लुक्लातर्फका उडान चार दिनदेखि ठप्प, रामेछाप-फाप्लुमा धमाधम उडान गर्दै वायुसेवा

बिजमाण्डू
२०७९ असोज २५ गते १३:०४ | Oct 11, 2022
लुक्लातर्फका उडान चार दिनदेखि ठप्प, रामेछाप-फाप्लुमा धमाधम उडान गर्दै वायुसेवा

काठमाडौं। मौसमी प्रतिकूलताका कारण रामेछाप-लुक्ला उडान ठप्प भएपछि यतिखेर वायुसेवा र हेलिकोप्टर कम्पनीहरुले फाप्लु उडान सुरु गरेका छन्।

Tata
GBIME
Nepal Life

यो पर्यटकीय सिजन हो। लुक्ला उडानका लागि थुप्रैजना विदेशी र आन्तरिक पर्यटक रामेछापमा पुग्दा भीड थियो। लुक्ला उडान हुन नसकेपछि विकल्पका रूपमा धमाधम फाप्लु र सुर्के उडान भइरहेको तेन्जिङ हिलारी विमानस्थल प्रमुख द्वारिका अछामीले बताए। 

'लुक्ला उडानका लागि फिक्स विङका लागि उडान खुल्ने मौसम छैन। हेलकोप्टरलाई पनि गाह्रै छ। फिक्स विङले रामेछाप-फाप्लु उडान गरिरहेका छन्। हेलिकोप्टरले भने रामछाप-सुर्के उडान गरिरहेका छन्। विस्तारै यात्रुलाई खुम्बु क्षेत्र ल्याइरहिएको छ,' विमानस्थल प्रमुख अछामीले भने।

उनका अनुसार सोमबार सीता, समीट र ताराले रामेछाप-फाप्लुतर्फ १५ वटा उडान गरेका छन् भने विभिन्न कम्पनीका हेलिकोप्टरले रामेछाप-सुर्केतर्फ दुई दर्जन उडान भएको छ। बिहीबारबाट रामेछाप-लुक्ला उडानका लागि मौसम अनुकूल रहने मौसम पुर्वानुमान माहाशाखाले जनाएको छ।

यतिखेर रामेछापमा अलपत्र परेका करिब ७० प्रतिशत यात्रु फाप्लु-खहरे हुँदै लुक्ला जान सुरु गरिसकेको फाप्लु विमानस्थल प्रमुख भानुभक्त आचार्यले बताए। दुई दिनयता यात्रुले हेलिकोप्टर, फिक्सविङ र गाडीमार्फत लुक्ला हिँड्न सुरु गरिसकेको जानकारी दिँदै उनले भने,'आज पनि फिक्स विङ र हेलिमार्फत यात्रुलाई ल्याउने क्रम जारी छ। यहाँ आइपुगेका यात्रुलाई पुनः हेलिकोप्टरमार्फत सुर्के लगिने कार्य जारी छ। '

यात्रु माग पूर्तिका लागि तारा एयरले भने काठमाडौं-फाप्लु सिधा उडानको योजना बनाएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।