दसैँ बिदामा कुनै पनि पेट्रोल पम्प बन्द नहुने, आयल निगमको १३ वटा डिपो पनि खुल्ला गरिने

बिजमाण्डू
२०७९ असोज १४ गते ०९:१७ | Sep 30, 2022

दसैँ बिदामा कुनै पनि पेट्रोल पम्प बन्द नहुने, आयल निगमको १३ वटा डिपो पनि खुल्ला गरिने

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल आयल निगमले दसैं बिदामा कुनै पनि पेट्रोल पम्पहरु बन्द नहुने जनाएको छ। पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दसैंको बिदामा १३ वटा डिपोहरू समेत खुला राख्ने निर्णय निगमले गरेको छ।

बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन सार्वजनिक बिदामा पनि डिपोहरू खुला राख्न निर्देशन दिइएको निगमले एक सूचना जारी गर्दै जानकारी दिएको छ।

दसैंमा सार्वजनिक बिदा हुने र सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पम्पहरू खुला राख्न निगमले यस्तो निर्देशन दिएको हो। निगमका निर्देशक वीरेन्द्र गोइतका अनुसार पेट्रोल पम्पहरु २४ घन्टा खुल्ला हुने र त्यसका लागि १३ वटा डिपोहरु विभिन्न बिदाको दिनमा खुल्ला हुनेछन्।

उनले प्रदेश १ को विराटनगर र मधेस प्रदेशको अमलेखगंजमा असोज १६, २९ र २१ गते डिपो खुला हुने बताए। यसैगरी वाग्मतीको थानकोट र गण्डकीको पोखरामा असोज १५, १६, १८ र २१ गते खुला हुनेछ। साथै लुम्बिनीको भैरहवामा असोज १५, १६, १७, २१ र २२ गते र कर्णली प्रदेशको सुर्खेतमा असोज १६ र २१ गते डिपोहरु खुला हुने गोइतले बताए।

यस्तै उनका अनुसार सुदुर पश्चिम प्रदेशको धनगढीमा असोज १६, १७ र २१ गते तथा शाखा कार्यालय चारआलीमा १६ र २१ गते डिपोहरु विदाको दिनमा खुला हुनेछ्न्। यसैगरी अन्य सहरहरुमा नेपालगंज, धनुषा, वीरगंज, दाङ र दिपायलमा पनि २१ गतेसम्म निगमको डिपोहरु खुला हुनेछन्।

गोइतका अनुसार सामान्य अवस्थाको तुलनामा दसैं, तिहारमा करिब ३० प्रतिशतले पेट्रोलियम पदार्थको खपत बढेको छ। उनका अनुसार हाल दैनिक रुपमा पेट्रोल ३५०० किलोलिटर र डिजल ५६०० किलोलिटर खपत भइरहेका छन्।