सवारी चाप व्यवस्थापन गर्न काभ्रेको प्रयास, अरनिको र बीपी राजमार्गमा आजदेखि टिपर चलाउन निषेध




काठमाडौं। दसैंमा सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लास्थित दुई राजमार्गमा आजदेखि टिपर सञ्चालन निषेध गरेको छ।



कार्यालयले अरनिको र विपी राजमार्गमा टिपर सञ्चालन निषेध गर्दै अन्य सवारीसाधनका लागि टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो।

यातायात सेवा समितिका पदाधिकारीसँगको छलफलमा दुई राजमार्गमा आजदेखि असोज २४ गतेसम्म टिपर सञ्चालन गर्न नपाउने तथा सार्वजनिक सवारी साधनका लागि टाइम कार्ड लागू गरी सञ्चालन गर्नुपर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिए। उनका अनुसार काठमाडौंबाट दसैं मनाउन काभ्रेपलाञ्चोकको रुट भएर मध्यपूर्व हुँदै पूर्वी जिल्ला जाने आउने यात्रुहरूको चापलाई व्यवस्थापन गर्न उक्त निर्णय गरिएको हो।

दुई राजमार्गमा दैनिक २ हजार ५ सय टिपरले निर्माण सामग्री ढुवानी गर्दै आएका छन्। 'अन्य सार्वजनिक सवारीमा दुर्घटना न्यूनीकरणका टाइम कार्ड लागू गरेका हौं,' पाण्डेले भने।

कार्यालयका अनुसार टाइम कार्ड लागु गरिएका रुटमा विपी राजमार्गअन्तर्गत मंगलटार-भकुण्डे १८ किमि दूरीका लागि ४० मिनेट, भकुण्डेबेँसी-काभ्रेभञ्ज्याङ १३ किमि दुरीका लागि ३५ मिनेट, काभ्रेभन्ज्याङ-भकुण्डेबेँसीका लागि ३५ मिनेट तथा अरनिको राजमार्गको धुलिखेल-पाँचखाल १५ किमिका लागि ३० मिनेट, पाँचखाल-दोलालघाटका लागि १० किमि दुरीमा २० मिनेट समय निर्धारण गरिएको छ।

अरनिको राजमार्गभन्दा बीपी राजमार्गमा फूलपाती, अष्टमी र नवमीका दिन धेरै सवारीको चाप हुने गरेको छ। यसपालि दुवै राजमार्गमा सवारी चाप बढ्ने सम्भावनालाई मध्यनजर गर्दै प्रशासन र यातायात व्यवसायीले सहजरूपमा यात्रुलाई आउने-जाने वातावरण मिलाउन तथा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले बिहीबार छलफल गरेका हुन्।

छलफलमा सार्वजनिक यातायातको भाडादर, यात्रुसिट क्षमताका आधारमा अनलाइन टिकेटिङ र कोभिड-१९ को मापदण्ड पालना गराउन सचेत गराउनेसमेत निर्णय भएको जनाइएको छ। यस्तै सार्वजनिक यातायातमा मास्क लगाएका यात्रुलाई मात्र चढाउने, सवारी साधनमा सेनिटाइजर अनिवार्य राख्ने, यात्रुलाई सकेसम्म सामाजिक दुरी कायम गर्न सुरुमै जानकारी गराउने, सवारी साधनको जाँच गरेर मात्रै चलाउने तथा त्यसको नियमित अनुगमन प्रहरी र ट्राफिक प्रहरीले गर्ने निर्णय भएको छ।

सार्वजनिक सवारीले यात्रुलाई भाडामा अनियमितता गरेमा वा अन्य केही समस्या भएमा जिल्लाको नौ स्थानमा स्थापित यात्रु सहायता कक्ष र प्रहरीको हटलाइन नम्बरमा जानकारी गराउन सक्ने व्यवस्था मिलाइएको छ। रासस


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell