बजारमा चाँदीको अभाव, आयात कोटाले नपुग्दा भारतबाट तस्करी भएर आउन थाल्यो 

सरला सुवेदी
२०७९ असोज १५ गते १०:२४ | Oct 1, 2022
बजारमा चाँदीको अभाव, आयात कोटाले नपुग्दा भारतबाट तस्करी भएर आउन थाल्यो 

काठमाडौं। सिजन सुरु भएपछि बजारमा चाँदीको अभाव हुन थालेको छ। गत वर्ष सरकारले चाँदी आयात मागभन्दा बढी भएको र भारतमा अवैधरूपमा निर्यातसमेत भएको भन्दै कोटा तोकेको थियो। 

Tata
GBIME
Nepal Life

नेपालभन्दा भारतमा चाँदी महँगो भएपछि तस्करी भएका घटना पनि बाहिर आएका थिए। सरकारले आयातमा कडाइ गरेपछि अहिले उल्टो भएको छ। मागका अनुपातमा नेपाली बजारमा चाँदी छैन। आयातमा कोटा प्रणालीको नियन्त्रण छ। त्यसैले भारतबाट तस्करी भएर भित्रिन थालेको छ।

त्यसैले यतिबेला बजारमा चाँदी अभाव भएको व्यवसायीहरुले बताएका छन्। हाल एकजना चाँदी व्यवसायीले एक पटकमा ३५ हजार डलर बराबरको चाँदी आयात गर्न पाउछन्। उक्त रकममा करिब ४० केजी चाँदी आयात हुन्छ। यस अघि जोसुकै व्यवसायीले चाँदी आयात गर्ने पाउने व्यवस्था थियो।

चाँदीको कारोबार मुख्यतः तिहारमा हुन्छ। यतिबेला करिब २ हजार केजीभन्दा बढी चाँदी आवश्यक पर्छ। यस समयमा उपभोक्ताले सुन, चाँदीका गहना, मूर्ति र भाँडाबर्तनहरु खरिद गर्ने गर्छन्। अन्य समयभन्दा यो बेला बजारमा चाँदीको खपत बढी हुने भएकाले आयात पनि धेरै हुने गरेको थियो। यसका लागि सुनचाँदी व्यवसायीहरुले अफसिजनमा कच्चा चाँदी खरिद गरेर स्टक गर्दै आएका थिए।

सरकारले कोटा तोकिदिएपछि थोरै व्यवसायीले मात्र चाँदी आयात गरिरहेका छन्। बजारको माग अनुसार आपूर्ति नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

सरकारले आयातको कार्यनीति परिमार्जन नगरेसम्म बजारमा चाँदीको अभाव नहट्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए। 'चाँदी आयात गर्ने नीति परिमार्जन गरेपछि भारतबाट चाँदी तस्करी भएर आउदैन। यसका लागि सुनचाँदी व्यवसायी महासंघको निर्णयमा बजारको माग अनुसारको आयात गर्ने व्यवस्था गर्नुपर्छ,' उनले भने। 

बैंकले पहिला बजारको मागभन्दा धेरै चाँदी आयात गर्दा भारततर्फ तस्करी बढेको थियो। अहिले माग अनुसारको परिमानमा आयात नहुँदा बजारमा अभाव देखिएको व्यवसायीको भनाइ छ। 

महासंघका अनुसार अहिले नेपालको भन्दा भारतमा चाँदी सस्तो छ। त्यसैले अवैध ओसारपसार बढेको हो। 

हाल बजारमा पर्याप्त चाँदी नहुँदा व्यवसायीहरुलाई ठूलो मर्का परेको रेडियन्स सिल्भर हाउसका सञ्चालक सुसन शाक्यले बताए। 'चाँदी मागअनुसारको सप्लाइ छैन। सरकारले आयात कोटा घटाएपछि बजारमा अभाव भएको हो,' उनले भने। 

सुन जस्तो चाँदीको आयात सहज छैन। जुनसुकै बैंकले चाँदी ल्याउन नमान्ने शाक्यले बताए। एक जनाले ४० केजी चाँदी आयात गरेर अरु साना व्यवसायीहरुलाई बाँड्न सक्दैनन्।

उनका अनुसार हाल बजारमा दैनिक ५ सय केजी चाँदीको माग छ। 'आफ्ना लागि आयात गरेर बजारमा अभाव भयो अरूलाई पनि बाँडौे भन्नेहरु कम छन्,' उनले भने, 'यसले गर्दा एक जनाले एक सय केजीसम्म चाँदी आयात गर्‍यो भने मात्र अरु व्यवसायीलाई बाँड्न सक्छ।'

दुई महिनामा चाँदी आयात ४१ सय ४५ केजी  

चालु आर्थिक वर्षमा चाँदीको आयात निकै कम छ। पछिल्लो दुई महिनामा  नेपालमा ४ हजार १ सय ४५ केजी  चाँदी आयात भएको भन्सार विभागले जनाएको छ। गत वर्ष सोही अवधिमा ६९ हजार १ सय ५२ केजी चाँदी आयात भएको थियो।