ललितपुरकी २० वर्षीय जयाले हुर्काएको ट्विंकल्स: कोभिड महामारीमा बेखर्चीको साथ

बिजमाण्डू
२०७९ असोज १८ गते १२:५७ | Oct 4, 2022
ललितपुरकी २० वर्षीय जयाले हुर्काएको ट्विंकल्स: कोभिड महामारीमा बेखर्चीको साथ

काठमाडौं। पछिल्लो पुस्तामा एउटा प्यासन छ, 'कम्पनी खोल्ने र पैसा कमाउने।' यही पछिल्लो पुस्तामा पर्छिन् ललितपुरकी जया राजभण्डारी। तर अहिलेको पुस्ताको भन्दा फरक हुटहुटी जयामा छ।

Tata
GBIME
Nepal Life

२० वर्षीय जया अमेरिकाको ग्यानन विश्वविद्यालयमा विजनेज आन्टरप्रेनरसिपमा स्नातक गर्दै छिन् भने सँगै व्यवसाय पनि। उनले ट्विंकल्स भन्ने कम्पनी खोलेकी छिन्। 

ट्विंकल्सले मुख्यत: रेशमको कपडाको स्क्रन्चिज (कपाल बान्ने), मास्क, सिरानीको खोल, नाइट सुट, सर्ट, रोबस, आइ मास्क लगायतका सामान उत्पादन गर्छ। यी सामान बनाउने सबै महिला छन्। सीप भएका तर अवसर नपाएका महिलाहरुलाई उनले आफ्नो कम्पनीमा आवद्ध गरेकी छिन्।

कोभिड महामारीको समयमा लकडाउनका कारण धेरैलाई दैनिक जीवनयापन गर्न कठिन भयो। जयाको घरमा पनि दुई जना महिला सहयोगी थिए। संक्रमण फैलिने डरले उनीहरु काममा आउन पाएनन्।

ती दुई महिला सहयोगीलाई जयाको परिवारले तलब दिइरह्यो। काम नगरि तलब लिइरहन ती महिलाहरुले मानेनन्। त्यसपछि जयाले ती महिलालाई घरमै बसेर गर्ने कामका बारेमा परामर्श गरे।

ती महिलाले सिलाईकटाई जानेको जानकारी दिएपछि जया र उनको आमाले कम्पनी खोल्ने निधो गरे। उनीहरुले सिलाईको काम गर्नसक्ने महिलालाई लक्षित गर्दै ट्विंकल्स नाम राखेर कम्पनी खोले। ‘दिदीहरूको सीपको सदुपयोग गर्दै मैले उहाँहरूलाई रेशमको कपडाको स्क्रन्ची बनाउन लगाए,' जयाले कम्पनीको सुरुवाती दिन संम्झदै भनिन्।

उनले उत्पादन भएको सामाग्री सामाजिक संजाल प्रयोग गर्दै बजारीकरण गर्ने तयारी थालिन्। जयाले सन् २०२० जुलाईमा ट्विंकल नाम राखेर एउटा इन्स्टाग्राम पेज खोलिन्।  त्यहाँ जयाले ती महिलाहरूले बनाएका रेशमको स्क्रन्चीहरूको फोटोहरू सँगै विहाइन्ड द सिन वाला स्टोरीहरू पनि पोस्ट गर्न थालिन्।

जयाले स्क्रन्ची कसले बनाएको, किन बनाएको, कस्तो अवस्थामा बनाएको र यसले उनीहरूको जीवनमा कतिसम्म प्रभाव पर्न सक्छ भन्ने सबै कथाहरू खुलाइन्। उनले ट्विंकल्सको इन्स्टाग्राम अकाउन्टबाट रेशमको कपडाको स्वास्थ्य फाइदा पनि उल्लेख गरेर पोस्टहरू गरिन्। 

जयाले सुरुवातमा प्रति स्क्रन्चीको आधारमा ती दुई महिलाहरूलाई पैसा भुक्तानी गर्ने गर्थिन्। ‘यसो गर्दा दिदीहरूले धेरै भन्दा धेरै स्क्रन्चीहरू बनाएर दिन थाल्नु भयो। त्यसलाई कसरी बेच्छु भन्ने मलाई केहि आइडिया थिएन।’

उनले इन्स्टाग्राम अकाउन्ट गरेका ती पोस्ट लोकप्रिय बने। र, अर्डरको ओइरो आउन थाल्यो। यही व्यवसाय दक्ष तर महामारीबाट बेखर्ची भएका लागि बरदान सावित भयो। बढ्दो सेल त अडरसँगै दुई जनाले बनाएको सामानहरूले माग धान्न सकेन। जया र उनको आमा मिलेर अझै धेरै मान्छेहरू खोज्न थाले। 

जया सुनाउँछिन्, ‘हामी बाटो बाटो डुलेर सिलाई जानेको तर महामारीको मारमा परेका मान्छेहरू खोज्दै हिड्यौं। कहिले कलंकी, कहिले डल्लु, कहिले हात्तीवन तिर खोज्यौं। एक हप्ता त यसरी नै बित्यो।’ सामाजिक संजालमार्फत पनि महिलाहरु आवद्ध हुन थाले। त्यसपछि ट्विंकल्सले आफ्नो प्रोडक्ट रिबन र स्क्रन्चीमा मात्रै सीमित गरेन, नाइट सुट तथा सिरानीको खोल पनि बनाउन थाले।

व्यवसाय विस्तार गर्न जया र उनको आमा मिलेर एक लाख रुपैयाँ लगानी गरे। यो लगानीबाट उनीहरूले इन्भेन्ट्री,६ वटा सिलाइ मेसिन, कपडा किन्न र कर्मचारीहरूलाई तलब तिर्नमा उपयोग गरे। हाल  ट्विंकल्समा १२ बढी कर्मचारीहरू आवद्ध छन्। 

ट्विंकल्सको लागि जया अहिले सोसियल मिडिया ह्यान्डलरको रुपमा काम गर्छिन् भने उनकी आमा  ट्विंकल्सको बाँकी सबै व्यवसायिक पक्षहरू हेर्छिन्। यो बाहेक आमाछोरीले ट्विंकल्स ट्रीट्स पनि संचालन गर्दै छन्। 

 ट्विंकल्स ट्रीट्स मार्फत जयाकी आमा, जो पाककलामा नै रुचि राख्छिन्, विभिन्न परिकारका रेसिपीहरू सेयर गर्ने तथा अचार र मिठाईहरू बेच्दै आएकी छिन्।

 ट्विंकल्समा जया र उनको आमा मात्रै आवद्ध छैनन्। यो तीन पुस्ता हजुरआमा, छोरी र नातिनीले चलाएको व्यवसाय हो। प्याकेजिङका लागि जयाकी ८४ वर्षीया हजुरआमाले पत्रपत्रिका तथा रिसाइकल पेपरहरूबाट झोलाहरू बनाउँछिन्।

 उनले सुकेको प्राकृतिक फूलहरू गरेर धूप तथा र ऊनको फोनका केसहरू पनि बनाउँछिन्। अहिले ट्विंकल्सले रेशमका विभिन्न सामानहरू बाहेक कफी स्क्रब, जेड रोलर लगायतका सामानहरू पनि बिक्रीवितरण गर्दै आएको छ। रेशमको सामानहरू दायरा पनि फराकिलो बनाएर नयाँ नयाँ सामानहरू लन्च गरिरहेको छ।

ट्विंकल्स स्थापना हुँदा ५० रुपैयाँ रहेको सिल्क स्क्रन्चीको मूल्य हाल ८५ रुपैयाँ छ। त्यस्तै अन्य उत्पादनको मूल्य १ सय २० देखि  २ हजार ५ सय सम्म रहेको छ। ट्विंकल्सको सामानहरू काठमाडौँ लगायत पोखरा, बुटवल जस्ता सहरहरूमा पनि पुगिसकेको जया बताउँछिन्। त्यस्तै ट्विंकल्स अमेरिका तथा लण्डनसम्म पनि पुगिसकेको उनको दाबी छ।

जया र उनको आमा ट्विंकल्सलाई  हुर्काउँदै धेरै भन्दा धेरै मानिसहरूलाई सहयोग पुर्‍याउने आशामा छन्। जया आफनो भावी योजना सुनाउँछिन्, 'हामी अहिले ट्विंकल्सको वेबसाइट विकास गर्दैछौं। ट्विंकल्सलाई अन्तर्राष्ट्रिय रुपमा विस्तार गर्न अष्ट्रेलिया तथा अमेरिकाका रिटेलरहरूसँग पनि हामी कुराकानी गरिरहेका छौं।'

यो बाहेक ट्विंकल्सले छिट्टै थ्रिफ्टी थ्रस्डे कार्यक्रम ल्याउँदैछ, जसमा पहिला नै प्रयोग भएको पोशाकहरू किनबेच हुनेछ।