बाढीले पक्की पुल बगाएको मेलम्ची र इन्द्रावतीमा अस्थायी पुल बनाइयो, दसैंमा यातायात सहज

बिजमाण्डू
२०७९ असोज १४ गते ११:४८ | Sep 30, 2022

काठमाडौं। गत वर्षको बाढीले पक्की पुल बगाएको मेलम्ची र इन्द्रावतीको दुई स्थानमा अस्थायी पुल हालिएको छ। २०७८ असारमा मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले सातवटा पक्की र ११ वटा झोलुंगे पुल बगाएको थियो।

Tata
GBIME
Nepal Life

अहिले नगरपालिकाले मेलम्ची र इन्द्रावती नदीमा ह्युमपाइप राखेपछि दसैंमा यातायात सहज भएको छ। नगरपालिकाले गएराति इन्द्रावती नदीमा ह्युमपाइप राख्ने काम सम्पन्न गरेको छ।

बिहानैदेखि यहाँ यातायातका साधन सञ्चालनमा आएका छन्। नगरपालिकाले वडा नं ११ फट्टे मेलम्ची नदीमा एक हप्ताअघि नै ह्युमपाइप राखेर यातायात सञ्चालन भइसकेको इञ्जिनियर राजु दंगालले जानकारी दिए।

दुवाचौरका व्यापारी जितु भारतीले अब सहजै सामान मेलम्चीबाट ल्याएर बेच्न सकिने भन्दै खुसी व्यक्त गरे। त्यस्तै सामान ढुवानीको गाडी  चलाउने हुने रमेश श्रेष्ठले अब काम हुने भएकाले किस्ता तिर्न सहज हुने विश्वास व्यक्त गरेका छन्। यसअघि बाढी आएपछि ह्युमपाइप निकालिएको थियो। चाडपर्व नजिकिएसँगै यातायातका साधन सहज आवातजावातका लागि ह्युमपाइप राखिएको नगरप्रमुख आइतमान तामाङले बताए।

ह्युमपाइप राखेपछि मेलम्ची, पाँचपोखरी थाङपाल, इन्द्रावती र हेलम्बु गाउँपालिकाका बासिन्दाको यात्रा सहज भएको छ। मेलम्ची बजार आउनका लागि पहिले इन्द्रावती पुल र फट्टेको पुल हुँदै झण्डै १५ मिनेटमा पुग्नेमा घण्टौं लाग्ने गर्दा सास्ती थियो।

अस्थायी पुल राखेपछि मेलम्ची बजारमा व्यापार बढ्ने व्यवसायी एवं उद्योग वाणिज्य संघ मेलम्चीका अध्यक्ष पुष्कर धितालले बताए। हेलम्बु, मेलम्ची र पाँचपोखरीको गरी ५ सय ५१ घर बाढीले बगाएको थियो भने ५ हजार ४ सय रोपनी खेतीयोग्य जमिन बगर बनेको थियो। बाढीबाट २६ जनाको मृत्यु भएको थियो। (रासस)