय बाँडफाँटको गृहकार्यमा छन्। कुन दललााई कति संख्या दिने भन्नेबारेमै गठबन्धन लामो समय अल्झिएको थियो।

संख्यालाई लिएर नेकपा (एकीकृत समाजवादी), जसपा र माओवादी केन्द्रले चर्को असन्तुष्टि जनाइरहेका छन्। कांग्रेसकै पनि संस्थापन इतर पक्ष सय सिट भन्दा कममा मिल्न नसक्ने दाबी गरिरहेको थियो। हाल भने कांग्रेस ८५ सिटमा सहमत भएको बताइन्छ।

त्यस्तै, माओवादी केन्द्र ४४, एकीकृत समाजवादी १७, जसपा १५ र राष्ट्रिय जनमोर्चा २ सिटमा सहमत भएको कार्यदलका सदस्यले बताएका छन्। कार्यदलमा भएको सहमतिलाई शीर्ष नेताहरुले अन्तिम रुप दिने गृहकार्य भइरहेको छ। गुरुङले नेताहरुले छलफल गरे एक/दुई दिनमै टुंगो लाग्ने बताए।

उनले भने, ‘नेताहरु छलफलमा बसे भने एक/दुई दिनमै पनि टुंगो लाग्न सक्छ। दसैंपछि सम्म पनि छलफल लम्बिन सक्छ।’